३४ दिन सम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार
रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका भीमदत्त नगरपालिका–१०, तिल्केनीका ३२ वर्षीय प्रेम प्रसाद जोशीको ३४ दिनपछि हिन्दू परम्परा अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ।
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा इलेक्ट्रिसियनका रूपमा कार्यरत भीमदत्त-१० कञ्चनपुरका ३२ वर्षीय प्रेम प्रसाद जोशी बाढीका क्रममा बेपत्ता भएका थिए। लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले अन्ततः मन भारी पार्दै कुशको शव बनाएर सोमबार अन्तिम संस्कार गरेको हो। ३४ दिनसम्म परिवारले जोशी फर्किने आशा मारेको थिएन। हरेक दिन आउने खबरले कि त सास कि त लास बारे केही जानकारी मिल्ने आशा जगाउँथ्यो। तर, समय बित्दै गयो, प्रतीक्षा लम्बिँदै गयो। अन्ततः उनको अवस्था अज्ञात रहेकै अवस्थामा परिवारले अन्तिम संस्कार गर्ने कठोर निर्णय लिनुपर्यो।
जोशीको परिवारमा सबैभन्दा ठूलो पीडा १३ महिनाको छोराको भविष्यसँग जोडिएको छ। बोल्न सिक्दै गरेको त्यो अबोध बालकले अझै ‘बुबा’ भनेर बोलाउन नपाउँदै बाढीले बुबाको साथ खोसेको छ। बुबाको माया, काख र साथको अर्थ बुझ्न नपाउँदै एक नाबालकले जीवनभरका लागि अभिभावक गुमाउनु परेको छ।
एकतर्फ श्रीमान् फर्किने आशामा बसेकी श्रीमती, अर्कोतर्फ बुबाको अनुहार समेत चिन्न नपाएको अबोध बालक, परिवारको यो पीडा शब्दमा व्यक्त गर्न कठिन छ। बाढीले एउटा जीवन मात्र होइन, एउटा परिवारको सपना, भरोसा र भविष्य समेत उजाड बनाएको छ।
"जोशीको अन्तिम संस्कारका क्रममा परिवार, आफन्त, इष्टमित्र तथा छरछिमेकीले दिवंगत जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
भोटेकोशीमा आएको बाढीले जोशीको परिवारमा मात्र होइन, कञ्चनपुरका अन्य परिवारमा पनि गहिरो पीडा छोडेको छ । उक्त बाढीमा परी जोशीसहित कञ्चनपुरका २६ जनाको अवस्था अझै अज्ञात रहेको छ ।
भावपूर्ण श्रद्धाञ्जली प्रेमप्रसाद जोशी । शोक सन्तप्त परिवारमा हार्दिक समवेदना ।"
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया