Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० मङि्सर १० गते आइतबार

लोक सेवा आयोगले अनियमित तरिकाले परीक्षा दिने ४५ जनाविरुद्ध कारबाही गरेको छ । आर्थिक वर्ष २०७९÷२०८० को प्रतिवेदमा योग्यता नपुगी परीक्षामा सामेल हुने, अरूको कपी लिई नक्कल गर्ने, चिट चोर्नेलगायत अनियमितता गर्नेलाई लोकसेवा आयोगले ३ वर्षसम्म लोक सेवाले लिने परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ ।

यसरी कारबाहीमा पर्नेमा निजामती सेवातर्फ १३ जना र सुरक्षा निकाय तथा संगठित संस्थातर्फ परीक्षा दिने ३२ जना रहेको लोकसेवा आयोगले जनाएको छ । परीक्षा दिएको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता नभएका ३ जना, उत्तर पुस्तिका नबुझाई साथमा लिई गएका ३, अरूको उत्तर पुस्तिका लिई नक्कल गरेका १, अरूलाई उत्तर पुस्तिका सार्न दिएका १, उत्तर पुस्तिका च्यातेका २ र मूल उत्तर पुस्तिकामा नभई थप उत्तर पुस्तिकामा मात्र उत्तर लेखेका १ जनालाई आयोगले कारबाही गरेको छ । त्यसै गरी दरखास्त फाराम नै नभरी लिखित परीक्षा दिएका १ जना पनि कारबाहीमा परेको छ ।

त्यसै गरी आयोगले शौचालयबाट फर्कदा खल्तीमा चिट भेटिएका, मोबाइलबाट चिट चोरेका, उत्तर पुस्तिका घरमा लगेर फेरि लोक सेवा आयोगमा फिर्ता ल्याएको जस्ता कार्य गरेकालाई कारबाही गरेको जनाएको छ । यसमा लोक सेवा आयोगले सबैभन्दा बढी अर्कोको उत्तर पुस्तिका सार्नेलाई तीन वर्षसम्म लोक सेवाले लिने कुनै पनि परीक्षामा भाग लिन नदिने कारबाही गरेको छ । अन्यको हकमा भने सामान्य १ वर्ष परीक्षामा सामेल हुन नदिने कारवाही गरेको छ । यसरी परीक्षामा अनियमितता गर्ने परीक्षा केन्द्रमा भने तराईका जिल्ला अग्र स्थानमा देखिएका छन् ।

त्यसै गरी आर्थिक वर्ष २०७८÷७९ मा नेपाल प्रहरीको परीक्षामा २७ पुरुष र ३ महिला गरी जम्मा ३० जनाले अनियमितता गरेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसमा सबैभन्दा बढी १९ जना नक्कली परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । यसै गरी चिट चोरेका र इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेका ५÷५ जना कारबाहीमा परेका छन् । यस्तै, एक जनाले उत्तर पुस्तिका नबुझाई आफैंसँग लिएर गएका थिए । यसमध्ये ३ जनालाई ५ वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गरिएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

प्रतिक्रिया