Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७८ चैत ०१ गते मङ्गलबार

गाैतमबुद्ध बिमानस्थल नियमित उडानकाे मिति ताेकियाे

हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ । 
यहाँ उडानका लागि कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
उक्त विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडीमुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले पनि तोकिएकै मितिमा विमानस्थल सञ्चालनमा ल्याउन मन्त्री आले लागिपरेका छन् । 
अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि विभिन्न कम्पनी सम्पर्कमा आएसँगै थप अध्ययनको कार्य सकेर उडान–अवतरणका लागि अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीपकुमार अधिकारीले बताए । उनले भने, “भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणका लागि केही हवाइ कम्पनी सम्पर्कमा आएका छन्, हामीले अध्ययन गरेर अनुमति दिने तयारी गरिरहेका छौँ ।” 
व्यावसायिक उडानका लागि केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल पब्लिकेसन इन्फर्मेसन’ समेत जारी गरिसकेको छ । उक्त विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ, कार्गो, क्याट्रिङलगायतको व्यवस्थापन गर्न बाँकी रहेकाले उक्त काम सकिने बित्तिकै उडान–अवतरणका लागि अनुमति दिइने प्राधिकरणले जनाएको छ ।
यसैगरी आवश्यक जनशक्तिको अभाव रहेका कारण केही काममा समस्या उत्पन्न भइरहेको उक्त विमानस्थलमा प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार उक्त विमानस्थलका लागि कूल १५१ जनशक्तिको दरबन्दी रहे पनि हाल ३६ जना मात्र छन् । विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक पर्ने जनशक्ति पठाउनसमेत मन्त्री आलेले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । अहिले उड्डयन प्राधिकरणको टोली सोही कामका लागि केन्द्रित भएको महानिर्देशक अधिकारीले जानकारी दए । उनका अनुसार विमानस्थलको सुरक्षालगायत अन्य कामका लागि नेपाल प्रहरीका कम्तीमा पनि १७० जना र नेपाली सेनाका १७० दरबन्दी रहेको छ । 
यो विमानस्थलमा कम्बोडिया, म्यानमार, श्रीलङ्कालगायत विभिन्न बौद्ध धर्मावलम्बी भएका मुलुकसँगै श्रमिक गन्तव्यमा उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीको सम्भावना उल्लेख्य रहेको प्राधिकरणले जनाएको छ । उक्त विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगमले छिट्टै आफ्नो कामको तयारी गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । उनका अनुसार ग्राउण्ड ह्याण्डलिङ तयारीका लागि निगमका प्राविधिक जनशक्ति भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन् ।

प्रतिक्रिया