Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७८ चैत ०३ गते बिहिबार

घरजग्गा किन्दै हुनुहुन्छ ? बैनाको कागज लेख्दा ध्यानदिनु पर्ने बुदाहरू।

घरजग्गा कारोबार जुन अनुपातमा बढ्दै गएको छ, त्यही अनुपातमा विवाद, झैझगडा, मुद्दामामिला पनि बढ्नु स्वाभाविकै हो । घरजग्गा किनबेचका लागि प्रक्रिया सुरु गरेपछि भविष्यमा कुनै पनि विवाद नआओस् भन्नेमा किन्ने बेच्ने दुवै पक्ष सचेत हुनुपर्छ । घरजग्गा किनबेचको प्रक्रिया बैना लेनदेनबाट सुरु हुन्छ । बैना लेनदेनको कागज बनिसकेपछि कारोबार पक्का भएकोमा दुवै पक्ष विश्वस्त हुन्छन् । बैना लेनदेनको कागज बनाइसकेपछि विक्रेताले पछि जालझेल गर्ने सम्भावना पनि कम हुन्छ । कागजात नगरी बैना रकम दिएमा पछि जालझेल हुँदा कानुनी उपचार खोज्न पनि पाइँदैन ।

बैना लेनदेनको कागज रीत नपुर्‍याई लेखिएमा यही नै विवादको जन्मिने कारण बन्न पुग्छ भने भविष्यमा कानुनी प्रक्रियामा जानुपर्ने भयो भने पनि रीत नपुगेको बैना कागजले मान्यता नपाउन सक्छ । त्यसैले बैना लेनदेनको कागज रीत पुर्‍याएर लेख्नु अति आवश्यक छ । बैनाको कागज तयार पार्दा निम्न कुराहरुमा ध्यान पुर्‍याउन बिर्सनु हुँदैन ।

  • बैना कागज लेख्दा निकै रित पुर्‍याएर लेख्नुपर्ने हुन्छ । एक ठाउँमा मात्र पनि चुकियो भने तमसुक कमजोर बन्छ । भोलि केही गरी बिक्रेताले घरजग्गाको राजिनामा पास गरिदिएन र बैना रकम पनि दिन इन्कार गर्‍यो भने कानुनी लडाईमा जानुपर्ने हुन्छ । कानुनी उपचार खोज्न जाँदा तमसुकमा आफु चुक्ने ठाउँ राख्न हुँदैन । त्यसैले चिनजानको भरपर्दो लेखनदासलाई तमसुक लेख्न लगाउँदा राम्रो हुन्छ ।
  • बैना रकमको तमसुक नेपाली कागजमा लेखिन्छ । सामन्यतया कानुनी कुराहरु नेपाली कागजमा लेख्नुपर्ने चलन छ । त्यसैले तपाईंले बैना गर्नुभन्दा पहिला ए-फोर साइजको नेपाली कागज किन्नुपर्छ । वा, तपाईंको लेखनदाससँग पनि नेपाली कागज हुन सक्छ ।
  • सकेसम्म भरपर्दो र चिनजानको व्यावसायिक लेखनदासलाई बैनाको कागज लेख्न लगाउनुपर्छ ।
  • तमसुक लेख्दा माथिपट्टि एक इन्च, बायाँपट्टि डेढ इन्च र पुछारमा १ इन्च ठाउँ (मार्जिन) छाडेर लेख्नुपर्ने हुन्छ ।
  • नेपाली कागजको एक साइडमा मात्र तमसुक लेख्नुपर्छ । कानुनी कुराहरु जहिले पनि नेपाली कागजको एक साइडमा मात्र लेख्ने गरिन्छ । पछिल्लो समय त बैना कागजको नमुना नै पाइन्छ । नमुनामा सम्बन्धित विवरण भरेमात्र पुग्छ ।
  • तमसुक लेख्दा कालो मसी प्रयोग गर्नुपर्छ । कालो नउड्ने खालको मसी प्रयोग गरेर लेख्दा बढी सुरक्षित भइन्छ । लेख्दा केरमेट पनि गर्नु हुँदैन । जहाँ केरमेट वा डब्लिएर लेखिन्छ, त्यहाँ हस्ताक्षर वा औंठाछाप लगाउन भुल्नुहुँदैन ।
  • कम्प्युटरमा तमसुकको नमुना टाइप गरेर नेपाली कागजमा प्रिन्ट गरी हस्ताक्षर वा औंठाछाप लगाउन पनि सकिन्छ ।
  • बैनाको तमसुक लेख्न सुरु गर्दा ‘लिखितम धनीका नाममा’ भनेर सुरु गर्नुपर्छ । र, जग्गा बिक्री गर्न लागेका व्यक्तिको तीन पुस्ता (हजुरबुवा, बुवा र जग्गाधनीको नाम) तमसुकमा लेख्नुपर्ने हुन्छ । अनि जग्गाधनीको स्थायी (नागरिकतामा उल्लेख) ठेगाना र हाल बसिरहेको ठाउँको विवरण पनि लेख्नुपर्छ ।
  • जग्गाधनीको तीन पुस्ते र ठेगाना लेखिसकेपछि उसको नागरिकता नम्बर र उसको उमेर उल्लेख गर्न भुल्नुहुँदैन ।
  • सबै कुरा लेखिसकेपछि जग्गाधनीले बिक्री गर्न लागेको जग्गाको स्थान, कित्ता नम्बर, क्षेत्रफल उल्लेख गर्नुपर्छ । जग्गाको क्षेत्रफल पहाडमा भए आना र रोपनीमा उल्लेख गर्ने चलन छ । तराईतिर धुर, कठ्ठा, बिघामा उल्लेख गर्ने चलन छ । आफ्नो ठाउँको चलनचल्ती अनुसार लेख्नुपर्ने हुन्छ ।
  • जग्गा बिक्री गर्नेको विस्तृत विवरण लेखिसकेपछि अब किन्ने मान्छेको विवरण उल्लेख गर्नुपर्छ । खरिदकर्ताको तीन पुस्ता (हजुरबुवा, बुवा र खरिदकर्ता) को नाम, स्थायी ठेगाना (नागरिकतामा उल्लेख), हाल बसिरहेको ठाउँ, नागरिकता नम्बर, उमेर उल्लेख गर्नुपर्छ ।
  • तमसुकमा खरिद-बिक्री गर्न लागेको जग्गाको प्रतिआना मूल्य (अंक र अक्षर) मा , जग्गाको क्षेत्रफलअनुसार कुल मूल्य (अंक र अक्षर) मा घरजग्गा खरिद गर्न फलानो व्यक्ति (खरिदकर्ताको नाम) सहमत भएको भनेर उल्लेख गर्नुपर्छ ।
  • तमसुकमा खरिदकर्ताले बैनाबापत दिएको रकम अंक र अक्षरमा लेखी बिक्रीकर्ता (घरजग्गाधनी) ले बुझिलिएको भनेर उल्लेख गर्नुपर्छ । तमसुकमा बैना रकम उल्लेख गरेपछि अब दिन बाँकी रकम पनि उल्लेख गर्नुपर्छ । बैना रकम चेकबाट दिइएको हो भने चेक नम्बर पनि लेख्दा राम्रो हुन्छ ।
  • तमसुकमा जग्गा कति दिनभित्र पास गर्ने सहमति भएको त्यो पनि उल्लेख गर्न भुल्नु हुँदैन । सामान्यतया बैना गरेको ३५ दिनभित्र घरजग्गाको कारोबार क्लियर गरी राजिनामा पास गरिदिने चलन छ ।
  • तमसुकमा उल्लिखित मितिमा जग्गा राजिनामा पास गरी नदिएमा यसै कागजलाई आधार मानी कानुनबमोजिक कारबाही होस् भनेर विक्रेताको तर्फबाट लेख्नुपर्ने हुन्छ ।
  • जग्गाधनी र खरिदकर्ताबीच अरु सर्तनामा भएका छन् भने ती पनि सबै उल्लेख गर्नुपर्छ ।
  • इति सम्वत लेखेर जुन दिन कागज गर्दै हुनुहुन्छ त्यो दिनको मिति स्पष्ट खुल्ने गरी लेख्नुपर्छ ।
  • पुछारमा जग्गाधनीको नाम लेखेर हस्ताक्षर गर्ने र दायाँ बायाँ औंठाछाप लगाउनुपर्छ ।
  • हामीले जुन ठाउँबाट तमसुक लेख्न सुरु गरेका छौं, त्यसको बायाँपट्टि जग्गाधनीको दस्ताखत गरेर दायाँ बायाँ औंलाको औंठाछाप लगाउनुपर्छ । जहाँ हामीले अंकहरु लेखेका छौं त्यहाँ पनि ल्याप्चे लगाएमा राम्रो हुन्छ ।
  • तमसुक लेख्दा साक्षी राख्न भुल्नु हुँदैन । तमसुक कागजको बायाँपट्टि खाली छाडिएको भागमा साक्षीहरुको तीन पुस्ते नाम, स्थायी र अस्थायी ठेगाना, उमेरलगायत लेखेर हस्ताक्षर गराउनुपर्छ । कम्तीमा दुईजनालाई साक्षी राख्नुपर्ने हुन्छ । बढी राख्दा झनै राम्रो ।
  • साक्षी बसेका व्यक्तिको नामभन्दा तल्तिर तमसुक लेख्ने व्यक्तिको नाम, ठेगाना लेख्नुपर्छ । कानुन व्यवसायीलाई तमसुक लेख्न लगाउनुभएको छ भने उसको नाम, ठेगाना र प्रमाणपत्र नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । मोबाइल नम्बर पनि उल्लेख गर्दा राम्रो हुन्छ । तपाईं आफै वा अरु कसैले लेख्दै हुनुहुन्छ भने लेखनदासको नाम, थर र ठेगाना अनिवार्य उल्लेख गर्न नभुल्नुहोला ।

अन्त्यमा, यो बैनाबट्टा कागज खरिद-बिक्री हुन लागेको जग्गा भएको वडामा गएर तमसुक दर्ता गर्नुपर्ने हुन्छ । यसो हुँदा बढी सुरक्षित मानिन्छ । वडामा दर्ता नगरेको खण्डमा भोलि जालझेल भएको खण्डमा अदालत जाँदा कानुनी रुपमा कमजोर भइन्छ । खरिदकर्ताले बिक्रीकर्तालाई वडामा लगेर त्यहाँको ढड्डामा तमसुकको विवरण उल्लेख गरी हस्ताक्षर र औंठा छाप लगाउन नभुल्नुहोला ।


#घरजग्गा

प्रतिक्रिया