Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० असार २७ गते बुधबार

परीक्षा दिन हिडेका बालक ट्रकले किच्दा बाटाेमै अस्ताए ।

रूपनी गाउँपालिका–१ बस्ने १२ वर्षीय मो. रहमान मंगलबार सबेरै परीक्षा दिन विद्यालय हिँडे । बिहान करिब ६ बजेतिर उनी रूपनी चौकस्थित मधेस प्रदेश प्रहरी जोगेन्द्र–ठाकोदेवी अस्पताल नजिक पुगे । साइकल चढेर विद्यालय जाँदै गरेका उनलाई अचानक पछाडिबाट आइरहेको को१प १०८४ नम्बरको मालवाहक ट्रकले ठक्कर दियो ।

तीव्रगतिमा गुडिरहेको ट्रकले ठक्कर दिँदा उनी त्यहीँ ढले । उनलाई तत्कालै स्थानीय र प्रहरीले उद्धार गरी ३ किलोमिटर टाढा अवस्थित युनिक अस्पताल पु¥याए । त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहका अनुसार उपचारकै क्रममा उनको मृत्यु भयो । रहमान खोक्सरस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा ७ मा अध्यनरत थिए ।

परीक्षा परेकाले एकबिहानै बुबा मो. अली र आमा जहिदासँग आशीर्वाद लिई उनी विद्यालयका लागि हिँडेका थिए । तर, उनी विद्यालयसम्म नपुग्दै बीचबाटोमै दुर्घटनामा परे । डीएसपी सिंहले ठक्कर दिने ट्रक र चालक मोरङको बुढीगंगा गाउँपालिका–३ बस्ने ३६ वर्षीय रामबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको जानकारी दिए ।

बालकलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गतको रूपनी खण्डमा आवागमन अवरुद्ध पारेका थिए ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्की, गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवलगायतको पहलमा दिउसो ३ः३० बजेतिर आवागमन सुचारु गरिएको प्रहरीले जनाएको छ ।

चालकलाई कानुनबमोजिम कारबाही गर्ने तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिने सन्दर्भमा भोलि (बिहीबार) गाउँपालिकाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा मृतकका आफन्त समेतलाई राखी बैठक बसी आवश्यक निर्णय लिने सहमति भएको गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया