Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० चैत १० गते शनिबार

बिदा र कार्यालय समयमा बैठक भत्ता नलिन अख्तियारकाे निर्देशन, स्वास्थ्यले गर्याे निर्णय ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयभित्र बस्ने बैठकहरुमा सहभागी सरकारी पदाधिकारी र कर्मचारीलाई भत्ता दिने काम रोक्न निर्देशन दिएको छ । आयोगले बिदा वा काजमा रहेको अवधिमा कार्यालयको बैठक वा अन्य निर्णय प्रक्रियामा सहभागी हुने र बैठक भत्ता लिने कार्य रोक्न समेत निर्देशित गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सरकारी कार्यालयहरुमा अनावश्यक बैठक बस्ने र भत्ता लिने प्रचलन छ । भत्ताकै लागि बैठक बसाल्ने र कार्यालय समयभित्र कार्यालयको कामभन्दा यस्ता बैठकमा सहभागी हुने विकृति हरेकजसो सरकारी निकायमा छ । अझ कार्यालय समय सकिएपछि पनि अनावश्यक बैठक बसाल्ने गरिएको छ ।
कार्यालय समयभित्र नियमित कामकाज र छलफलका लागि बस्ने बैठकमा समेत भत्ता बाँड्ने विकृति पनि छ । बिदामा बसेका कर्मचारीहरु बैठक भत्ता बुझ्नका लागि बैठकहरुमा जाने गरेका छन् । बैठक भत्तामा देखिएका यस्ता विकृति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने गरेको छ ।
यसकै आधारमा अख्तियारले त्यस्तो कार्य नगर्न/नगराउन भन्दै सबै मन्त्रालय र निकायहरुलाई भनेको छ । कार्यालय सञ्चालन भएको दिन र कार्यलय समयमा पनि कार्यालय समय भन्दा फरक बिहान/बेलुका समय उल्लेख गरी बैठक भत्ता लिने कार्य नगर्न नगराउन पनि पत्रमा भनिएको छ ।
स्वास्थ्य मन्त्रालयले अख्तियारको निर्देशनअनुसार सचिवस्तरीय निर्णय मार्फत मातहतका निकायमा परिपत्र गरिसकेको छ । मन्त्रालयले यस्तो परिपत्रको बोधार्थ अर्थले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि दिएको छ ।

 


#बैठक भत्ता

प्रतिक्रिया