Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख ०१ गते शुक्रबार

सुदुरपश्चिम बिसु, पुत्ला खेल्ने र नयाँ वर्षकाे उल्लास ।

नयाँ वर्ष वि.सं. २०८० सालको आज पहिलो दिन वैशाख १ गते । सुदूरपश्चिमका पहाडी समुदायले विसु पर्व मनाउँदै छन् । हरेक वर्ष बैशाख एक गतेलाई सुदूरपश्चिमेलीहरूले विसु पर्वका रूपमा मनाउने गर्छन् । खास गरी सुदूरपश्चिमका पहाडी ७ जिल्ला र यिनै जिल्लाबाट कञ्चनपुर र कैलाली बसाई सरी आएकाहरूले पनि नयाँ वर्षलाई विसु पर्वका रूपमा मनाउने गर्दछन् ।

विसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन पनि रहेको छ । एकापसमा सिस्नु लगायो भने सबै विष नष्ट हुन्छ भन्ने जनविश्वास भएकोले यसो गरिने स्थानीय बताउँछन् । यो पर्वमा विशेष गरेर देवर–भाउजूले सिस्नो लगाउने गर्दछन् । तर पछिल्लो समयमा यो प्रचलन लोप हुँदै गएको छ । स्वास्थ्यका दृष्टिकोणले पनि सिस्नु अत्यधिक मात्रामा भिटामिन ए भएको र यसको नियमित सेवनले पत्थरीको रोगबाट समेत मुक्ति जन विश्वास पाइन्छ । 

यस्तै सुदूरपश्चिमकै डोटी, अछाम, बझाङ र बाजुरामा आज पुत्ला खेल्ने बिसुलोडा चलाउने परम्परा रहेको छ । नयाँ वर्षमा कसैलाई रोग नलागोस्, शरीरमा भएका सबै विषहरू नष्ट होउन् भनेर विसुलोडा चलाउने परम्परा रहेको छ । यो समयमा सुदूरपश्चिमेलीहरूका घरघरमा लिपपोत तथा रंगरोगन गरी घर तथा विभिन्न शक्ति पीठहरूमा पनि पूजाआजा गरिन्छ । पढाइ तथा रोजगारको सिलसिलामा देशका अन्य सहर तथा विदेश गएका सुदूरपश्चिमेलीहरू विसु पर्व मनाउन कै लागि घर फर्किएपछि सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा विसुको चहलपहल बढेको छ । 
नेपाल सरकारले नयाँ वर्षको अवसरमा सार्वजनिक बिदा दिने गरेको छ ।


#विशु पर्व

प्रतिक्रिया