Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० भदौ १० गते आइतबार

वडिमालिका तिर्थयात्रा आजबाट सुरु, यस्ताे छ विश्वास

सुदूरपश्चिमको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकाको तीर्थयात्रा सुरु भएको छ। तीर्थयात्रा सुरु भएसँगै पूजाका लागि बाजुराको सरकारी टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको हो।

प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको लगायतको टोली बिहानै सदरमुकाम मार्तडीबाट पूजा सामग्रीसहित बडिमालिकाका लागि प्रस्थान गरेको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले जानकारी दिए।

हरेक वर्ष शुक्ल चतुर्दशीका दिन लाग्ने बडीमालिकाको मेलाका लागि मेला लाग्नुभन्दा चार दिन अघि नै तीर्थयात्रीहरु प्रस्थान गरिसकेका छन्। बडीमालिकामा रहेका २२ पाटन, त्रिवेणि र खेतीपाती लगायतका रमणीय ठाउँको मनोरम दृश्यको अवलोकनसँगै बडिमालिकामा दर्शन गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वासले बाजुरा लगायत देशभर तथा भारतबाट समेत तीर्थयात्री बडीमालिका जाने गरेका छन्।

बडीमालिकाको दर्शनपछि धन लाभ हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने लगायत धार्मिक विश्वास रही आएको बडीमालिकाका पुजारी भानुभक्त पाध्यायले बताए। पुजारी पाध्यायका अनुसार बडीमालिका माता शक्तिका रुपमा बरदान दिने भएकाले देश तथा विदेशबाट आउने दर्शनार्थीको भिड लाग्ने गरेको छ।

बडीमालिकामा बाजुरा, डोटी, जुम्ला र कालिकोटबाट पूजा सामग्री सहित सरकारी टोली जाने गरेको छ। बाजुरामा हरेक वर्ष शुक्ल चतुर्दशीका दिन बडीमालिका, बुढीनन्दा, बडालेख, दुनलेखसुनन्दा लगायतका शक्तिपीठहरुमा एकै दिन पूजा लाग्ने गरेको छ। धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी आन्तरिक पर्यटकको गन्तव्यका रुपमा जिल्लालाई स्थापित गर्न यी शक्तिपिठ हरूको महत्त्वपूर्ण भूमिका रहेको छ।

प्रतिक्रिया