आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको महत्त्वपूर्ण खेलमा नेपालले घरेलु टोली ओमानलाई ३८ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
ओपनर कुशल भुर्तेलको सानदार अर्धशतकपछि बलरहरूको सामूहिक उत्कृष्ट प्रदर्शनमा नेपालले प्रतियोगितामा लगातार चौथो जित निकाल्दै सुपर सिक्सको शीर्ष स्थानमा आफ्नो पकड बनाएको छ।
नेपालले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। नेपाली बलरहरूको कसिलो र अनुशासित बलिङसामु ओमानका ब्याट्सम्यानहरू सुरुदेखि नै दबाबमा देखिए।
ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाए भने मोहम्मद नदीमले २५ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्, जसका कारण ओमान लक्ष्यभन्दा निकै टाढा रह्यो।
नेपालको बलिङमा गुल्सन झाले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३१ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। त्यस्तै, सोमपाल कामी र नन्दन यादवले पनि किफायती बलिङ गर्दै समान २-२ विकेट लिए। सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो।
यसअघि, मस्कटस्थित अल अमेरत क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ओपनर कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकीय पारीका बाबजुद निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो।
नेपालले उत्कृष्ट सुरुवात गरेको थियो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए। तर, आसिफ शेख २० बलमा २४ रन बनाएर आउट भएसँगै नेपालको विकेट पतन सुरु भयो।
त्यसपछि नेपालले लगातार विकेट गुमायो। कप्तान रोहित पौडेल (१), दीपेन्द्रसिंह ऐरी (२) र कुशल मल्ल (७) सस्तैमा पभेलियन फर्किएपछि नेपाल ८१ रनमा ४ विकेटको कमजोर स्थितिमा पुग्यो।
एक छेउबाट कुशल भुर्तेलले नेपालको इनिङ्स सम्हालेका थिए। उनले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनको महत्त्वपूर्ण योगदान दिए। अन्त्यमा गुलशन झाले १० बलमा १८ रन बनाउँदै नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याए।
ओमानका लागि नदीम खानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिए।
यो जितसँगै नेपालले ४ खेलमा ४ जितसहित ८ अङ्क जोड्दै सुपर सिक्सको शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ।
ओमान ४ खेलमा ३ जितसहित ६ अङ्कका साथ दोस्रो स्थानमा छ। यो जित अगावै नेपाल आगामी वर्ष हुने टी-२० विश्वकपमा भने छनोट भइसकेको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया