नेपाली जमिन भारतीयको कब्जामा नेपालीसँग पुर्जा छ उपयोग भारतीयले गर्छन्। नेपाल सरकारले सिचाईका लागि नहर बनाउँछ भारतीयले आफ्नो दाबी गर्छ। यो कुरा टाढाको होइन यो कञ्चनपुरको विषय हो।
कञ्चनपुरको दक्षिणी बेल्ट भनेर चिनिने बेलौरी नगरपालिका वडा नम्बर १० स्थित ३३ ३४ र ३५ नम्बर पिल्लर रहेका ठाउँमा यस्तो समस्या देखिएको हो। यो समस्या आज भर्खरको मात्र होइन केही वर्षहरूदेखि यसरी उपयोग गरिरहेका छन् र त्यहाँ झोपडी घर बनाएर बसेकाहरु अहिले पक्की घरहरु बनाउन थालेका छन् तर नेपाली प्रशासन मौन छ। यो क्षेत्रको करिब १६ बिघा जमिन भारतीयको कब्जामा छ।
उक्त क्षेत्रमा रहेको कित्ता नं ३३६,३३९,७२४,७३५ का करिब १६ कठ्ठा जमिन पूरै भारतीय एसएसबीको कब्जामा रहेको बेलौरी नगरपालिका-१० का वडा अध्यक्ष सोमलाल चौधरीले जानकारी दिए । ‘व्यक्तीको लालपुर्जा छ,मालपोत तिरेको छ तर भोगचलन गर्न भने पाएका छैनन्’ उनले भने ‘पूरै जमिन भारतीयको नियन्त्रणमा छ । केही जमिन भोगचलन गर्न दिएको भएपनि भारतीयले सो जमिन आफ्नो दाबी गर्दै किसानलाई दु:ख दिँदै आएको छ।’
१० गजा जमिन भन्दा करिब ३० मिटर टाढा महाकाली सिँचाइले निर्माण गरेको सर्को टर्सरीलाई दशगजा मानिएको भएपनि भारतीयले नेपाली भू-भागलाई दशगजा मानेर नेपाली भूमिनै कब्जा गरेर बसेको उनको भनाइ छ । दशगजा क्षेत्र यताको ३४ नम्बर पिल्लर भित्र एसएसबीको क्याम्पनै निर्माण भएको उनले बताए ।
उनीहरु बेलाबेला नेपालीहरुलाई दु:ख दिँदै आएको उनले बताए । भारतमा घरायसी सामान लिन जाँदा होस् या अन्य कामका लागि जाँदा पनि सीमानाकामा नेपालीलाई दु:ख दिने गरेको उनले बताए । उनले भने ‘उता ३५ नम्बर पिल्लर नजिक जो नेपाली भू-भाग दर्शी खल्ला छ त्यस्मा भारतीयका १६ घर निर्माण गरी बस्ती नै बसालेको छ ।’
‘हामीले नेपाल सरकारलाई ज्ञापनपत्र दिएका छौँ,यहा रहेका सीमासुरक्षामा राखिएका सशस्त्र प्रहरी बलको बिओपी क्याम्पमा गएर निवेदन दिएका छौँ । तर, कुनै चासो दिइएको छैन’ उनले भने । यस क्षेत्रमा रहेका नागरिकले भारतीयको एसएसबीबाट बेलाबेला सास्ती खेप्दै आएको उनले बताए ।
दशगजा क्षेत्र नजिक ३५ नम्बर पिल्लर सडकघाट यता १० कठ्ठा जमिन भएपनी एसएसबीले भोगचलन गर्न नदिएको स्थानीय केशव चौधरीले बताए ।
‘जग्गा नाममा छ,बर्षेनी मालपोत तिरेको छु । तर खनजोत गर्न जाँदा एसएसबीले लखेटेर पठाउँछ’ उनले भने ‘समस्या समाधानका लागि नेपाल सरकारले भूमिका खेल्न जरुरी छ । हामी भारतीय पक्षबाट एकदमै प्रताडित भएका छौँ ।’
हाम्रो बिषयमा बोल्ने कोही पनि छैन उनले दु:खेसो गर्दै उनले भने ‘हामी कहिले सम्म यो अवस्थामा बाँचिरहने हो । यदि नेपालीले समयमै आफ्नो सिमाको रक्षा गर्न सकेन भने भोलिका दिनमा पूरै भू-भाग भारतीयले कब्जा नगर्ला भन्न सकिदैन ।’
बेलौरी नगरपालिका_८ पचुईका तीलक चौधरीले वडा नं १० स्थित सीमा क्षेत्रको नेपाली भूमिमा जग्गा ठेक्कामा लिएर खेती गर्दै आएको बताए । उनले उक्त जग्गामा खेती गर्न अवरोध गर्ने गरेको बताए । उनले भने ‘मैले नेपाली लालपुर्जा भएको तीन विगाहा जग्गा ठेक्कामा लिएर खेती गर्ने गरेको छु । भारतीय एसएसबीले खेतीपाती गर्न दिदैन । आएर धम्काउने काम गर्छ । यहाँ खेती नगर अगाडिबाट दौडाएर पछाडिबाट गोली हान्छु भन्छ ।’
उनले भने ‘ट्याक्टर लिएर खेतमा गयो भने एसएसबीले तिम्रो ट्याक्टरको कागजात लिएर हाम्रो क्याम्पमा आउनु नआए ट्याक्टर सिज गरिदिन्छु भन्छ ।’ एसएसबीले सो क्षेत्रमा आवतजावत समेत गर्न नदिने बताए । उनले भने ‘जग्गा भएको क्षेत्रमा आवतजावत पनि गर्न दिदैन । नराम्रो शब्द बोल्छ्न । यो भारतीय जग्गा हो । यहाँ नआउनु भन्छ ।’
सीमा क्षेत्रको सीमाङ्कनमा नेपाल सरकारले ध्यान दिनुपर्ने उनले बताए । उनले भने ‘यसमा सरकारले चासो नदिए जस्तो लाग्छ । सरकारले ध्यान दिन जरुरी छ । हामीले धेरै दु:ख कष्ट खेप्नु परेको छ । भारतीय एसएसबीले हेप्ने,धम्काउने,थर्काउने काम गरेको छ ।’
अन्तर्राष्ट्रिय सीमासरोकार समूहका संयोजक पल्लवराज भट्टले संकटकालको बेला २०५९ सालमा नेपाल र भारतको संयुक्त सर्वे टोलीले नापजाँच गर्दा गडबडी गरेको बताए । उतीखेर नेपालको विओपी नभएको ,देशमा द्वन्द्वको अवस्थाको मौका छोपेर नेपालबाट गएको नापीटोली उतै बसेर नापी गरेको उनले बताए ।
उनले भने ‘अहिलेको समस्या त्यो नापी हो । हामीले भन्दै आएका छौँ । त्यो नक्सा लागु भएको छैन,दुई देशमा सन्धि भएको छैन र नेपाल सरकारसँग १८७५ मा सर्वे गरेको नक्सा राखेर अहिले नक्सा सच्च्याउ भनिरहेका छौँ ।’ सो बेलाको विवादित नक्साका कारण भारतीयले नेपालीलाई दु:ख दिइ रहेको उनले बताए ।
यो समस्या दुई देशका पदाधिकारी बसेर समाधान गर्नुपर्ने उनको तर्क छ । थुप्रै जमिन भारतीयले आफ्नो भू-भाग भनेर कब्जा गरेको र नेपालीलाई दु:ख दिने गरेकोे उनले बताए ।
३५ नम्बर पिल्लर नजिकको खप्टि नाला र कालीपुल देखि पचुई सम्म हुलाकी सडक पिच गर्न नदिएर सडकसमेत अलपत्र परेको अवस्था छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया