जाजरकोटका २९ वर्षीय प्रेम बुढा मगरको जीवनयात्रा संघर्ष र सफलताको प्रेरणादायी उदाहरण बनेको छ। १५ वर्षको उमेरमै घर छाडेर बसको सहचालकका रूपमा काम सुरु गरेका उनी अहिले नेपाल सरकारको शाखा अधिकृत बन्न सफल भएका छन्। सामान्य पारिवारिक पृष्ठभूमि, अभाव र अनेकौँ चुनौतीबीच निरन्तर मेहनत गरेका उनले आफ्नो सपना पूरा गरेका हुन्।
नलगाड नगरपालिका–३ का प्रेमले किशोरावस्थामै बसमा सहचालकको काम गर्न थालेका थिए। त्यसबेला उनलाई अगाडिबाट ‘कान्छो’ र पछाडिबाट ‘खलासी’ भनेर बोलाउने गरिन्थ्यो। करिब साढे ६ वर्ष सहचालकको काम गरेपछि उनी चालक बने। तर चालक बनेपछि पनि समाजको हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आएन। अगाडिबाट ‘गुरुजी’ भन्नेहरू पछाडिबाट ‘ड्राइभर’ भनेर होच्याउने गरेको उनको अनुभव छ।
तर अरूको टिप्पणी र अपमानले उनले आफ्नो लक्ष्य बदल्न दिएनन्। गाडी चलाउने कामसँगै पढाइलाई पनि निरन्तरता दिएका प्रेमले लोकसेवा आयोगको तयारी सुरु गरे। निरन्तर प्रयासपछि २०७९ सालमा नायब सुब्बा पदमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरे। त्यसपछि पनि अध्ययन र तयारीलाई निरन्तरता दिँदै उनी शाखा अधिकृत पदमा नाम निकाल्न सफल भएका हुन्।
प्रेमको सफलतामा व्यक्तिगत मेहनतसँगै पारिवारिक त्याग र सहयोग पनि जोडिएको छ। विशेषगरी लोकसेवाको परीक्षाका बेला उनकी श्रीमती एक महिनाकी सुत्केरी थिइन्। नवजात शिशुको हेरचाह र आफ्नै स्वास्थ्य अवस्थाका चुनौतीबीच पनि उनले श्रीमान्को सपना पूरा गर्न निरन्तर साथ र हौसला दिइरहिन्। प्रेमले आफ्नो सफलताको श्रेय जीवनसाथी, आमा, स्वर्गीय बुबा र परिवारको साथ तथा आशीर्वादलाई दिएका छन्।
प्रेमको बाल्यकाल पनि सहज थिएन। सानै उमेरमा तत्कालीन शाही सेनाबाट उनका बुबाको हत्या भएपछि परिवार विखण्डित भयो। बुबा गुमाएका उनी र उनकी बहिनी टुहुरा बने। पछि आमाले पनि बाध्यतावश दोस्रो विवाह गरेपछि प्रेम ठूलोबुबाको घरमा आश्रय लिएर बसेका थिए। त्यही क्रममा उनले श्री सूर्योदय माध्यमिक विद्यालय, कैनामा कक्षा ४ मा भर्ना भएर पढाइ अघि बढाएका थिए।
विद्यालयमा अध्ययन गर्दा उनी प्राविधिक तथा सिर्जनात्मक काममा बढी रुचि राख्थे। बाँस र काठबाट विभिन्न प्रकारका बत्ती बनाउने तथा अन्य सामग्री तयार गर्ने उनको रुचि थियो। त्यतिबेला उनलाई पढाउने एक शिक्षकसँग एउटै घरमा बस्ने अवसरसमेत मिलेको थियो। ती शिक्षकले प्रेमको सफलताप्रति खुसी व्यक्त गर्दै उनको संघर्षलाई प्रेरणादायी बताएका छन्।
सहचालक हुँदै चालक, त्यसपछि नायब सुब्बा र अहिले शाखा अधिकृतसम्मको यात्रा तय गरेका प्रेमले आफ्नो सफलतालाई परिवारको सपना र जीवनसाथीको त्यागसँग जोडेर हेरेका छन्। उनले आगामी दिनमा इमानदारी, निष्ठा र समर्पणका साथ सरकारी जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रेमको यात्राले मानिसको सुरुवातभन्दा पनि लक्ष्यप्रतिको दृढता, निरन्तर मेहनत र संघर्ष महत्त्वपूर्ण हुने सन्देश दिएको छ। कुनै समय बसमा यात्रु बोलाउने र गाडी चलाउने काम गरेका उनी आज सरकारी प्रशासनको अधिकृत तहमा पुगेका छन्। उनको सफलताले प्रतिकूल परिस्थितिमा पनि सपना देख्न र त्यसका लागि निरन्तर प्रयास गर्न सके गन्तव्यमा पुग्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया