Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार १७ गते आइतबार

अनाथालयकाे अध्यक्षमा जाेशी, यस्ताे छ समिति ।

समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरको कार्यसमिति अध्यक्षमा दयाकृष्ण जोशी चयन भएका छन् ।

शनिवार भएको अनाथालयको ११औं साधारणसभाबाट जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा हिरा चन्द, सचिवमा लवराज भट्ट, कोषाध्यक्षमा विजया लक्ष्मी अवस्थी चयन भएका छन् । सदस्यहरू गंगाप्रसाद खरेल, भगवती थापा, लक्ष्मीदेवी बोहरा, भुवन कुवँर केसी, प्रेमराज अर्याल, दिनेश मल्ल र राकेशबहादुर चन्द चयन भएका छन् ।

अध्यक्ष पूर्णबहादुर चन्दको अध्यक्षतामा भएको साधारणसभामा पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रकाशबहादुर रावल प्रमुख अतिथि थिए भने प्रदेशसभा सदस्य मधु भारती र जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहरा विशिष्ट अतिथि थिए ।

साधारण सभामा संस्थाका संस्थापक स्व. मदन चन्दलाई मरणोपरान्त कदरपत्रले सम्मान गरिएको छ । सम्मानपत्र उनकी पत्नी तथा सुपुत्रहरूले ग्रहण गरेका छन् ।

साधारण सभाबाट संस्थाका आजीवन सदस्यहरूलाई आजीवन सदस्यता वितरण गरिएको छ भने दानदाताहरूलाई प्रशंसापत्र वितरण गरिएको छ । अनाथालयका लागि अक्षयकोष स्थापना गरिएको र अक्षयकोषका दानदाताहरूलाई पनि प्रशंसापत्रद्वारा सम्मान गरिएको नवनिर्वाचित सचिव लवराज भट्टले जानकारी दिए । अनाथालयको अक्षयकोषमा ५५ हजार रुपैयाँ सहयोग गर्ने प्रमुख अतिथि रावलले घोषणा गरे ।

साधारण सभाले सल्लाहकार समिति समेत बनाएको छ । सल्लाहकारमा पूर्णबहादुर चन्द, नारद पाण्डे, लिलाध्वज बस्नेत, चित्राङ्ग थापा, डा. भोजराज पन्त, ई. धनसिंह बडाल लवदेव पाण्डे, कमला सापकोटा, सुशीला चन्द चयन भएका छन् ।


#अनाथालय

प्रतिक्रिया