Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ १७ गते शुक्रबार

पाँच दिन सम्म यसरी मनाईन्छ गाैरा पर्व । यस्ता हुन्छन फाग र आशीर्वाद ।


विभिन्न चाडमध्ये विशेष धार्मिक महत्व बोकेको गौरा पर्व भविष्योत्तर पुराणको हेमद्रीगत खण्डमा उल्लेख भए अनुसार कहिले भाद्र शुक्ल पक्षमा पर्छ भने कहिले भाद्र कृष्ण पक्षमा पर्छ।
यसै आधारमा भाद्र शुक्ल पक्षमा पर्ने गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा पर्ने गौरालाई अँधेरी (अन्यारी गोरा) गौरा भनिन्छ। उजेली गौरालाई धार्मिक महत्वको दृष्टिले शुभ, फलदायी र राम्रो भनिन्छ। विवाहित महिलाले आफ्नो अटल सौभाग्य, सन्तान र परिवारको सुख, शान्ति, उन्नति प्रगतीका लागि यो ब्रत लिने गर्छन्।
ब्रत प्रारम्भ गर्दा नवविवाहित जोडीले (दुई जना विवाहित) उजेली गौराबाट नै ब्रत बस्नु पर्छ भन्ने मान्यता छ।

सुदूरपश्चिमको विशेष मौलिकता बोकेको गौरा पर्व यहाँका नौं वटा जिल्लामा नै मनाइन्छ। विशेषत: ब्रत बस्नु मात्र नभएर गौरा देवीको नियमित पूजाअर्चना, देवी देवताका धार्मिक गीत गाउने, डेउडा नाच लाउने र गौरा देवीलाई खुसी पारी विर्सजन नगरून्जेलसम्म गौरास्थलमा (खला) जानु पनि हो।

                  गौरा चतुर्थी : पूजापद्धति
घर तथा कपडाहरुको सर- सफाइ गर्ने, गौरामन्दिर या बिरुडा भिजाउने ठाउँ या कोठाको सरसफाई गरी लिपपोत गर्ने, बिरुडा केलाउने र अन्य आवश्यक सामग्री तयार गर्ने जस्ता कार्य यस दिन गरिन्छ
    
            गौरापञ्चमी (बिरुडा पञ्चमी) :
गो:रियाहरुले प्रातःकालमा स्नान गरि निवृत भएर अभिमन्त्रित पञ्चगव्य चाख्ने । बिरुडा भिजाउने कोठामा गएर बुवाले दिएको (दाइजो) तामाको ताउली (भाँडो) को ओरिपरि बेजोड (तीन, पाँच, सात ठाउँमा गाईको गोबरको थोप्ला लगाई त्यसमा दुबो लगाएर गन्ध, अक्षता, फूलले पूजा गर्नु पर्दछ । चतुर्थीका दिन केलाएर राखेका बिरुडासोही ताउलीमा यी फागहरु गाउँदै शुद्ध पानीमा भिजाउने गरिन्छ । पञ्चमीका दिन पाँचथरी गेडागुडी (गहत, गुँरूस, मास, कलौ (सानो केराउ), गहुँ) मिसाएर तामा अथवा पितलको भाँडालाई गाई गोबर, दुबो, अबिर केसरीले सिँगारेर विधिवत पूजा अराधना गरी भिजाउने चलन छ। यो पहिलो दिनलाई बिरूडा पञ्चमी भनिन्छ।

बिरूडा भिजाउँदा गाइने (गीत)  फाग यस प्रकार छ।

- ल्याउनु ल्याउनु चेलिबेटि चाेखाे जलभरि ल्याउनु, मछलिकाे बिटालि जल दाेस हुनैन ।
- ल्याउनु ल्याउनु चेलिबेटि चाेखाे माटाे काेरि ल्याउनु त ध्याउडे किणिकाे बिटालि माटाे दाेस हुनैन ।
- ल्याउनु ल्याउनु चाेखाे गहुत गाेबर गाैण्या किणिकाे बिटालि दाेस हुनैन ।
- ल्याउनु ल्याउनु चाेखाे अक्ष्यता ल्याउनु ओखलि मुसलिका बिटालि दाेस हुनैन ।
-ल्याउनु ल्याउनु चाेखाे पिठाँ ल्याउनु सिला लाेणिकाे बिटालि पिठाँ दाेस हुनैनन्
-झानु झानु गुसाँई गहु,गहत,गुराैस,मास छन कलउ बिरुड छैन । झानु झानु महेश्वर गुसाँई कलउ बिरुडि खाेजि ल्याउनु ।
- ध्यान ध्यान महेश्वर गुसाँई कनिया नगरि पुगि ग्यान, सुण सुण बुढि आमा बिनति मेरि सुण, अहिले लाेलि गाेरा नउलि गाेरा छन गहु,गहुत, मास, गुराैस छन कलउ बिरुडि छैन ।
- झटकि ग्यान मट्कि पर गयान हात समाईछ कतुवा लउडि,
- पिठिईनि सुन कनेरि, ध्यान ध्यान महेश्वर मथुरा नगरि पुगि गयान मथुरा नगरिकि आमा बिनति मेरि सुण, अहिले हामरि लाेलिगाैरा ब्रतारि थिया कलउ बिरुडि नाइ पाया ।
- मानाइ थिया हामुले भिजाइ हाल्या आव आथिन, ध्यान ध्यान महेश्वर गुसाइ लाैटि घर गयान, तति हैत महेश्वर गुसाई कण्यान पडि गयान ।
- गाठि गुठि खाेलि गयान कलउ बिरुन नाई भयान
- झट्कि ग्यान मटकि पर गयान, ततिकि चाेडाईलि ततिकि बाेडाईलि आफुकि उपाय आफुई ल्याउली
लगायत फाग गाउने गरिन्छ । प्रथम काेसि भुमिराज देवा दिउलाे, दाेस्राे महेश्वर दिउलाे, तेसराे गणपति बाला दिउलाे, चाैथाे मुई लाेलि खउलाे, पाचौं लागेकि काेसि सिट्टि संसार दिउलाे फाग गाउदै समाप्त गरिन्छ ।

षष्टीका दिन गाउँ घरको सार्वजनिक पधेरो, कुँवा अथवा धारामा गई ब्रतालु महिला मिली उक्त गेडागुडी (बिरुडा) पखाल्ने (पानी फेर्ने गर्छन्)। जसलाई नोला कि गोरा भनिन्छ। (पानीको स्रोतलाई नोला भन्ने प्रचलन छ)

बिरूडा पखाल्दा गाईने फाग।

‘एकै पानी धोया बिरुडा
दुबै पानी धोया
तिनै पानी धोया बिरुडा
चारै पानी धोया
पाँचै पानी धाेया बिरुडा
पञ्च पखाली ल्याँया

सप्तमीका दिन ब्रतालुले गौरा देवीलाई नजिकको मठ मन्दिरमा भित्राएर सहु (सौं) , काँस, तिल, धान र कुशलाई रातो कपडाले बेरेर गौरीको आकृती बनाई कन्याको रुपमा पूजा गर्ने परम्परा छ  र रातो, पहेँलो धागो मिसाएर बनाइएको दुबधागो (डोरी) देवीमा अर्पण गरी,कुनै ठाउँमा सप्तमी धागो भनेर सप्तमीका दिन नै लगाइन्छ भने कुनै ठाउँमा अष्ठमीका दिन गोरा खलामा (स्थल) शिव पार्वतीको पूजा अर्चना पश्चात दुबधागो लगाउने चलन छ र गौरा महेश्‍वरको प्रति मुर्तिलाई शिरमा राखेर नचाउनुपर्छ।

पुरूषले जनै धारण गरे झै महिलाले दुबधागो लगाउने गर्छन् र नियमीत रुपमा जप ध्यान गरी यसको महत्वलाई मान्य गर्ने चलन छ। प्रत्येक वर्ष पूजा गरेर नयाँ दुबधागो लगाउनुपर्छ। अष्टमीका दिन घर घरमा बिरुडालाई प्रसाद स्वरुप वितरण गर्ने गरीन्छ भने बैतडी, दार्चुलामा घरकी ब्रतालु महिलाले आफ्नो श्रीमान, जेठो छोरा लगायत परिवारका सम्पूर्ण सदस्यको बिरुडाले शीरदेखि पाउँसम्म पूज्ने र बिरुडा कै टिका लगाउने चलन छ।यसैगरी बिरूडालाई क्वाटीको रुपमा पकाएर खाने चलन छ।

बिरुडाले पाउँ  देखि शीरसम्म पूज्दा भनिने मन्त्र
‘माटी खण्ड माटी छन्ज्या जी जागिरएइ,
- हिमाल हिउँ छन्ज्या जी जागिरएइ,
- समुद्र जल छन्ज्या जी जागिरएइ,
- केलाकी जसि राई बादिजउ जागिरएइ
- दुबाकि जसि चाैड बादिजउ जी जागिरएइ,
- एैराकि जसि झाल बादिजउ, जी जागिरएइ,
- भुका जति फुले, जी जागिरएइ,
- तालि जति निउडे, जी जागिरएइ,
- जाेला खाट सिन पाए, जी जागिरएइ,
- जाेला पुत पाए, जी जागिरएइ,
- जाेला गाई दुन पाए, जी जागिरएइ,
- दशैकाे जाेरा छन्ज्या जी जागिरएइ,
- दुत्या चिउणा छन्ज्या जी जागिरएई,गाेरा महेश्‍वर फली बसुन्’

सामान्यतया ५ दिनसम्म मनाइने यो पर्व आफ्नो कामको व्यस्तता र समाजको माग अनुसार १०,१५ दिनसम्म पनि देउडा नाँच खेलेर मनाइन्छ ।

यस पर्वमा शिव र पार्वातीको प्रेम र विवाहलाई स्मरण गर्दै पाँच दिन सम्म महिला र पुरूषले विभिन्न भाकामा देव महिमा, आफ्ना जीवनमा घटेका सुख दुःखका घटनालाई लोकभाकामा लय हालेर व्यक्त गर्ने गरिन्छ।

गौरा प्रारम्भ गर्दा बिरूडा पञ्चमीबाट अनिवार्य रुपमा प्रारम्भ गर्नुपर्छ भने विसर्जन गर्दा फल फटकाउने परम्परालाई कायम राखी फेरि अर्को वर्ष यस्तै हर्षोल्लासका साथ स्वागत गर्ने वाचासहित विसर्जन गरिन्छ।

फल फट्काउने अर्थात गौरा देवीलाई नित्य चढाइएका बिरूडा, फलफूल, जनै, सुपारीलाई शुद्ध चारपाटे कपडामा राखेर दुई जना पुरूषले चार कुना समातेर आकाशतिर उफार्ने गर्छन् र फल तल झर्नु पूर्व जसले ति फलफूल आदि पाउँछन् तिनलाई भाग्यमानी मान्ने मान्यता पनि छ।

आफैमा समृद्ध साँस्कृतिक, साँगितिक महत्व र गाथा बोकेको गौरा पर्व सुदूरपश्‍चिमको बेग्लै धरोहर र पहिचान हो। जसले त्यस क्षेत्रको लोक संस्कृति, शिष्टता, सभ्यतालाई उजागर गरेको हुन्छ। गाउँघरमा असार, साउनको खेतीपातीको कामबाट केही विश्राम पाएको फुर्सदिलो यो समयमा गौरा पर्वले महिलामा नयाँ जोश र उत्साह भर्दछ।
गौराका ब्रतालुहरुले अनिवार्य रूपमा नयाँ (चाेखाे) लुगा लगाउने, चोखो बस्ने चलन छ। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>