Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असोज ०२ गते मङ्गलबार

आज रिषि पन्चमि मनाईदै, यस्ताे छ मान्यता चलन परम्परा

भाद्र शुक्ल पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको छ । यो पञ्चमी तीज पर्वको अन्तिम दिन हो । शस्त्रअनुसार रजस्वला भएका महिलाहरूले रजदोष निवारणका लागि ऋषिहरूसँग गरिने क्षमा प्रार्थना हो । रजस्वला भएको समयमा गर्भ रहन गएमा गर्भको शिशु अस्वस्थ हुने वा अपाङ्ग हुने र आमा पनि कमजोरी हुने हुनाले यसो भनिएको हुन सक्छ । यसरी छुट्टै बस्ने अवधारण रहेको अवस्थामा पनि  अन्जानवश कसैलाई छोइए त्यसको दोष लागेको हुन सक्छ । उक्त दोषबाट मुक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा अपामार्ग (दतिवन) टोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनुपर्छ भनिएको छ । यसको मतलब ज्यादै नै शुद्धतालाई जोड दिएको पाइन्छ ।

यो पर्वको सांस्कृतिक कथन र महिलाहरूले रजदोषका बारेमा ऋषिहरू समक्ष क्षमा प्रार्थना गर्ने अरू धेरै प्रसङ्ग हुन सक्छन् । त्यसमध्ये प्रतिनिधिमूलक एउटा प्रसङ्ग यस्तो छ : 

शिव महापुराणमा उल्लेख भए अनुसार सन्ध्या, ब्रह्माजीकी एक मात्र मानस पुत्री, रजदोषका कारण चन्द्रभाग नदीकिनारमा तपस्या गर्न गइन् । ब्रह्माले तपस्यामा सघाउन वशिष्ठ ऋषिलाई अह्राए । सन्ध्या तपस्याबाट ब्रह्मलिन भइन् र पुनर्जन्म हुँदा उनको नाम अरुन्धती भयो रे । सूर्यदेव र संज्ञाबाट शिक्षादीक्षा प्राप्त गरिन् । शिक्षादीक्षाका क्रममा शिवजीबाट चारवटा वरदान पाइन् । 

तिनै वरदानका क्रममा वशिष्ठसँग विवाह भयो । पूर्वजन्ममा पनि रजदोषका कारण तपस्या गर्नु परेको हुनाले अरुन्धतीले यस जन्ममा पनि रजदोष निवारणका लागि सप्तऋषिसँग क्षमा प्रार्थना र पूजा गरिन् भन्ने पाइन्छ । सप्तऋषिहरूले भाद्र शुक्ल पञ्चमीका दिन अरुन्धतीको आग्रहलाई स्वीकार गरे र अब उप्रान्त जगतमा आफुहरूसँगै अरुन्धतीको पनि पूजा आराधना हाेओस् भन्ने वरदान दिए भन्ने पाइन्छ । यसैले सोहीबमोजिम आजसम्म सप्तर्षिहरूसँगै अरुन्धतीको पनि पूजा गरिन्छ । सप्तर्षिको पूजा गर्दा निम्न श्लोकको स्तुति गाइन्छ ।  

सप्त ऋषिस्तुति : ॐ वशिष्ट, कष्यपो अत्रि, जमदग्नि च गौतम । विश्वामित्र भारध्वज सप्तर्षि च रुन्धती ।

यसैले ऋषिपञ्चमीमा अरुन्धतीले गरेको रजदोष निवारण गरेको सम्झनामा उनै अरुन्धतीसहित सप्तर्षिको पूजा आराधना गर्ने परम्परा रहिआएको पाइन्छ ।  

प्रतिक्रिया