अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले मुसीकोट सबस्टेशन उद्घाटन गर्दै ग्यास विस्थापन निम्ति विद्युतीय चुल्होमै खाना पकाउन आग्रह गरेका छन् । अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले सोमबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभी क्षमताको सबस्टेसन उद्घाटन थिए। मुसीकोट सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरूमा विद्युत प्रवाह थालिएको छ ।
कार्यक्रममा अर्थमन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरेका हुन् । आफूले शुरू गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’मा परिणत भएको चर्चा गर्दै पूर्व ऊर्जामन्त्रीसमेत रहेका शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए। ‘विद्युत आर्थिक क्रान्तिको आधारभूत साधन हो, यसको प्रयोग घरघरमा, उद्योग उद्योगमा बढाएर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नुपर्छ, साथै गुणस्तरीय पूर्वाधारको निर्माण गरी गुणात्मक विकास गर्नुपर्छ,’ उनले भने ।
उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री भुसालले विगतमा बत्ती बाल्न पाउनु नै ठूलो कुरा भएको उल्लेख गर्दै अब पर्याप्त विद्युत रहेकोले भान्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरिन् । उनले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत पुर्याउने र विद्युत सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताइन् । भुसालले भनिन्, ‘आफ्नै उत्पादनबाट माग धान्ने अवस्थामा पुगी विद्युतमा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेका छौं, वर्खाका केही महिना देशभित्र खपत गरेर जगेडा भएको विद्युत भारत निर्यात गर्न थालेका छौं, थप विद्युत निर्यातका लागि भइरहेका पहल सकारात्मक रूपमा अगाडि बढिरहेको छ ।’ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।
सल्यान सित्तलपाटी सबस्टेसनबाट करिब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत विद्युत लगेर सबस्टेसन सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा ३ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेको छ । सबस्टेसन सञ्चालनमा आएपछि रुकुममा विद्युतको भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको छ । जाजरकोटको कुदु सबस्टेसनबाट पनि जिल्लाभरी विद्युत आपूर्ति गर्न सकिने व्यवस्था मिलाइएको छ । यसले गर्दा सल्यान या दाङको तुलसीपुरमा विद्युत अवरोध हुँदा पनि रुकुम पश्चिम तथा पूर्वमा बत्ती बाल्न सकिने प्राधिकरणले जानकारी दिएको छ ।
सबस्टेसनबाट विद्युत आपूर्तिका लागि फिडरहरू निर्माण भइरहेको छ । अहिले एउटा फिडरबाट मात्र जिल्लाभरी विद्युत आपूर्ति भइरहेको छ । बाँकी फिडरहरू सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा झनै सुधार आउने छ । रुकुम पूर्वमा निजी क्षेत्रले निर्माण गरिरहेको ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजनाको विद्युत यही मुसिकोट सबस्टेसनमा जोडिने छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया