Samriddhipost
२०८१ जेठ ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०७८ फागुन ०५ गते बिहिबार

अशक्तमैत्री घर कसरी बनाउने ? युनिभर्सल डिजाइन कस्तो हुन्छ ? यी हुन् सुविधाहरु

तपाई हामी नेपालीहरु आफ्नो सपनाको घर बलियो होस्, अरुको भन्दा सुन्दर होस् भन्‍ने चाहना राख्छौं । र, घर बनाउँदा वर्तमान आवश्यकतालाई मात्र हेर्छौं । हामीलाई घर १०० बर्षसम्म टिकोस् भन्‍ने लाग्छ, तर त्यतिबेलासम्म चाहिने आवश्यकताहरु पहिचान गर्नेतर्फ ध्यान दिँदैनौं । 

समय परिवर्तनशील हुन्छ । समय सधै एकनास चल्दैन । समय बित्दै जाँदा हाम्रो पनि शारिरिक तथा मानसिक आवश्यकताहरु पनि परिवर्तन हुँदै जान्छन् । बच्चाको आवश्यकतासँग ठुलो मान्छेको आवश्यकताले मेल खाँदैन । आज हृष्‍टपुष्‍ट र बलियो मान्छे भोली अशक्त हुन सक्छ । अशक्त मान्छेको सहज बसाइका लागि घरमा सोही अनुरुपको पूर्वाधार चाहिन्छ ।

त्यसैले घर बनाउँदा सबैको आवश्यकता र सहजतालाई मध्यनजर गर्नुपर्छ । लामो समय टिकोस् भनेर बनाइने घर दीर्घकालसम्म उपयोगी पनि होस् भन्‍ने सोँच्‍नुपर्छ ।

घर बनाउँदा पछिसम्म आफ्नो शारीरिक, मानसिक क्षमतालाई पनि ध्यानमा राखेर बनाउने शैलीलाई युनिभर्सल डिजाइन भनिन्छ । फरक क्षमता भएका व्यक्तिहरुका लागि सहि पहुँच र सहजताको लागि घर बनाउन यो डिजाइन प्रयोग गरिन्छ ।

युनिभर्सल डिजाइन भनेको के हो ?

युनिभर्सल डिजाइनको अवधारणा एक आर्किटेक्ट रोनाल्ड एल. मेसद्वारा बनाइएको हो । यस अवधारणाले मुख्यगरि फरक क्षमता भएका ती व्यक्तिहरुको लागि हरेक चरणमा सहज जीवनयापनमा सहयोग पुर्याउन उपयोग हुने डिजाइन तयार पार्दछ । 

सार्वभौमिक डिजाइनमा बनेको घर साधारण घरको तुलनामा धेरै फरक वा महँगो हुँदैन्, तर यसले मानिसहरुको जीवनमा ठुलो सकारात्मक परिवर्तन ल्याउन सक्छ । यो धेरै आधारभूत अवधारणामा बनेको हुन्छ ।

सार्वभौमिक डिजाइन अवधारणामा बनेका घरहरु त्यस्ता हुन्छन् जहाँ फरक क्षमता भएका मानिसहरुको आवश्यकतालाई पुरा गर्छन् । यस डिजाइनमा केही न्युनतम खर्च गरि व्यक्तिको बदलिदो आवश्यकतालाई पूरा गर्नको लागि बनाइएको हुन्छ ।

युनिभर्सल डिजाइन सबै मान्छेको लागि उपयोगको व्यापक अवधारणा हो । हामी युनिभर्सल डिजाइनका घरको सुविधाहरुबारे चर्चा गर्दै छौं । 

फरक क्षमता भएका व्यक्तिहरुको लागि युनिभर्सल डिजाइनका घरमा हुने सुविधाहरु :

प्रवेशद्वार अगाडिको बाटो फराकिलो र स्लोप हुनुपर्छ

यसको मुख्य उद्देश्य भनेको ह्वीलचियर प्रयोगकर्ताको सहज पहुँच कायम गर्नु हो । तर, तपाईं यसलाई तार्किक र व्यावहारिक रुपबाट पनि हेर्न सक्नुहुन्छ । प्रवेशद्बार अगाडिको फराकिलो र स्वलोप बाटोले ह्वीलचियर प्रयोगकर्तालाई मात्र होइन, अरु व्यक्तिको लागि पनि सजिलो हुन्छ । साना केटाकेटीहरुलाई खेल्न, फर्निचरहरु ल्याउन–लैजान, हिँड्न फराकिलो बाटो निकै सजिलो हुन्छ

पार्किङ एरिया ठुलो हुनुपर्छ 

तपाईको घरको पार्किङ एरिया ठुलो भएमा सबैलाई सजिलो हुन्छ । किनभने ठाउँ फराकिलो हुदाँ तपाईले सामानहरु ल्याउँदा गाडिबाट निकाल्न सजिलो हुन्छ । गाडी पार्किङ गर्न पनि सहज हुन्छ । ह्वीलचियर प्रयोग गर्नेहरुलाई पनि गाडिबाट निस्कन सजिलो हुन्छ । बच्चाहरु खुला ठाउँमा खेल्दा गाडिमा नोक्सान पुर्याउने जोखिम कम हुन्छ ।

एउटै बत्ती दुई तिरबाट प्रयोग गर्न सकिन्छ

घरमा बत्तीको प्रयोग गर्दा त्यसको स्वीच भित्र र बाहिर दुबैतिरबाट प्रयोग गर्न मिल्ने गरि बनाइएको हुन्छ । जसले गर्दा अध्यारोमा हिँड्दा त्यस स्वीचले सहज बनाउँछ

भान्छाको स्ल्याबहरु र कोठाको कपबोर्ड होचो बनाउने 

तपाईले आफ्नो भान्छाको स्ल्याबहरु होचो बनाउँदा असक्षम व्यक्तिहरुलाई कसैको सहारा नलिइ आफ्नो काम गर्न सजिलो हुन्छ । मुख्यगरि ह्वीचियर प्रयोग गर्ने व्यक्तिहरुलाई सहज हुन्छ । बच्चाहरुको लागि कोठामा कपबोर्ड होचो राख्दा उनीहरुले आफ्नो कपडाहरु आफै मिलाउन सक्छन् ।

बाथरुम र प्रवेशद्वार ठुलो र फराकिलो हुनुपर्छ 

तपाईको बाथरुम र प्रवेशद्वार फराकिलो हुँदा ह्वीचियर प्रयोग गरि आफ्नो काम गर्नेको लागि सहज बनाउँछ । बच्चाको केशमा पनि उनीहरुलाई नुहाउन ठुलो बाथरुम भयो भने सजिलो हुन्छ । त्यसकारण बाथरुम फराकिलो उपयुक्त हुन्छ ।

भर्याङमा रेलिङ राख्‍ने 

भर्याङमा रेलिङ राख्दा बच्चादेखि बुढासम्मलाई र खुट्टा भाँचिएका असक्षम व्यक्तिहरुलाई पनि त्यसले घरको तल–माथि गर्न सहज बनाउँछ । बच्चाहरु खेल्ने हिड्ने क्रममा रेलिङले सुरक्षित गर्छ । त्यसकारण घरको भर्याङमा रेलिङ राख्‍न आवश्यक छ ।

टायलहरु चिप्लो खालको नराख्‍ने

हामीले आफ्नो घरको टायलहरु राख्दा एकदमै विचार गरेर राख्‍नुपर्दछ । किनभने घरमा बच्चा देखी बुढासम्मको परिवार हुन्छन् । त्यसकारण हामीले भर्याङ, बाथरुमहरुमा टायल राख्दा बुझेर कम चिप्लो खाले राख्‍नुपर्छ । जोकोही पनि चिप्लेर लडेमा ठुलोे दुर्घटना हुनसक्छ , त्यसैले नचिप्लिने टायल प्रयोग गर्नु उचित हुन्छ ।

युनिभर्सल डिजाइन होम्समा यो बाहेक अरु पनि बिशेषता र सुविधाहरु हुन्छ ,जुन फरक क्षमता भएका व्यक्तिहरुको सहजतालाई ध्यानमा राखेर बनाइएको हुन्छ ।

तपाईले भोलीको लागि सोचेर बिमा गर्नुहुन्छ । किनभने भोली के हुन्छ कसैलाई थाहा हुदैन । समय र परिस्थितिको परिवर्तन सगैँ भैपरि आउने दुर्घटना र असहजताको जोखिम कम गर्न गरिने पूर्वतयारी नै युनिभर्सल डिजाइन होम्सको निर्माण गर्नु हो ।


#घरनिमार्ण

प्रतिक्रिया