Samriddhipost
२०८३ असोज १६ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज १६ गते शुक्रबार

विद्यालयबाहिरका बालबालिकालाई विद्यालय फर्काउन शुक्लाफाँटा–८ को कडा कदम

शुक्लाफाँटा नगरपालिका–८, पारिफाँटाले विद्यालयबाहिर रहेका बालबालिकालाई पुनः विद्यालयको मूल प्रवाहमा ल्याउन कडा कदम अघि सारेको छ। वडा कार्यालयले आधारभूत तहको शिक्षा पूरा नगरी विद्यालय छाडेका तथा पटक–पटक आग्रह गर्दा पनि विद्यालय नजाने बालबालिकाका अभिभावकलाई सरकारी तथा वडा कार्यालयबाट उपलब्ध हुने सेवासुविधा लिन आउँदा कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरेको जनाएको छ।

नेपालको संविधान तथा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ र नियमावली, २०७७ ले प्रत्येक बालबालिकाको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गरेको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो।

चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत वडा नं. ८ मा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका तर विद्यालयबाहिर रहेका, अध्ययन नगरेका वा बीचमै विद्यालय छाडेका बालबालिकालाई विद्यालयमा पुनः भर्ना गराई नियमित अध्ययनमा फर्काउने कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

कार्यक्रमअन्तर्गत विशेषगरी अभिभावकविहीन तथा अनाथ बालबालिका, अत्यन्त विपन्न तथा न्यून आय भएका परिवारका बालबालिका, मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारका बालबालिका तथा सुकुम्बासी र भूमिहीन परिवारका बालबालिकालाई लक्षित गरिएको छ।

यस्ता बालबालिकालाई विद्यालय भर्ना र नियमित अध्ययनका लागि प्रोत्साहनस्वरूप स्टेशनरी, झोला तथा विद्यालय पोशाक उपलब्ध गराउने व्यवस्था गरिएको छ। सुकुम्बासी तथा भूमिहीन परिवारका बालबालिकालाई राहत सहयोगसमेत उपलब्ध गराउने कार्यक्रम रहेको वडा कार्यालयले जनाएको छ।

वडा कार्यालयले लक्षित बालबालिकाका अभिभावक, संरक्षक, विद्यालय तथा सम्बन्धित सरोकारवालालाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन पेश गर्न आग्रह गरेको छ।

निवेदनका साथ वडा कार्यालयले तोकेको ढाँचाको निवेदन फाराम, बालबालिकाको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि तथा अभिभावक वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। आमा–बुबा दुवै नभएका बालबालिकाको हकमा मृत्युदर्ता प्रमाणपत्र वा अनाथ प्रमाणित हुने कागजात तथा भूमिहीन र सुकुम्बासी परिवारका बालबालिकाको हकमा वडा कार्यालयबाट उपलब्ध गराइएको निस्सा प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

वडा कार्यालयका अनुसार २०६१ साल वैशाख १ गतेदेखि हालसम्म जन्मिएका, आधारभूत तह उत्तीर्ण नगरी विद्यालय छाडेका र अभिभावकलाई पटक–पटक अनुरोध गर्दा पनि विद्यालय नगएका बालबालिकाका अभिभावकलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पठाउन आग्रह गरिएको छ।

यस व्यवस्थाअनुसार त्यस्ता बालबालिकाका अभिभावक सरकारी वा वडा कार्यालयबाट उपलब्ध गराइने सेवासुविधा लिन आउँदा आधारभूत तह अर्थात् कक्षा ८ उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने वडा कार्यालयले जनाएको छ।

वडा कार्यालयले उक्त व्यवस्था अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षासम्बन्धी कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन तथा विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले गरिएको जनाएको छ। व्यवस्थाबाट प्रभावित सेवाग्राहीले आवश्यक परेमा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा कानुनी उपचार खोज्न सक्ने सूचनामा उल्लेख छ।

विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान, अभिलेखीकरण, पुनः भर्ना तथा नियमित अध्ययनमा फर्काउने अभियानमा सहयोग गर्न वडा कार्यालयले शुक्लाफाँटा–८ का सामुदायिक तथा संस्थागत विद्यालय, अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा अन्य सरोकारवालालाई आग्रह गरेको छ।

शिक्षा बालबालिकाको मौलिक अधिकार भएकाले आर्थिक, पारिवारिक वा सामाजिक अवस्थाका कारण कुनै पनि बालबालिका आधारभूत शिक्षाबाट वञ्चित हुन नदिने उद्देश्यले स्थानीय स्रोत–साधन परिचालन गरिने वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष बहादुर सिंह महराले जारी गरेको सार्वजनिक सूचनाले विद्यालयबाहिर रहेका बालबालिकालाई पुनः विद्यालयमा फर्काउनेसँगै अभिभावकको जिम्मेवारीलाई समेत प्रभावकारी बनाउने प्रयास गरेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>