Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८१ बैशाख ११ गते मङ्गलबार

क्षयराेग अन्त गर्न लालझाडी प्रतिबद्ध

नेपालमा क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहँदै आएको छ । सन् २०१८।१९ मा सम्पन्न राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेको नतिजा अनुसार ६९ हजार नयाँ क्षयरोगका बिरामीहरू रहेको अनुमान गरिएको थियो । आर्थिक वर्ष २०७८।७९ मा ३७ हजार ८६१ जना (५४%) बिरामीहरूको रोग पत्ता लागी उपचारमा भर्ना भएका थिए भने बाँकी क्षयरोगका बिरामीहरूको रोग पत्ता लगाउनु र पत्ता लागिसकेकाहरूलाई उपचारको दायरामा ल्याउनु राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि एक चुनौती रहेको छ । त्यसै गरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपाल औषधी प्रतिरोधी क्षयरोगको उच्च भार भएका ३० देशहरूमध्येमा पर्दछ । यसै अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको पञ्चवर्षीय राष्ट्रिय क्षयरोग रणनीतिक योजना (२०२१।२२-२०२५।२६) मा एक नवीनतम कार्यको रूपमा क्षयरोग मुक्त नेपाल अभियानको सुरुवात गरिएको छ ।
आर्थिक वर्ष २०७८।७९ मा २५ वटा स्थानीय तहहरूबाट क्षयरोग मुक्त नेपाल अभियान सुरुवात गरी आर्थिक वर्ष २०८०।८१ मा थप १०० वटा स्थानीय तहहरूमा यस अभियानलाई विस्तार गरिँदै छ । जस अन्तर्गत कञ्चनपुरको लालझाडी गाउँपालिका पनि पर्दछ । गत फागुनमा क्षयरोग कार्यक्रम संयोजक नियुक्त गरी लालझाडी गाउँपालिकामा पनि यो अभियान सुरु भएको लालझाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दशरथ रानाले जानकारी दिनुभयो । अभियानको पहिलो चरणमा स्थानीय जनप्रतिनिधिहरूलाई उक्त कार्यक्रम सम्बन्धी अभिमुखीकरण गरिएको थियो भने चैत महिनामा प्रत्येक वडाहरूमा सूक्ष्म योजना तर्जुमा गरिएको लालझाडी गाउँपालिकाका क्षयरोग कार्यक्रम संयोजक विकास डगौराले बताउनु भयो । उहाँका अनुसार, गत चैत ११ गते ( 24 March 2024) का दिन विश्व क्षयरोग दिवसका अवसरमा अन्तर्क्रिया कार्यक्रम समेत सञ्चालन गरिएको थियो । सोही अभियान अन्तर्गत बैशाख १० गते सोमबार वडा स्तरीय सूक्ष्म योजनाको समीक्षा तथा पालिका स्तरीय सूक्ष्म योजना तर्जुमा गोष्ठी गरिएको छ ।
श‌ङ्करपुर स्वास्थ्य चौकीको सभा हलमा आयोजित उक्त गोष्ठीलाई सम्बोधन गर्दै लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले क्षयरोग मुक्त अभियान सफल पार्न सबै पक्षको सहयोग अनिवार्य रहेको उल्लेख गर्नुभयो । उहाँले लालझाडीमा सो अभियानलाई तीव्रता दिइने समेत बताउनु भयो । कार्यक्रममा सहभागी अध्यक्ष सहितका जनप्रतिनिधिहरू, शिक्षक, स्वास्थ्यकर्मी, नागरिक समाज, युवा, राजनीतिकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, समाजसेवी र सरोकारवालाहरूले लालझाडीलाई क्षयरोग मुक्त पालिका बनाउन 'हो हामी क्षयरोग अन्त्य गर्छौँ' भन्दै प्रतिबद्धता जनाउनु भएको छ ।


#क्षयराेग

प्रतिक्रिया