Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० मङि्सर २० गते बुधबार

आजियाटाले पठायाे दुरसंचारलाई पत्र यस्ताे छ उल्लेख

एनसेल आजियाटाले  शेयर खरिद बिक्रीमा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ ।  एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई जवाफी पत्र पठाउँदै नेपालको कानूनको पालना गर्न प्रतिबद्ध रहेको जनाएको हो । 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियाटाको जवाफ प्राप्त भएको भन्दै एनसेल खरिद बिक्रीमा कम्पनीले नेपालको  कानून पालन गर्न तयार रहेको उल्लेख गरेको बताए । 

मंसिर १५ गते  शेयर खरिद बिक्रीको पूर्व स्वीकृति नदिई एनसेल आजियाटा बिक्री भएको खुलासा भएपनि प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था स्मरण गराएको थियो । 

‘दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशत भन्दा वढी शेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणका उपनिर्देशक सुन्दर प्याकुरेलको हस्ताक्षरमा एनसेल आजियाटालाई पठाएको पत्रमा भनिएको थियो ।

प्रतिक्रिया