Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख २६ गते शनिबार

शुक्लाफाँटा नगरपालिका वडा नं. ०८ मा शान्ति सुरक्षा संकटबारे स्थानीयको संयुक्त आवाज

लागूऔषध, अवैध मदिरा, चोरी–तस्करी, वन अतिक्रमणदेखि ट्राफिकफ अराजकतासम्म नियन्त्रणको माग
कञ्चनपुर, वैशाख २६— शुक्लाफाँटा नगरपालिका वडा नं. ०८ का स्थानीय बासिन्दा तथा “विकृति तथा गैरकानुनी क्रियाकलाप पीडित युवा सञ्जाल” ले वडा क्षेत्रमा बढ्दो अपराध, लागूऔषध दुर्व्यसन, अवैध मदिरा कारोबार, वन अतिक्रमण, चोरी–तस्करी तथा ट्राफिक अराजकताले समाजमा गम्भीर असुरक्षा सिर्जना भएको भन्दै तत्काल नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
स्थानीयहरूले वडा कार्यालयमार्फत सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायहरूमा कडा कदम चाल्न सिफारिस गरिदिन माग गर्दै संयुक्त निवेदन पेश गरेका हुन्। निवेदनमा हाल वडा क्षेत्रमा विभिन्न गैरकानुनी गतिविधि तीव्र रूपमा फैलँदै गएको, जसका कारण बालबालिका, विद्यार्थी, युवायुवती र सर्वसाधारणको दैनिक जीवन असुरक्षित बन्दै गएको उल्लेख गरिएको छ।
निवेदनअनुसार वडा क्षेत्रमा ब्राउन सुगर, चरेश लगायतका घातक लागूऔषधको खुलेआम कारोबार, ओसारपसार तथा सेवन भइरहेको छ। यसले विशेषगरी विद्यालय जाने उमेर समूहका बालबालिका र युवायुवतीको स्वास्थ्य तथा भविष्यमा गम्भीर असर पारेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। लागूऔषधका कारण चोरी, हिंसा तथा अन्य आपराधिक गतिविधि बढ्दै गएको दाबी गरिएको छ।
त्यसैगरी, सरकारी अनुमति तथा मापदण्डविना विद्यालय नजिकै समेत अवैध मदिरा पसल सञ्चालन, सुर्तीजन्य पदार्थ बिक्री तथा नियमित जुवातास सञ्चालन भइरहेको आरोप लगाइएको छ। यस्ता गतिविधिले समाजमा असुरक्षा र त्रासको वातावरण सिर्जना गरेको स्थानीयको भनाइ छ।
वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित समस्यामा पनि स्थानीयले गम्भीर ध्यानाकर्षण गराएका छन्। वडा क्षेत्रमा व्यापक वन अतिक्रमण भइरहेको, भरुवा बन्दुक प्रयोग गरी वन्यजन्तुको चोरी सिकार भइरहेको तथा वन्यजन्तु र जङ्गली चराचुरुङ्गीका बच्चा समातेर गैरकानुनी रूपमा बिक्री वितरण तथा पालनपोषण गरिने गरेको उल्लेख गरिएको छ। साथै नदी–नालामा करेन्ट र विषादी प्रयोग गरेर माछा मार्ने कार्य बढेको भन्दै त्यसले जैविक विविधतामाथि खतरा उत्पन्न गरेको जनाइएको छ।
नदीजन्य पदार्थको अवैध उत्खनन, ओसारपसार, भण्डारण र कालोबजारी पनि तीव्र बनेको स्थानीयको आरोप छ। वातावरणीय प्रभाव मूल्याङ्कन तथा ठेक्का प्रक्रिया बिना राजस्व छलि गरी ढुङ्गा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ चोरी तस्करी भइरहेको निवेदनमा उल्लेख छ।
स्थानीयका अनुसार पछिल्लो समय चोरीका घटनामा उल्लेखनीय वृद्धि भएको छ। चोरीमा संलग्न व्यक्तिहरू पक्राउ नपरेको र सुरक्षाको अनुभूति कमजोर बन्दै गएको भन्दै प्रभावकारी अनुसन्धान तथा सुरक्षा गस्तीको माग गरिएको छ।
वडा क्षेत्रमा खोलानाला अतिक्रमण बढेको, नदी संरक्षणका लागि युवाहरूले गरेका प्रयासहरू अतिक्रमणकारीहरूले नष्ट गरेको तथा नदी किनारमा संरक्षण गरिएका रुखबिरुवा फडानी गरिएको पनि आरोप लगाइएको छ। अवैध चरिचरणका कारण बस्ती, घर तथा खेतीयोग्य जमिन नदी कटानको जोखिममा परेको स्थानीयको भनाइ छ।
अवैध मदिरा र लागूऔषध सेवनका कारण सवारी दुर्घटनाहरू बढिरहेको तथा मानवीय क्षति समेत हुने गरेको निवेदनमा उल्लेख छ। त्यस्तै चोरीका सवारीसाधन तथा नेपाली र भारतीय नक्कली नम्बर प्लेट प्रयोग भएका मोटरसाइकल तथा गाडी प्रयोग गरी विभिन्न आपराधिक गतिविधि सञ्चालन हुने गरेको आरोप पनि लगाइएको छ।
स्थानीयले वडा क्षेत्रमा ट्राफिक नियम कार्यान्वयन गर्ने निकायको प्रभावकारी उपस्थिति नभएको भन्दै ट्राफिक व्यवस्थापन कडा बनाउन माग गरेका छन्।
सामाजिक कार्यक्रम, विवाह, धार्मिक मेला तथा विभिन्न सार्वजनिक कार्यक्रममा गुण्डागर्दी हुने गरेको र संलग्न व्यक्तिमाथि कारबाही नहुने गरेको भन्दै आगामी दिनमा यस्ता गतिविधिमाथि तत्काल नियन्त्रण गरिनुपर्ने माग गरिएको छ।
त्यसैगरी, धार्मिक तथा पर्यापर्यटकीय क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा व्यवस्थापन गर्न, आगन्तुकको अभिलेख राख्न तथा सुरक्षाको प्रत्याभूति दिन स्थानीयले माग गरेका छन्।
वडाभर सुरक्षा संवेदनशील क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्न, नियमित सुरक्षा गस्ती परिचालन गर्न तथा विद्यालय, धार्मिक स्थल, सरकारी कार्यालय, सामुदायिक वन, पुल तथा चोक क्षेत्रमा हुने लागूऔषध सेवनकर्ताको जमघट नियन्त्रण गर्न पनि माग गरिएको छ। स्थानीयका अनुसार यस्ता स्थानहरूमा बेलाबेलामा यात्रु तथा सर्वसाधारणमाथि सांघातिक आक्रमणसमेत हुने गरेका छन्।
निवेदनमा केही अनाधिकृत समूहले निर्माण व्यवसायी तथा ट्र्याक्टर सञ्चालकसँग बाटो अवरुद्ध गरी “हप्ता” असुल्ने कार्य गरिरहेको आरोप पनि लगाइएको छ। स्थानीयका अनुसार यस्ता गतिविधिले समाजमा आतंक र भयको वातावरण सिर्जना गरेको छ।
स्थानीय बासिन्दाले समयमै सम्बन्धित निकायले आवश्यक कदम नचाले समाजमा अझ ठूलो विकृति र असुरक्षा फैलिन सक्ने चेतावनी दिएका छन् साथै, माग सम्बोधन नभए कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने उल्लेख गर्दै उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने बताएका छन्।

 वडाले शनिबार बाट वडामा ट्राफिक प्रहरी र प्रहरी गस्ती परिचालन भइसकेको र सवारीसाधन हरु चेकजाँच जरिवाना र कारबाही सुरु गरेको  र बाकी मागहरू सम्बन्धित निकायसित समन्वय गरि तत्काल पूरा गर्नतिर अगाडि बढने वडा अध्यक्ष महराले जानकारी गराएका  छन ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>