Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ असोज ०९ गते आइतबार

हुलाकि सडक अलपत्र पार्ने ठेकेदारलाई म्याद थपेर मन्त्रीपरिषदले गर्याे पुरुस्कृत, काग्रेस जिल्ला सभापति भएकाेले कार्वाहि गर्ने निकाय निरीह भएकाे स्थानियकाे भनाई ।
फायल फाेटाे

निर्माण व्यवसायीको चरम लापरवाहीले कञ्चनपुर जिल्लामा निर्माणाधीन हुलाकी राजमार्ग अलपत्र परेको छ । तोकिएको समय गुज्रेपछि पटक–पटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न नहुँदा हुलाकी राजमार्ग अलपत्र परेको हो ।६२ किलोमिटर सडक ३० महिनाभित्र कालोपत्रे गरिसक्ने गरी पहिलो पटक सम्झौता गरिएकोमा ६५ महिना सम्म काम सम्पन्न भएकाे छैन ।

२०७३ फागुनमा निर्माण कम्पनी बाबाहंस सिद्धिकी शाही र शर्मा राजेन्द्र जेभीले हुलाकी राजमार्ग आयोजना कार्यालयसँग ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने गरी सम्झौता गरेका थिए ।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी पदम मडैले चार पटकको म्याद सकिएर पाँचौं पटक म्याद थप भएको जनाए । उनका अनुसार कञ्चनपुरको हुलाकी सडक तीन खण्डमा ठेक्का दिइएको थियो । पहिलो र तेस्रो खण्ड शर्मा राजेन्द्र जेभी र दोस्रो बाबाहंस सिद्धिकीले पाएको थियो ।

कैलाली सदरमुकाम देखि कंचनपुर सम्म दक्षिणि बेल्ट जाेड्न डाेके बजार  हुँदै पुर्नवास, बेलाैरि, बेल्डाडि र  बेतकाेटकाे दैजि सम्म जाेड्ने उद्देश्यले सडक निर्माण सुरु भएकाे थियाे ।

सूचना अधिकारी मडैका अनुसार डोकेबजारदेखि बेलौरीसम्म पहिलो खण्ड ०–२० किलोमिटर र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दैजीखण्डको ४०–६२ गरी ४२ किलोमिटर लामो सडक कालोपत्रेका लागि शर्मा राजेन्द्र जेभी कम्पनीले ठेक्का पाएको थियो ।

हुलाकी राजमार्ग आयोजना र शर्मा राजेन्द्र जेभीबीच २०७३ फागुन १ गतेदेखि २०७५ भदौ ३० गतेसम्म सडक कालोपत्रे गर्ने सम्झौता भएको हो । तर, सम्झौता अनुरुप काम नसक्दा पहिलो पटक २०७६ चैत ३० गतेसम्म म्याद थपियो । उक्त अवधिमा समेत काम सम्पन्न नभएपछि दोस्रो पटक २०७७ साउन ४ गतेसम्म, तेस्रो पटक २०७७ माघ २ गतेसम्म र चौथो पटक २०७८ चैत ३० गतेसम्म थपिएको हो ।

थपिएका चारै पटकको समयमा काम गर्न नसक्दा निर्माण कम्पनीले पाँचौं पटक म्याद थपका लागि फाइल पेस गरेको थियो । तर पटकपटक म्याद थपका बाबजुद काम सम्पन्न नगरेको निर्माण कम्पनीलाई नै पुरस्कृत गरेजसरी सरकारले पाँचौंं पटक म्याद थप गरेको छ । मन्त्रिपरिषदको निर्णयले ती निर्माण कम्पनीलाई २०८० असार मसान्तसम्मका लागि म्याद थप गरेको आयोजना कार्यालयका सूचना अधिकारी मडैले जानकारी दिए ।

दोस्रो खण्डको बाबाहंस सिद्धिकी शाहीले बेलौरीदेखि (२०–४०) बेलडाँडीसम्म कुल २० किलोमिटर कालोपत्रे जिम्मा पाएकोमा ३० महिनामा पनि काम गर्न नसकेपछि हाल पाँचौं पटक म्याद थप गरिएको छ । २० किलोमिटर कालोपत्रेका लागि यस कम्पनीले ६५ महिना गुजारिसकेको छ ।

बाबाहंस सिद्धिकीशाहीले सम्झौता अवधिमा काम गर्न नसकेपछि पहिलो पटक २०७७ वैशाख १२ गतेसम्म, दोस्रो पटक २०७७ मंसिर ७ गतेसम्म, तेस्रो पटक २०७८ जेठ ७ गतेसम्म र चौथो पटक २०७८ माघ १ गतेसम्म म्याद थप भएको थियो । चार पटक म्याद थप गर्दा समेत काम गर्न नसकेपछि पाँचौं पटक म्याद थप भएको हो । हाल उक्त खण्डको प्रगति ७५ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

कुल ६२ किलोमिटर सडककाे ५५ प्रतिशतमात्रै प्रगति भएको बताइएको छ । गत असारमा चार–चार पटकको म्याद थप गर्दा समेत समयमै काम गर्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजनाले निर्माण कम्पनीविरुद्ध सूचना नै प्रकाशित गरेको थियो । तर शक्ति केन्द्र नजिकका ती ठेकेदारहरुको अगाडि आयोजना कार्यालय निरीह देखिएको छ ।

शर्मा राजेन्द्र जेभीका सञ्चालक भीम साउद नेपाली कांग्रेस डडेल्धुराका जिल्ला सभापति एवं परशुराम नगरपालिकाका निर्वतमान मेयर हुन् । बाबाहंस सिद्धिकी शाहीका सञ्चालक दीपेन्द्र बहादुर शाही नेपाली कांग्रेस डोल्पा जिल्ला सभापति हुन्

कञ्चनपुर र कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयको दैनिकीमा सहजता आउने छ । यो सडक निर्माणले कैलाली र कञ्चनपुरको आर्थिक विकासमा ठूलो टेवा पुग्ने भए पनि निर्माण कम्पनीको ढिलासुस्तीले यस क्षेत्रका नागरिक सास्ती खेप्न बाध्य छन् ।

सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनता वर्षौंदेखि कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बेलौरी नगरपालिका–९, भुडाका हरिश पन्तले सडक समयमा नबन्दा वर्षाका बेला डुबान, हिलाम्य र सुक्खायाममा धुलाम्मे सडकले स्थानीयलाई समस्या हुने गरेको, धुलाे याममा धुलाेकै कारण कतिपय स्थानिय बिरामि समेत भएकाे बताए ।

बेलडाँडी गाउँपालिका–१ का स्थानीय चेत बहादुर शाहले प्रधानमन्त्रीकै पार्टि का जिल्ला सभापति भएका कारण कार्वाहि नहुने निश्चित भएपछि ठेकेदारहरुले मनमर्जि गरेकाे बताए ।

बेलाैरि बजारका हुलाकि सडक संगै पसल रहेका धनेश पन्तले पार्टिका नेताहरु आफै ठेकेदार भएका कारण कार्वाहि गर्ने कार्यालय निरीह भएकाे र कार्वाहि गर्न नसकेकाे बताए, कार्वाहि हुनुपर्ने ठेकेदार उल्टै पुरुस्कृत हुनथालेपछि किन काम गर्छन आफ्नाे मर्जि अनुसार चल्दछन । जनताले सडकका कारण दैनिक दुख पाईरहेकाे बताए ।

बाबाहंस सिद्धिकीका सञ्चालक चक्र शाहीले बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोभिडका कारण काममा ढिलाइ भइरहेकाे भने तर भारतीय पक्षले सो क्षेत्रको १२ सय मिटरमा मात्रै अवरोध गरेपनि बाँकी १८ किलोमिटरमा अवरोध छैन ।

शर्मा राजेन्द्र जेभी निर्माण कम्पनीका इन्जिनियर रोशन भट्टकाे
९८०१७१५५१० माेवाईलमा फाेन गर्दा फाेन उठाएनन ।

आयोजना कार्यालयले निर्माण कार्यमा हाल कुनै अवरोध नरहेको स्पष्ट पारेको छ । ६२ किलोमिटर सडक कालोपत्रेका लागि कूल १ अर्ब १७ करोड लागत छ । सम्झौताको ५० प्रतिशतभन्दा बढी रकम भुक्तानी भइसकेको आयोजना कार्यालयले जनाएको छ । 

प्रतिक्रिया