Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ कार्तिक ३० गते मङ्गलबार

महेन्द्रनगर । भारतबाट चोरी गरेर ल्याइएका सुनका गरगहना र लाखौं नगद रकमसहित प्रहरीले सोमवार राती २ जनालाई पक्राउ गरेको छ । भारतीय प्रहरीको सूचनाका आधारमा बेलौरीका २ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको हो । बरामद गरिएका सुन, चादीलगायत सबै सामाग्री करोडौ मूल्यको भएको र पहिचानका लागि प्राबिधिक बोलाएर काम भइरहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुन, गरगहना र नगदसहित बेलौरी नगरपालिका–१ पटैयाका लालबहादुर शाही र विष्णु शाहीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले बताए ।

‘भारतीय प्रहरीले दिएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘उनीहरुले चोरी गरेर ल्याएको सुन, गरगहना र नगद बरामद गरिएको छ ।’ घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । 

बरामद गरिएको सामाग्रीको सूची तयार भइरहेको छ । ‘करिब करोडौंको सामान छ, सुन र गरगहनाको मूल्य अनुमान गर्न विज्ञहरुलाई बोलाएका छौं,’ उनले भने । 

उनीहरुले भारतको ब्याङलोरबाट गरगहना, नगद र सुन चोरी गरेर नेपाल ल्याएका थिए । त्यहाँका एकजना व्यापारीका घरमा काम गर्ने बेलौरीका ती दुईजनाका बारेमा सशस्त्र प्रहरीलाई खबर आएको थियो । सशस्त्र प्रहरीका एसपी बीरेन्द्र ऐरले त्यसपछि नेपाल प्रहरीलाई खबर गरी घरमै छापा मारेको बताए ।

‘ह्वाटअपमा खबर आएको थियो । हामी हिजो दिउसैबाट खोजिरहेका थियौं । पटैया इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको नजिक पर्ने भएकाले साथमै लगेर छापा मारेका हौं,’ उनले भने ।

प्रतिक्रिया