पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार करिब अन्तिम चरणमा पुगेको छ । साढे ७ वर्षदेखि सडकमा धुलो–हिलो र घण्टौँ लामो जामको सास्ती खेप्दै आएका यात्रुहरूका लागि अबको केही महिनाभित्रै राहत मिल्ने देखिएको छ ।
पटक–पटक म्याद थप हुँदा पनि निर्माण सम्पन्न हुन नसकेर आलोचित बनेको यो आयोजनाको भौतिक प्रगति अहिले ७६ प्रतिशत पुगेको छ ।
पहिलो पटक थपिएको म्याद (२०८१ साउन ८) मा पनि काम नसकिएपछि दोस्रो पटक २०८२ साउन ८ सम्म म्याद थपियो । यो अवधिमा पनि काम पूर्ण नभएपछि तेस्रो पटक म्याद थपेर २०८३ साउनसम्म पुर्याइएको छ । तर आयोजनाले भने अब म्याद थपको आवश्यकता नपर्ने र तोकिएको समयभित्रै ‘टेकिङ ओभर’ गर्ने लक्ष्य राखेको छ ।
कुल ११४ किलोमिटर लामो यो सडकलाई नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर (पूर्वी खण्ड) र दाउन्नेदेखि बुटवलसम्म ४९ किलोमिटर (पश्चिम खण्ड) गरी दुई प्याकेजमा विभाजन गरेर काम भइरहेको छ ।
१६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ लागतमा विस्तार भइरहेको यो सडक सम्पन्न हुँदा ७० किलोमिटर चार लेन, २९ किलोमिटर सहरी क्षेत्रमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन र दाउन्नेको १४ किलोमिटर सडक तीन लेनको हुनेछ ।
सबैभन्दा चुनौतीपूर्ण मानिएको दाउन्नेको उकालो क्षेत्रमा ५ किलोमिटर सडकलाई ‘रिजिड पेभमेन्ट’ (कंक्रिट ढलान) गरिँदै छ । जसमध्ये २ किलोमिटर काम सम्पन्न भइसकेको छ । दाउन्नेको भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै काम छिटो सक्न निर्माण व्यवसायीले जनशक्ति थप बढाएका छन् ।
दाउन्नेमा रिजिड पेभमेन्टको काम छिटो सक्न कामदारको समूह २–३ वटाबाट बढाएर १० वटा पुर्याइएको छ । ‘दाउन्ने खण्ड र केही एप्रोच रोडबाहेक अन्य स्थानमा ‘वान–वे’ सडक पूर्ण रूपमा क्लियर भइसकेको छ । विद्युत् पोल र खानेपानीको पाइप सार्ने काम पनि दाउन्ने बाहेकका स्थानमा सकिएको छ ।’
आयोजनाका अधिकारीहरूले पछिल्लो समय कामको गति बढाउँदै लगिएको दाबी गरेका छन् । आगामी साउन महिनासम्म सडकको काम सकिनेछ र वर्षौँदेखि यात्रुले भोग्दै आएको विशेष गरी दाउन्ने खण्डको कष्टकर यात्रा इतिहास बन्ने दाबी छ । आयोजनास्थलमा अहिले जनशक्ति र उपकरणको परिचालन व्यापक बनाइएको छ, जसले निर्धारित समयमै काम सक्ने आधार खडा गरेको अधिकारीहरूको भनाइ छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा २०७५ चैत ८ गते सम्झौता भएर सुरु भएको यो आयोजनाको सुरुवाती म्याद २०७९ साउन २२ गतेसम्म थियो । तर, कोभिड महामारी, रुख कटानमा ढिलाइ, र निर्माण व्यवसायीको सुस्तताका कारण तोकिएको म्यादमा काम सम्पन्न हुन सकेन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया