Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख २० गते बिहिबार

लालझाडिका नागरिकलाई गाउँ टाेलमा स्वास्थ्य सेवा दिन अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम सुरु

कञ्चनपुरको लालझाडी गाउँपालिकाले नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम सञ्चालन गरेको छ । गाउँवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै यस वर्ष पनि उक्त कार्यक्रम सञ्चालन गरिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो । गाउँपालिकाका सबै वडामा नागरिकको घरदैलोमा गएर निदान, उपचार र परामर्श गरिने उहाँको भनाइ छ । 
जनजीविकासँग प्रत्यक्ष जोडिएका यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाई निरन्तरता दिन सक्यो भने सेवाबाट वञ्चित भएका नागरिक र रोग पालेर बसिरहेका नागरिकहरूले घरदैलोमै स्वास्थ्य सेवा पाई लाभान्वित हुने लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले विश्वास व्यक्त गर्नुभयो । 
नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत बिहीबार अभिमुखीकरण कार्यक्रम गरिएको छ भने आउँदो आइतबारदेखि स्वास्थ्यकर्मी सहितको टोली सबै वडाहरूमा नागरिकको घरदैलोमै गई स्वास्थ्य चेकजाँच र आवश्यक परामर्श दिने कार्य सुरु गरिने लालझाडीका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले जानकारी दिनुभयो । उक्त कार्यक्रमलाई कार्यविधि नै बनाएर सञ्चालन गर्न सके यसको प्रभावकारिता बढ्ने उहाँको भनाइ छ । पहल बहादुर थापाले लालझाडी भरिका हरेक नागरिकको घरदैलोमा गई सेवा दिइने कार्यक्रम भएकोले यो कार्यक्रम अति लाभदायक रहेको बताउनु भयो ।
 वडाले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने क्रममा समेत स्वास्थ्य परीक्षणको कार्यक्रम गर्ने गरेको सुनाउनु भयो । यश किसिमका कार्यक्रमले स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूसम्म सेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसै कार्यक्रम अन्तर्गत हरेक वडामा विशेषज्ञ सेवा सहितका शिविर सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
लक्षित वर्गका नागरिकसम्म सहज तरिकाले स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सामान्य स्वास्थ्य जाँच सहित उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीको समस्या पहिचान, महिलाको आङ खस्ने समस्या, मिर्गौला पीडित, क्यान्सर र अन्य दीर्घ रोगी लगायतको खोज पड्ताल गरी जानकारी लिइने र उपचार योजना बनाई पालिका स्तरीय एकीकृत विशेषज्ञ स्वास्थ्य सेवा शिविर सञ्चालन गरिने लालझाडी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक खगेन्द्र चौधरीले जानकारी दिनुभयो । गत वर्ष सञ्चालन भएको यो कार्यक्रमबाट १६४१ महिला र १२५० पुरुष गरी जम्मा २८९१ जनाका समस्या निदान भएको लालझाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दशरथ रानाले बताउनु भयो । कार्यक्रममा सहभागीहरूको रक्तचाप र मधुमेह परीक्षण समेत गरिएको छ ।


#लालझाडि अध्यक्ष स्वास्थ्य कार्यक्रम

प्रतिक्रिया