Samriddhipost
२०८१ बैशाख १५ गते शनिबार
महेन्द्रनगर
२०८० चैत १२ गते सोमबार

राजनितिक दलहरु आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको तयारीमा जुटेका छन् । नेकपा एमालेले उपनिर्वाचन हुने दुवै क्षेत्रका लागि उम्मेदवार टुंगो लगाएको छ ।
आइतबार बसेको सचिवालय बैठकले इलाम–२ मा प्रतिनिधि सभा सदस्यका लागि सुहाङ नेम्वाङ र बझाङ (१) बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ बाट प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको थियो । त्यसक्षेत्रमा एमालेले उम्मेदवार बनाएका सुहाङ, नेम्वाङकै कान्छा छोरा हुन् ।
बझाङ–१ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत ५ असारमा सवारी दुर्घटनामा परेर निधन भएको थियो । त्यहाँ एमालेले उम्मेदवार बनाएका भण्डारी, पार्टीको बझाङ जिल्ला अध्यक्ष हुन् ।
कांग्रेसको क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले ६ जनाको नाम सिफारिस गरेको छ ।
जसमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका छन् । आचार्य २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए भने खड्का ४ मंसिर २०७९ को आमचुनावमा नेम्वाङसँगै पराजित भएका थिए ।
बझाङको उपनिर्वाचनका लागि जिल्ला कार्यसमितिले आकांक्षी १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
पृथ्वीबहादुरका छोरा अभिषेक सिंहसँगै सत्यराज भण्डारी, जगतप्रसाद जोशी, शान्ति बोहरा, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह, लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडाको नाम सिफारिस भएको छ ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार नाम सिफारिसका लागि तोकिएको समय भर्खरै सकिएकाले एकाध दिनमा निर्णय हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशको उपचुनावमा भाग नलिने निर्णय गरेको छ भने इलाम २ का लागि आगामी शनिबार उम्मेदवार घोषणा गर्ने तयारी छ । निर्वाचन आयोगले उपचुनावको मिति तय गरेसँगै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम २ मा खटाएको थियो भने मत सर्वेक्षण गर्न ६ जना सांसद पनि गएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि उपनिर्वाचनको तयारी अघि बढाएको छ । इलाम २ मा चुनावी गतिविधिका लागि रवीन्द्र लिङ्देनको नेतृत्वमा टोली परिचालित छ भने लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।
बझाङमा भने उम्मेदवारको टुंगो लगाउन बाँकी छ ।
एकीकृत समाजवादीले पनि दुबै क्षेत्रमा उम्मेदवारी दिने तयारी रहेको बताएको छ । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार उम्मेदवारीको तयारी हुँदैछ ।


#उप निर्वाचन # बझाङ # ईलाम २

प्रतिक्रिया