Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दार्चुला
२०७९ असोज ०२ गते आइतबार

दार्चुलामा माेटरेबल पुलकाे साेमबार सिलान्यास गर्दै मन्त्री बडू ।

महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको छार्चुम जोड्ने गरी महाकाली नदीमाथि मोटरेवल पुल निर्माण हुने भएको छ । 

मोटरेबल पुल निर्माणको शिलान्यास सोमबार (भोलि) हुन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

नेपालतर्फ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले शिलान्यास गर्ने तयारी रहेको छ । भोलि विहान ११ बजे पुलको शिलान्यास गर्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा महाकाली नदीमाथि भारतसंग जोड्ने सात वटा झोलुंगे पुलहरु सञ्चालनमा रहेका छन् । दुई वटा पुलहरु निर्माणाधिन अवस्थामा रहेका छन् भने थप केही पुलहरु निर्माणका लागि पहल भइरहेको छ । तर मोटरेबल पुल नहुदा कनेक्टिभिटीमा कतिपय समस्याहरु कायमै रहेका छन् । मोटरेबल पुल नभएको कारणले गर्दाखेरि भारतसंगको कनेक्टिभिटीमा केही कमि महसुस भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

यसअघि पटकपटक महाकालीमा नेपाल भारत जोड्ने पक्की पुल निर्माणका लागि प्रकृया अघि बढेपनि निर्माण कार्य सुरु हुन सकेको थिएन । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पुल निर्माणको सर्भे भएर निर्माण कार्यको थालनी नहुदै टेण्डर रद्ध गरिएको थियो । त्यसपछि पनि पुल निर्माणको विषयमा पटकपटक दुई देशबिच छलफल भएपनि निर्माण कार्य अघि बढ्न सकेको थिएन ।

पछिल्लो समय गत महिना मात्रै पुल निर्माणको टेन्डर कार्य सम्पन्न भएको छ । यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई बलियो बनाउन तथा दुवैतर्फको समुदायबीच रहेको सम्बन्ध र सम्पर्कलाई थप मजबुत बनाउन भूमिका खेल्ने सरोकारवालाहरु बताउछन् । नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुंगे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ ।

भारत र चीनसंगको व्यापार वृद्धिकालागि महाकाली नदीमा मोटरपुल आवश्यक रहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुलाका साथै बैतडी र बझाङसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने मन्त्री बडूको भनाई छ ।

सुदूरपश्चिममा भारतसँग सीमा जोडिएको कञ्चनपुरपछि दार्चुलामा दोस्रो मोटरपुल निर्माण हुन लागेको हो ।

प्रतिक्रिया