Samriddhipost
२०८१ बैशाख २२ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख ०८ गते शनिबार

शुक्लफाँटामा ८ बर्षमा डबल बढिले बढे बाग, एकसिङ्गै गैडा पुगे २३

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ र गैँडाको संख्यामा वृद्धि भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइने पाटे बाघ र एकसिंगे गैंडाको संख्या र फैलावट क्षेत्रवारे विस्तृत अनुगमन गरिएको थियो । नेपाल सरकारले जारी गरेको बाघ तथा आहार प्रजातीको अनुगमन प्रोटोकलमा आधारित रही गरिएको अनुगमनमा अहिले ४४ वटा पाटे बाघ र २३ वटा एक सिंगे गैँडा रहेको पाईएको हो ।
बाघको २०८० मंसिर २४ देखी पौष १५ गते सम्म ९१ वटा क्यामरा ट्रयापकिङबाट अनुगमन गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन २०१३ मा १७ वटा बाघ २०१८ मा १६ वटा, २०२१ मा १९ वटा बाघ रहेको थियो । यस्तै, २०२२ मा उत्तः संख्या बढेर ३६ पुगेको थियो भने अहिले २०२३ मा फेरी पाटेबाघको संख्या बढेर ४४ पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाँउ, कञ्चनपुरका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनु भयो ।
यसैगरी, एक सिंगे गैँडा सन् २००८ मा ५ वटा २०१३ मा ७ वटा २०१५ मा ८ वटा रहेको थियो । यस्तै, २०१८ मा १७ वटा २०२२ मा २० वटा थियो भने अहिले २०२४ मा २३ वटा एकसिंगे गैँडा रहेको उहाँले बताउनु भयो । विगतका वर्षहरुको अनुगमनको नतिजाको विश्लेषणको आधारमा हाल दुवै वन्यजन्तुहरुको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाँउ, कञ्चनपुरका वरिष्ठ संरक्षण अधिकृत भट्टराईले बताउनु भयो ।
पाटे बाघ र एकसिंगे गैँडा अनुगमनका लागी जेड एस एल नेपाल र राष्ट्रिय प्रकृती संरक्षण कोषबाट आर्थिक सहयोग प्राप्त भएको थियो । साथै अनुगमन कार्यमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, रुद्रध्वज गणका कर्मचारी, राष्ट्रिय प्रकृती संरक्षण कार्यक्रमका वन्यजन्तु प्राविधिकहरुको सहभागिता रहेको थियो । शुक्लाफाँटाभित्रै रानी ताल छ । रानी ताल सँगसँगै अन्य स–साना ताल पनि छन् । त्यहाँ प्रशस्तरूपमा गोही र चराचुरुङ्गी देख्न पाइन्छ । सिंहपाल राजाका रानीले नुहाउने ताल भएकाले उक्त तालको नामकरण रानी ताल राखिएको इतिहास छ ।
वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, चार सय ६० प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधनेश र लेसर भुँडीफोरजस्ता वन्यजन्तु पनि छन् ।
स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजाति रहेका छन् । पाटेबाघ, एकसिङ्गे अजिंगर, गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, सुनगोहरो, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाको लागि प्रसिद्ध मानिन्छ । यहाँ घुम्न आउने पर्यटकले ठूलो सङ्ख्यामा बाह्रसिङ्गाको झुण्ड देख्न पाउँछन् ।
शुक्लाफाँटाको घाँसे मैदानमा मयूर नाचेको दृश्यले त आगन्तुकको मनै लोभ्याउने गरेको छ । उक्त फाँटमा पाटेबाघको दृश्यसमेत देख्न सकिन्छ । २०३१ मा यसलाई आरक्ष बनाइएको थियो भने ०६१ मा मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो । २०७३ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको थियो ।


#शुक्लफाँटा राष्ट्रिय निकुन्ज

प्रतिक्रिया