Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० साउन ३० गते मङ्गलबार

भिमदत्त राजमार्ग भएन पुर्ण सुचारु, पहाडमा दैनिक उपभाेग्य सामान अभाव तरकारि कुहिदै ।

गत सोमबार राति आएको पहिरोले अवरुद्ध अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा सकस भएको छ । राजमार्ग अझै नियमित सञ्चालनमा आउन सकेको छैन । बुढीतोलामा रोकिएका ट्रक, ट्याक्टरलगायत केही खाली सवारी साधनलाई पहिरो पार गराइएको थियो । राजमार्ग आंशिकरुपमा सञ्चालन भए पनि बेलाबेला यातायात अवरुद्ध हुने गरेको छ ।

निरन्तर वर्षा भइरहेकोले राजमार्ग सुचारु गर्न समस्या भइरहेको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । निरन्तरको वर्षाका कारण ससानो पहिरो र हिलो माटो खस्ने क्रम नरोकिएकाले पनि समस्या भएको सडक डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले बताए । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा गत सोमबार राति गएको पहिरोका कारण राजमार्ग अवरुद्ध छ ।
    आंशिकरुपमा सञ्चालन भएको राजमार्ग सोमबार दिउँसो रुख ढलेर पुनः अवरुद्ध भएको छ । पहिरो गएको क्षेत्रभन्दा करिब दुई सय मिटर नजिक रुख ढलेर राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । रुख हटाए पनि पहिरो खस्ने र गाडीहरु हिलोमा फस्ने गरेको प्रहरीले जनाएको छ ।

सडक डिभिजन कार्यालयले राजमार्ग सहजरुपमा सञ्चालन हुन अझै केही समय लाग्ने बताएको छ । पहिरोले करिब चार सय मिटर सडक क्षतिग्रस्त बनेको छ । त्यसमध्ये सय मिटर सडक पुरै बगेको छ । पहिरो पन्छाए पनि बगेको ठाउँमा ट्रयाक खोल्न समस्या भइरहेको सडक डिभिजनले जनाएको छ ।
    आंशिकरुपमा यातायात सञ्चालन भए पनि भारवहन सवारी साधन सञ्चालन हुन सकेका छैनन् । सडक डिभिजन कार्यालयले दैनिक चार÷पाँच डोजर लगाएर पहिरो पन्छाउने प्रयास गरिरहेको छ । लामो समयसम्म राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । 

तराइबाट पहाडी जिल्लामा खाद्यान्नलगायत बस्तु ढुवानी हुन सकेको छैन । त्यस्तै पहाडी जिल्लाबाट तरकारीको आयात रोकिएको छ । भीमदत्त राजमार्ग सुदूरपश्चिमको तराइ र पहाडी जिल्ला जोड्ने लाइफलाइनका हो । वैकल्पिक मार्ग नहुँदा नागरिकले सास्ती खेप्नु परेको छ ।  
    राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुका साथै मालसामान ढुवानीमा रोकिएको हो । यसले पहाडी जिल्लामा उपभोग्य बस्तुको अभाव हुन थालेको छ । त्यस्तै पहाडी जिल्लामा उत्पादित तरकारी तराइका बजारमा पठाउन नसक्दा किसानको बारीमै खेर जान थालेको छ ।

प्रतिक्रिया