Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर १० गते शुक्रबार

दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको दार्चुलाको जिल्ला कार्यसमितिको निर्वाचनपछि अध्यक्षका दुई प्रत्यासीका समूह बीच झडप भएको छ । जिल्ला प्रशासन र प्रहरी कार्यालय नजिकको मतगणनास्थल दार्चुला विकास संगठनको हल नजिक झडप भएको हो । 

सभापतिका उम्मेदवार ललितसिह बोहरा र अमरसिंह धामी पक्षका बीच झडप भएको हो । धामी पक्षका एक नेताका अनुसार बोहराको समूहले धामी पक्षधरहरुलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि झडप भएको हो ।

झडपमा धामी पक्षका केही कार्यकर्ताहरु घाइते भएका छन् । घाइते हुनेहरुमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, बसन्त बहादुर साउँदलगायत रहेका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यी तीन जना गम्भीर घाइते छन् । 

नेपाली कांग्रेस दार्चुलाको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमति जुटन नसकेपछि नेतृत्व चयनका लागि आज निर्वाचन भएको थियो । जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ जना नेताहरू चुनावी प्रतिस्पर्धामा छन ।

जिल्लाका प्रमुख नेताहरू नै चुनावी प्रतिस्पर्धामा भएकाले निर्वाचन प्रतिष्ठाको विषय बनेको छ । दिउँसो १२ बजेदेखि सुरु भएको मतदान ६ बजे सम्पन्न भएको थियो । कूल १ हजार ४२ मतदाता रहेकोमा ९ सय ५६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

पदाधिकारीसहित ४२ सदस्यीय जिल्ला कार्यसमिति र २५ जना महाधिवेशन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका ९ सय ५६ जनाले मतदान गरेका थिए ।

मत गणना सुरु हुने बेला दुबै पक्षका बीच झडप भएको हो । बोहरा पक्षलाई कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूको समर्थन छ । बडू रामचन्द्र पौडेल पक्षका हुन् । सभापतिका अर्का उम्मेदवार धामी विगतमा पौडेल पक्षमै रहेपनि यो पटक देउवा पक्षतर्फ खुलेका थिए । 

प्रतिक्रिया