Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक २७ गते आइतबार

दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा दुई जना घाइते भएका छन्। नौगाड गाउँपालिका– ६ स्थित खेडमा प्रचारप्रसारमा खटिएका सत्तागठबन्धन दलका कार्यकर्ता र नौगाडको जामिरमा आमसभामा गरिरहेका एमाले कायर्कर्ताबीच झडप भएको हो।

झडपमा परी नौगाड गाउँपालिका– ६ का गठबन्धनका ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका– ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

‘दिउँसो चुनावी प्रचारप्रसारको क्रममा गठबन्धन र एमालेका कार्यकर्ताबीच सामान्य झडप भएको हो,’ उनले भने, ‘ठगुन्नालाई सामान्य चोटपटक लागेको छ भने धामीलाई धनगढी रिफर गरिएको सूचना आएको छ।’

एमालेको चुनावी सभालाई अवरोध गर्ने गरी आमसभामा जाने कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको एमालेको नौगाड गाउँपालिका कमिटीका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए।

गठबन्धनका नेताले भने एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको बताएका छन्। घाइतेमध्ये जयभानसिंहको टाउकोमा चोट लागेको छ।

उनको टाउकोको सिटिस्क्यानका लागि धनगढी रिफर गरिएको गोकुलेश्वर अस्पतालका डाक्टर पूजा बमले बताइन्। चोट सामान्य भए पनि चेकअपका लागि रिफर गरिएको बताइएको छ।

प्रतिक्रिया