Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख १८ गते मङ्गलबार

कृष्णपुर २ ले आर्थिक अभावमा लाेकसेवा कक्षा लिन नसकेकालाई निशुल्क कक्षा दिने

कृष्णपुर नगरपालिकामा नि:शुल्क लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन हुने भएको छ ।
 कृष्णपुर नगरपालिका वडा नम्बर २ को कार्यालयले आज मंगलबारबाट लोकसेवा तथा शिक्षक सेवा आयोगका नि:शुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।
 वडा कार्यालयको चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वडाभित्रका विद्यार्थीहरुलाई नि:शुल्क लोकसेवा तथा शिक्षक सेवा आयोगको कक्षा सञ्चालन गर्न लागिएको वडाध्यक्ष अर्जुन साउँदले बताए ।
 
आफुहरुले निर्वाचित भएदेखी नै विकास निर्माणका कार्यहरु गर्दै आएको बताउँदै वडाध्यक्ष साउँदले भने,“विकास निर्माणसंगै बौद्धिक क्षेत्रतर्फ पनि अब हामी काम गरिरहेका छौँ ।”
 “सरकारी सेवामा प्रवेश गर्ने इच्छा भएका र आर्थिक अभावका कारण अन्यत्र गएर पढ्न नसक्ने गरिब,विपन्न विद्यार्थीहरुलाई वडामै तयारीका लागि कक्षा सञ्चालन गरेका हौँ । घरमै अध्ययन गरेर पनि यस वडाबाट निजामती तथा शिक्षक सेवामा नाम निकालेका छन् । नि:शुल्क कक्षा सञ्चालनले तयारीमा रहेका अन्य विद्यार्थीहरुलाई थप सहजता हुने विश्वास लिएका छौँ,”वडाध्यक्ष साउँदले भने ।  
दक्ष,अनुभवी कर्मचारी तथा शिक्षकहरुबाट कक्षा सञ्चालन गर्न लागिएको वडाध्यक्ष साउँदले बताए । शिक्षित नागरिक विदेश पलायन नहोस् र स्वदेशमै रोजगारीका लागि प्रेरणा मिलोस् भन्ने उद्धेश्यले लोकसेवा तथा शिक्षक सेवा आयोगको निशुल्क तयारी कक्षा सञ्चालन गरिएको वडाध्यक्ष साउँदले बताए ।
उनका अनुसार ४० जना सहभागि हुने तयारी कक्षा एक महिना भन्दा बढी समयसम्म वडा कार्यालयको हलमा सञ्चालन हुनेछ । 
वडा कार्यालयले विकास निर्माणका कामसंगै नि:शुल्क कम्प्युटर तालिम,आत्मरक्षा तालिम,आयआर्जनमा जाड्ने गरी विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गर्दै आइरहेको छ ।


#कृष्णपुर २ लाेकसेवा कक्षा

प्रतिक्रिया