Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार १७ गते शुक्रबार

तपाईँको खल्तीमा रहेको, घरमा राखिएको वा ब्याङ्कमा जम्मा गरिएको नोट वा सिक्का छाप्न कति खर्च लाग्छ थाहा छ?

हामीले आर्जन वा खर्च गर्ने सिक्काको छपाई लागत त्यसको मूल्यभन्दा महँगो हुन्छ भन्ने पनि हामीमध्ये कतिपयलाई थाहा नहुन सक्छ।

नेपाल राष्ट्र ब्याङ्कले हामीले प्रयोग गर्ने एक रुपैयाँको सिक्का हामीसम्म ल्याउन सिक्काको मूल्यभन्दा दोब्बर बढी अर्थात् करिब साढे दुई रुपैयाँसम्म खर्च गर्ने गरेको छ।

पोल्यान्डमा छापिने रु १ को सिक्का छपाइका लागि मात्रै राष्ट्र ब्याङ्कले प्रतिसिक्का रु २.४० खर्च गर्नुपर्छ।

त्यसका अतिरिक्त ढुवानीका लागि पनि थप खर्च लाग्ने र यस्तो खर्च समय अनुसार फरक पर्ने केन्द्रीय ब्याङ्कका अधिकारीहरू बताउँछन्।
पोल्यान्डको मेनिका पोलेस्काले छापिएका एक रुपैयाँ दरका सिक्का पर्साको सिर्सिया सुख्खा बन्दरगाहसम्म पुर्‍याउने गरेको छ।

राष्ट्र ब्याङ्कका अनुसार सबैभन्दा कम खर्चमा १० रुपैयाँको नोट छापिन्छ। सबैभन्दा बढी खर्च रु ५०० को नोट छाप्न लाग्दै आएको छ।


राष्ट्र ब्याङ्कका अनुसार अहिले रु १ र रु २ का नोट छापिँदैनन् र सिक्काहरू मात्रै छापिँदै आएका छन्। स्टिल र पित्तल धातुबाट बन्ने दुवै दरका सिक्काको वास्तविक मूल्यभन्दा छपाइ खर्च महँगो छ।

बाहिर पित्तलको लेप लगाइएको भए पनि एक र दुई रुपैयाँ दरका सिक्का स्टिलबाट बनेका हुन्छन्।

दुई रुपैयाँको सिक्का छाप्न प्रतिसिक्का रु २.७३ लाग्ने गरेको छ।

"यो टेन्डर लागत मात्रै हो। यसमा ढुवानी खर्च अलग हुन्छ र त्यो परिस्थिति अनुसार फरक पर्छ। कति समयपछि ल्याइन्छ त्यसमा भर पर्छ," राष्ट्र ब्याङ्कका मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले भने।महँगोमा सिक्का छपाइका कारण मात्रै राष्ट्र ब्याङ्कलाई हरेक वर्ष १० करोड घाटा हुने गरेको अधिकारीहरू बताउँछन्।

राष्ट्र ब्याङ्कले पछिल्लो समय एक रुपैयाँ दरका ३० करोड र दुई रुपैयाँ दरका १० करोड सिक्का छापेर राखेको छ।

नोट छाप्न कति खर्च

राष्ट्र ब्याङ्कका अनुसार पाँच रुपैयाँको नोट छाप्न रु १.६८, १० रुपैयाँको छाप्न रु १.४० र २० रुपैयाँको छाप्न रु १.७३ खर्च लाग्ने गरेको छ।

पचास रुपैयाँको एउटा नोट छाप्न रु २.६७ पैसा र १०० को नोट छाप्न रु २.९९ खर्च लाग्छ।

पछिल्लो पटक राष्ट्र ब्याङ्कलाई रु १,००० भन्दा ५०० दरका नोटको छपाइ महँगो परेको छ।

रु १,००० को नोट छाप्न रु ३.३७ र ५०० रुपैयाँको एउटा नोट छाप्न रु ४.६८ लागत छ।

नेपालमा चलाइने सात प्रकारका नोटमध्ये पाँच प्रकारका नोट पछिल्लो समय चीनमा छापिएका छन्।

राष्ट्र ब्याङ्कले करिब नौ वर्षयता चीनमा पनि मुद्राको छपाइ सुरु गरेको हो।

अहिले रु ५० र रु १०० बाहेक सबै दरका नोटहरू चीनको चाइना ब्याङ्क नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले छाप्दै आएको छ।

रु ५० का नोट फ्रान्समा र रु १०० का नोट भने यूकेमा छापिँदै आएका छन् ।
"नोटहरू चाइनामा इन्डोनेशियामा वा एसियाली मुलुकहरूमा छाप्न सकियो भने यसको लागत कम पर्छ किनभने यहाँ कामदारको खर्च कम छ," विभाग प्रमुख नेपालले भने।

"उनीहरूको चाप अनुसार खाली भएको समयमा कममा छाप्ने प्रस्ताव गर्छन्। युरोप, अमेरिका वा बेलायतमा पर्‍यो भने यसको लागत अलिकति बढेर जान्छ।"

राष्ट्र ब्याङ्कले यसअघि करिब पाँच करोड थान पोलिमर नोट अस्ट्रेलियामा छपाइ गरे पनि उक्त निर्णय विवादित भएको थियो।

नेपालमा किन छापिँदैन?

नेपालमा चलनचल्तीका सिक्का छापिन छोडेको १२ वर्ष बढी भइसकेको छ।

यसअघि सिक्का छाप्दै आएको राष्ट्र ब्याङ्कको टक्सार विभागले अहिले असर्फी, स्मारिका सिक्का र पदकहरू मात्रै बनाउने गरेको छ।

"हाम्रोमा मेसिनहरू पुराना भए। सबै सामग्री बाहिरबाट आयात गरेर यहाँ छाप्नभन्दा प्रतिस्पर्धाबाट छनौट गरिएको मुद्रकबाट बाहिरै छाप्दा सस्तो पर्ने निष्कर्ष निकालेर बाहिर छाप्न थालिएको हो," मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालले भने।

राष्ट्र ब्याङ्कले जति पनि नोट छाप्न पाउँछ?

राष्ट्र ब्याङ्कले चाहे जति नोट छाप्न भने पाउँदैन।

नोट छाप्नुअघि राष्ट्र ब्याङ्कले कति नोट वा मुद्रा आवश्यक पर्छ भनेर अध्ययन गर्ने गरेको छ।

अध्ययनका आधारमा राष्ट्र ब्याङ्क सञ्चालक समितिले तीन वर्षका लागि आवश्यक नोट छाप्ने अनुमति दिने गरेको छ।

पछिल्लो समय तीन वर्षअघि राष्ट्र ब्याङ्कले दुई अर्ब ४१ करोड थान नोट छाप्ने अनुमति पाएको थियाे ।

मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालका अनुसार सन् २०२२ को अन्त्यतिर राष्ट्र ब्याङ्कले पुनः आगामी तीन वर्षका लागि छाप्ने प्रक्रिया सुरु गर्दैछ।

यसका लागि विश्वव्यापी बोलपत्र आह्वान गर्ने र कम्पनी छनौट गर्ने तयारी भइरहेको छ।

अधिकारीहरूका अनुसार कति सिक्का वा नोट छाप्ने निर्णय मुख्यतया तीन वटा आधारमा तयार गरिन्छ।

यसबाहेक राष्ट्र ब्याङ्कले आफूसँग रहेको सञ्चित र सुरक्षण पनि मूल्याङ्कन गर्ने गरेको छ।

केन्द्रीय ब्याङ्कको मुद्रा व्यवस्थापन विभागका अनुसार हाल राष्ट्र ब्याङ्कसँग ११ खर्ब बराबरको धितो राख्न सक्ने क्षमता छ।

त्यसमध्ये ब्याङ्कले ८०० अर्बको नोटहरू बजारमा निष्कासन गर्न सक्ने अनुमति सञ्चालक समितिबाट पाएको छ।

तर राष्ट्र ब्याङ्कले त्यसमध्ये ६२५ अर्ब मात्रै नोट निष्कासन गरेको छ।

नोट चलाउन धितो

राष्ट्र ब्याङ्कले प्रकाशन गरेर ल्याएका नोट बजारमा चलाउनु अघि राजपत्रमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ।

तर नोट चलाउनुअघि ब्याङ्कले नोटको मूल्याङ्कन बराबरको धरौटी राख्नुपर्ने व्यवस्था छ।

ब्याङ्कमा धितो राखेर ऋण लिएजस्तै हामीले नोट बजारमा पठाउँदा पनि सुरक्षण गर्नुपर्ने व्यवस्था छ।"

"त्यसमा सरकारले हामीलाई व्यवस्थापन गर्न दिएका सुनचाँदीजस्ता बस्तु पनि राख्न सकियो," नेपालले भने।

धितो के राखिन्छ

राष्ट्र ब्याङ्क ऐनले सुरक्षण राखेर मात्रै नोट निष्कासन गर्न सक्ने अधिकार केन्द्रीय ब्याङ्कलाई दिएको छ।

यस्तो धरौटीमा सुनचाँदी विदेशी मुद्रा विदेशी धितोपत्र लगायत राख्न सकिने व्यवस्था छ। साथै सिक्का र नेपाल सरकारको ऋणपत्रलाई पनि धरौटीको रूपमा राखिन्छ।

"बैङ्कले नोट निष्कासन गर्दा सुरक्षण राखेर मात्र निष्कासन गर्नेछ र यस्तो निष्कासित नोटको दायित्व सुरक्षण बापत राखिएको सम्पत्तिको मूल्य बराबर हुनेछ," राष्ट्र ब्याङ्क ऐनको दफा ५२ मा भनिएको छ।

सुरक्षण बापत राखिने सम्पत्तिको कमसेकम पचास प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र र विदेशी विनिमय अधिकार पत्र र अरू बाँकी सिक्का, नेपाल सरकारले निष्कासन गरेको ऋणपत्र र प्रतिज्ञा पत्र वा विनिमय पत्र राख्न सकिने कानुनी व्यवस्था छ।

छापिएका नोट कसरी जाँच गरिन्छ?

राष्ट्र ब्याङ्कले छापिएका नोट वा सिक्काहरूको जाँच गरेर मात्रै बजारमा पठाउने गरेको छ।

दैविक छनौट प्रक्रियाको आधारमा विभागले पाँच प्रतिशत नोट वा सिक्काहरूमा छपाइ त्रुटिको जाँच गरेपछि मात्र चलनचल्तीमा पठाइने राष्ट्र ब्याङ्कको नोट तथा सिक्का टकमरी निर्देशिकामा उल्लेख छ।

मुद्रा छापिसकेपछि ब्याङ्कका अधिकारीहरू सम्बन्धित देशको छापाखाना पुगेर आफ्नै उपस्थितिमा छपाइका लागि प्रयोग भएका प्लेटहरू नष्ट गर्नुपर्ने निर्देशिकामा व्यवस्था छ।

राष्ट्र ब्याङ्कका अनुसार नोटहरू दुईदेखि तीन वर्षसम्म र सिक्काहरू पाँचदेखि छ वर्षसम्म प्रयोगमा रहने गरेका छन्।

पुराना भएका नोट वा सिक्कालाई राष्ट्र ब्याङ्कले सुरक्षित तरिकाले नष्ट गर्ने गरेको छ। पछिल्लो समय पुराना नोटहरू धुल्याएर ब्रिकेट बनाउने गरेको छ।  याे समाचार बिबिसि मा छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>