नेपाल र भारतका अधिकारीहरुबीच माघ ७ गते धारचुलामा आयोजित सिमा बैठकमा ढुंगा हानाहानको विषयले पनि स्थान पाएको छ । दुई देशको सिमा छुट्याउने महाकाली नदी किनारमा भइरहेको तटबन्ध निर्माणले बेलामौकामा दुबैतर्फ विवाद र तनाव पनि सिर्जना गरिरहेको छ । तटबन्ध निर्माणका क्रममा अहिलेसम्म दुइ–चार पटक ढुंगा हानाहान भएका छन् ।
भारतको उत्तराखण्डमा माघ ११ गते हुने नगर निर्वाचनका लागि छलफल गर्न सिमा बैठक आयोजना गरिएको छ । निर्वाचन प्रयोजनका लागि सिमा बन्द गर्ने र सिमाक्षेत्रमा सुरक्षा समन्वय बढाउने एजेण्डा भए पनि तटबन्ध निर्माणका क्रममा भएका ढुंगा हानाहानका घटनाले पनि स्थान पाएका छन् ।
दार्चुलाको खलंगा र भारतको धारचुला बजार क्षेत्रलाई सुरक्षित गर्ने उद्देश्यले महाकाली नदीको दुबैतर्फ तटबन्ध निर्माण भइरहेको छ । नेपालतर्फको तटबन्ध निर्माण कार्य अधिकांश रुपमा सकिएको छ भने भारततर्फ पछिल्लो समय युद्धस्तरमा निर्माण भइरहेको छ । भारततर्फको तटबन्ध निर्माणमा नेपाली पक्षबाट बेलामौकामा अवरोध हुने गरेकोमा भारतीय अधिकारीहरुले गुनासो गरेका छन् ।
नेपाली पक्षले आफ्नोतर्फ तटबन्ध निर्माण पूरा गरिसकेको र भारततर्फको तटबन्ध निर्माणमा अवरोध गर्न खोजेको सम्मका आरोप भारतीय पक्षको छ । भारतीय क्षेत्रमा तटबन्ध निर्माण कार्य भइरहदा नेपाली पक्षबाट कुनै पनि अवरोध र विरोध हुन नहुनेमा भारतीय अधिकारीहरुले जोड दिदैआएका छन् ।
पछिल्लो समय गत पुष ७ गते खलंगाको बसपार्क क्षेत्र भारतीय ठेकेदारको स्काइभेटर नेपाल प्रवेश गरेको थियो । त्योभन्दा केही दिनअघि त्यसैक्षेत्रमा नेपाली पक्षले भारतीय पक्षलाई अवरोध गरेको थियो । महाकाली नदीको डाइभर्सन गरी नेपालतर्फ फर्काएपछि नेपालतर्फका स्थानीयले विरोध गरेका थिए । त्यसअघि खलंगाको बंगाबगर क्षेत्रमा पनि तटबन्ध निर्माणका क्रममा ढुंगा हानाहान भएको थियो ।
भारतीय तटबन्ध निर्माणले महाकालीको प्राकृतिक वहाव नेपालतर्फ फर्किने खतरा रहेकोले समय–समयमा यस्तो विरोध हुने गरेको छ । नदीको प्राकृतिक वहाव र नदी किनारको क्षेत्र मिचेर भारततर्फ तटबन्ध निर्माण भइरहेकोले आफुहरुले खबरदारी गर्नुपरेको नेपालका स्थानीयवासीको भनाई छ । ‘तटबन्ध दुबैतर्फ बन्नुपर्छ, भारततर्फ पनि कुनै हानीनोक्सानी नहोस् तर उताको तटबन्ध निर्माणले हामी खतरामा पर्नुभएन’ खलंगाको गल्फै क्षेत्रका एक स्थानीयले भन्नुभयो ।
सिमा बैठकमा भारतीय अधिकारीहरुले कुनै आपत्तिको विषय भए सरकारी संयन्त्रमार्फत छलफल गर्न नेपाली पक्षलाई आग्रह गरेको छ । तर कुनै पनि वहानामा ढुंगा प्रहार गर्ने कार्य उपयुक्त नभएको भारतीय पक्षको भनाई छ । ‘कुनै छलफलको विषय भए हामीसंग संवाद गर्नुहोस् तर ढुंगा प्रहार गर्ने मान्छेहरुलाई तपाईहरुले रोक्नुपर्छ’ भारतीय अधिकारीहरुले नेपाली पक्षलाई भनेका छन् ।
ढुंगा प्रहार गर्ने कार्य गैरकानुनी भएको भन्दै त्यसमा नेपाली प्रशासनले रोक लगाउनुपर्नेमा भारतीय पक्षको जोड छ । ढुंगा प्रहारबारे भारतीय पक्षको कडा आग्रह आएपछि नेपाली पक्षले ढुंगा हानाहान नेपालबाट मात्रै नभई भारतीय पक्षबाट पनि भइरहेको बताएको थियो । महाकाली नदी किनारक्षेत्रको श्रीबगर क्षेत्रमा केही हप्ताअघि एसएसवी सुरक्षाकर्मीले नेपालतर्फका स्थानीयलाई ढुंगा प्रहार गरेको भिडियो समेत बैठकमा देखाइएको थियो । नेपाली पक्षले एसएसवीले ढुंगा प्रहार गरेको भिडियो देखाएपछि भने भारतीय अधिकारीहरुले यसबारे छानविन गर्ने र ढुंगा प्रहार गर्न नदिने बताएका छन् ।
पिथौरागढका डिएम विनोद गोस्वामीले ढुंगा प्रहार गर्ने एसएसवीका सुरक्षाकर्मीको पहिचान गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन एसएसवीका कमाण्डरलाई बैठकमै निर्देशन दिएका छन् ।
तटबन्धको संरचना निर्माणमा समन्वय बढाउने र दुबैतर्फबाट हुने अवरोध एवं ढुंगा हानाहानलाई रोक्नेबारे दुबै देशका अधिकारीहरु सहमत देखिएका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया