Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ भदौ २६ गते आइतबार

दार्चुलाका बेपत्ता काे पत्ताे लागेन, राहत बितरण सुरु, बिध्यालय बन्द, बाटाे खुलाउने प्रयास ।

दार्चुलाका बाढीपहिरो पीडितलाई राहत वितरण सुरु गरिएको छ । स्थानीय तह, प्रदेश, संघ सरकार, रेडक्रस, सिआरडिएस, विभिन्न राजनीतिक दल र दलका भातृ संगठनका साथै स्वस्फुर्त रुपमा समाजसेवीहरुबाट राहत संकलन र वितरण कार्य भइरहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो ।

अविरल वर्षासँगै शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ । हालसम्म छ जनाको शव फेला परेको, १० जना अझै बेपत्ता रहेको र पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो ।

घाइते तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताहरूको खोजीमा समस्या भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताउनुभयो । खोजतलासमा नदी किनारतिर स्थानीय र सुरक्षाकर्मीहरु जुटेका छन् ।

बाढीपहिरोमा परेर महाकाली नगरपालिका–२ मुल्ला मोडका ७७ वर्षीय नन्दराम बोहरा, नौगाडा गाउँपालिका–२ दल्लेखका मोहन पार्की, महाकाली नगरपालिका–३ डुङरीका मानमती कार्की, नौगाड गाउँपालिका–१ सल्लाकी जानकी ठगुन्ना र सोही ठाउँकी धनुली ठगुन्नाको मृत्यु भएको थियो । यस्तै महाकाली–३ का धनसिंह कार्की, दिनेश कार्की, दीपक कार्की, महाकाली–२ की मानमती साहु, महाकाली–१ लास्कुकी मञ्जु लुहार, सोही ठाउँका दिनेश लुहार, डल्ली लुहार र साजन लुहार सहित १० जना बेपत्ता छन् । अहिलेसम्म बेपत्ताको कुनै अत्तोपत्तो छैन् । बेपत्ताको खोजीसँगै बाढीपहिरो प्रभावितहरूलाई राहत वितरण, अस्थाई तटबन्ध निर्माण गर्ने काम भइरहेको छ । बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका ४२ घरमा पूर्ण र ९ वटामा आंशिक क्षति भएको छ । प्रहरीका अनुसार ४० घर जोखिममा छन् । यस्तै दुई वटा विद्यालय, एउटा विद्युत पावर हाउस, तीन वटा झोलुंगे पुल, लास्कु खोलाको मोटरेबल पुल, पार्किङ गरेर राखिएका ६ जिप, एक कार र एक ट्याक्टर र एक जेसीबी पनि बाढीले बगाएको छ । पुल बगाउनुका साथै ठाउँठाउँमा पहिरो आएपछि नौगाड र दुहुँ जोड्ने सडक अवरुद्ध छन् । सडक सञ्जालबाट विच्छेद भएको दुहु गाउँपालिकालाई सदरमुकामसँग जोड्न नेपाली सेनाको टोलीले दुहुँ जाने सडक मर्मत गर्ने काम सुरु गरेको छ ।

धुलिगडामा एक महिला मृत फेला
दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगढास्थित नौगाड खोलाको बीचमा एक महिला मृत फेला पर्नुभएको छ । प्रहरीका अनुसार उहाँको पहिचान खुलेको छैन । धेरै ठाउँमा सञ्चार अवरुद्ध भएकोले अनुसन्धानमा समेत ढिलाई भइरहेको छ । महिलाको शुक्रबार रातीकै बाढी पहिरोका कारण खोलामा बगेर ज्यान गएको अनुमान गरिएको छ ।

प्रभावित क्षेत्रमा विद्युत, सञ्चार र खानेपानी अवरुद्व
दार्चुलामा बाढी प्रभावित क्षेत्रमा विद्युत, सञ्चार र खानेपानी अवरुद्व भएको छ । दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा विद्युत र सञ्चार अवरुद्ध भएको छ भने खलंगा बजारमा खानेपानी अभाव भएको छ । बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएपछि विद्युत, खानेपानी र सञ्चार अवरुद्व रहेको दार्चुलाका सहायक जिल्ला अधिकारी हेमन्ती साउँदले बताउनुभयो ।

३१ गतेसम्म विद्यालय बन्द
महाकाली नगरपालिकाको बाढी प्रभावित क्षेत्रमा २६ गतेदेखि ३१ गतेसम्म विद्यालय विदा गरिएको छ । महाकालीको वडा नम्बर १, २, ३ र ४ मा बाढी पहिरोले अत्यधिक क्षति गरि जनजीवन अस्तव्यस्त भएको अवस्थामा बालबालिकामा मनोवैज्ञानिक त्रास रहेको, बाढीबाट क्षति भएका विद्यालय लगायत बाटोघाटो बन्द भइ आवतजावत गर्न सकिने अवस्था नरहेकोले पहिरोबाट प्रभावित क्षेत्रमा ३१ गतेसम्म विदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनुभयो । विदा अवधिमा विद्यालय शिक्षक तथा कर्मचारीलाई उद्धार, राहत र पुनःस्थापना कार्यमा सहभागि भइ सहयोग गर्न र गाउँघरमा सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।

मन्त्री, सासंद, मेयर र नेताहरुको सक्रियता
दार्चुलाको बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्री, सांसद, मेयर र राजनीतिक दलका नेताहरुले सक्रियता देखाएका छन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्री, सांसदहरुले बाढीपहिरो प्रभावित क्षेत्रमा भावी जोखिम नियन्त्रण तथा कटान रोक्नका लागि अस्थाई तारजाली लगाउने काममा सक्रियता देखाएका हुन् । प्रभावित क्षेत्रमा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसहितको टोली गएको छ । पूर्वमन्त्री तथा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नापनि आज दार्चुला आइपुग्नुभएको छ । उहाँहरुले बाढीपहिरोमा ज्यान गुमाएका र क्षति व्यहोरेका मानिसको परिवारलाई भेटेर सान्त्वना दिइरहनुभएको छ । युवाहरुले भने पीडितलाई सान्वना दिनु राम्रो भएपनि प्रभावित क्षेत्र र जनताका लागि नीतिगत निर्णय र आर्थिक राहतका लागि पहल गर्न मन्त्रीहरुलाई सुझाइरहेका छन् । अहिलेसम्म नेपाल सरकारले विशेष राहतको कार्यक्रम घोषणा गरेको छैन् ।

शनिबार उद्धारको काम गरिएकोमा आइतबार बिहानैदेखि राजनीतिकर्मी, सुरक्षाकर्मी र स्थानीयले महाकाली नगरपालिका–४ बंगाबगरमा लास्कु खोलाले कटान गरिरहेको क्षेत्रमा तटबन्धन निर्माणका लागि ढुङगा बोकिरहेका छन् । आइतबार उनीहरु लास्कु खोलामा तटबन्धन निर्माण गर्न जुटेका हुन् । यस्तै प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, उपप्रमुख दुर्गा बिष्ट, नेकपा (एमाले) दार्चुलाका पदाधिकारीहरु लगायत नेताहरु बाढीग्रस्त क्षेत्रमा खटिएर उद्धार र तटबन्ध निर्माणको काम गरिरहेका छन् ।

पीडितलाई तत्काल राहत दिन एमालेको माग
दार्चुलाका बाढीपहिरो पीडितलाई राहतको व्यवस्था गर्न माग गरिएको छ । एमाले जिल्ला र सुदूरपश्चिम प्रदेश कमिटिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्रभावितहरुलाई उचित राहत र क्षतिपूर्ती उपलब्ध गराउन माग गरेको हो । विज्ञप्तीमा बेपत्ताहरुको खोजी तथा उद्धारको कार्यलाई तदारुकताका साथ अगाडी बढाउन पनि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग माग गरिएको छ । बाढीपहिरोबाट पाँच जनाको मृत्यु भएको थियो भने १० जना अझै बेपत्ता रहेका छन् । दार्चुला पुरै शोकमा डुबेको छ ।

स्थानीय भन्छनः महाकाली बाढीको कारण भारतले बनाएको अस्थायी तटबन्ध
दार्चुला सदरमुकाम खलंगाको बंगाबगर क्षेत्रमा कटान भइरहेको छ भने मुख्य बजारमा समेत कटानको जोखिम बढेको छ । भारतले एकतर्फी महाकाली बगरको झण्डै सय मिटर नेपालतर्फ तटबन्ध निर्माण गर्दा नदीको वहाव फर्किएर सदमुकाममा कटानको जोखिम बढेको स्थानीय चक्रबहादुर बमले बताउनुभयो । महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीको कारण महाकाली नदी थुनिएको थियो । आइतबारदेखि विस्तारै नदीमा पानीको निकास हुन थालेको छ । भारतले महाकाली नदीमा तटबन्ध निर्माण गर्न बगरको सय मिटर नेपालतर्फ अस्थायी तटबन्ध निर्माण गरेकाले महाकाली नदी थुनिएको उहाँको भनाई छ । भारतको तटबन्धकै कारण बाढी आएको स्थानीयको दाबी छ । भारतको अस्थायी तटबन्धका कारण महाकाली नदीको पानी बग्ने धार साँघुरो भयो, जसकारण महाकाली नेपालतर्फ मोडियो, उहाँले भन्नुभयो, नेपालको तटबन्धमाथि महाकाली नदी उक्लेको छ । जसले गर्दा कटानको जोखिम बढेको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>