Samriddhipost
२०८३ कार्तिक २३ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ कार्तिक २३ गते आइतबार

सुदूरपश्चिम प्रदेशमा रोजगारीका अवसर पर्याप्त विस्तार हुन नसक्दा बेरोजगारी र वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले प्रदेशको रोजगारी अवस्था कमजोर रहेको देखाएको छ ।

 

प्रतिवेदनअनुसार सुदूरपश्चिममा प्रतिव्यक्ति रोजगारी दर २४.१ प्रतिशत मात्रै छ । यो मुलुकका सातै प्रदेशमध्ये सबैभन्दा कम हो । नेपाल श्रमशक्ति सर्वेक्षण २०७५/७६ को तथ्यांकका आधारमा प्रदेशको बेरोजगारी दर ११.५ प्रतिशत रहेको छ, जुन राष्ट्रिय औसतभन्दा ०.१ प्रतिशत बिन्दुले बढी हो ।

प्रदेशगत रूपमा हेर्दा मधेशमा सबैभन्दा बढी २०.१ प्रतिशत बेरोजगारी छ भने बागमतीमा सबैभन्दा कम ७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशभित्र रोजगारीका पर्याप्त अवसर नहुँदा वैदेशिक रोजगारी युवाहरूको प्रमुख विकल्प बन्दै गएको छ । आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिमबाट ६२ हजार ७३६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ५६ हजार ९६१ पुरुष र पाँच हजार ७७५ महिला छन् । यो देशभरबाट श्रम स्वीकृति लिने कुल जनसंख्याको ५.२३ प्रतिशत हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने सुदूरपश्चिमवासीको संख्या ५३.७९ प्रतिशतले वृद्धि भएको छ । यसले प्रदेशमा आन्तरिक रोजगारी र स्वरोजगारीका अवसर विस्तार हुन नसकेको अवस्थालाई उजागर गरेको छ ।

 

सरकारले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको उपलब्धि पनि अपेक्षाकृत प्रभावकारी देखिएको छैन । आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म प्रदेशका ८७ स्थानीय तहले संघीय प्रणालीमा एक हजार ४४६ आयोजना प्रविष्ट गरेका थिए । ती आयोजनामार्फत सात हजार जनाले रोजगारी पाए पनि उनीहरूले औसतमा ७८.५ दिन मात्रै काम पाएको प्रतिवेदनमा उल्लेख छ ।

यता, सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषमार्फत सञ्चालित सीपमूलक तथा व्यावसायिक तालिमबाट पनि सीमित संख्यामा नागरिक लाभान्वित भएका छन् । २०८२ चैत मसान्तसम्म सञ्चालन गरिएका चारवटा तालिममा ६८४ जनाको सहभागिता रहेको थियो । तालिम लिनेमा ३७३ महिला र ३११ पुरुष छन् ।

प्रतिवेदनले रोजगारी सिर्जनाका चुनौतीसँगै प्रदेशमा उपलब्ध सम्भावनालाई उपयोग गर्न सके रोजगारीका नयाँ अवसर विस्तार गर्न सकिने औँल्याएको छ । विशेषगरी पूर्वाधार निर्माण र औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति प्रदेशभित्रै उत्पादन गर्नु तथा वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउनु प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

सुदूरपश्चिममा जलविद्युत् उत्पादनको ठूलो सम्भावना रहेकाले ऊर्जा क्षेत्रमा लगानी आकर्षित गर्न सके रोजगारीका अवसर सिर्जना गर्न सकिने प्रतिवेदनको निष्कर्ष छ । साथै, वैदेशिक रोजगारीबाट फर्किएका युवाले विदेशमा आर्जन गरेको सीप, अनुभव र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीति तथा कार्यक्रम आवश्यक रहेको जनाइएको छ ।

त्यसैगरी प्रदेशका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके पर्यटन क्षेत्रबाट पनि रोजगारी विस्तार गर्न सकिने सम्भावना छ । पर्यटन व्यवसायको विकाससँगै पर्यटक पथप्रदर्शक, होटल, रेस्टुरेन्टलगायत सेवा क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

नवीन सोच भएका युवा तथा लघु उद्यमीलाई लक्षित गरी सीप विकास तालिम, सहुलियतपूर्ण लगानी र उद्यम प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सके स्वरोजगारी विस्तारमा सहयोग पुग्ने राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>