Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० मङि्सर १५ गते शुक्रबार

एनसेलकाे शेयर भयाे बिक्रि पुग्याे बेलायति कम्पनी संग

मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर बेलायती कम्पनी स्पक्टरलाइट यूके लिमिटेडसँग बिक्री गर्ने निश्चित भएको छ । कम्पनीले रेनोल्ड होल्डिङ लिमिटेडको नाममा एनसेलमा रहेको करिब ८० प्रतिशत विदेशी लगानी बिक्री गर्ने सम्झौता सम्पन्न गरेको हो । 

निश्चित मूल्यको रूपमा स्पेक्ट्रलाइटले कारोबार सम्पन्न भएको छ महिनाभित्र आजियाटालाई पाँच करोड अमेरिकी डलर (करिब छ अर्ब ६५ करोड ७० लाख ) मध्ये ५० लाख अमेरिकी डलर भुक्तानी गर्नेछ । बाँकी रकम भने ४८ महिना अर्थात् चार वर्षको अवधिमा तिर्नेगरी खरिद सम्झौता भएको उल्लेख छ । 

जुन आगामी दिनमा एनसेलले गर्ने व्यवसायमा आधारित रहने तथा कूल खरिद बिक्रीको मूल्य सन् २०२९ मा घोषणा गरिने बताइएको छ । आजियाटाका अनुसार व्यवसाय र दायित्वको सम्पूर्ण जिम्मा एनसेलमा रहने र विद्यमान तथा आगामी दिनमा नेपालले एनसेलसँग यससम्बन्धी कर दाबी गर्दा त्यसको आजियाटातर्फको क्षतिपूर्ति स्पेक्ट्रलाइटले ब्यहोर्ने भनिएको छ । 

यसलाई आजियाटाको बोर्डले नेपालबाट बाहिरिने सबैभन्दा उचित मार्ग ठहर्‍याएको छ । आजियाटाका सीईओ तथा प्रबन्ध निर्देशक विवेक सुदले भनेका छन्, "आजियाटा नेपालमा एनसेलका मेहनती सहकर्मीको साथ विगत सात वर्षदेखि रहिआएको छ । यद्यपि व्यवसाय सञ्चालनमा बढ्दै गएको चुनौतीका कारण यस किसिमको परिस्थिति निम्तिएको हो ।" 

व्यवसायका लागि अनुकूल वातावरण नरहेको भन्दै आजियाटाले केही दिन अघि मात्र नेपालबाट बाहिरिने निर्णय गरेको थियो । उसले नेपालको अनुचित कर प्रणाली र नियामकीय अनिश्चितताका कारण व्यवसाय दिगो रूपमा सञ्चालन गर्न नसकिएको निश्कर्ष निकालेको छ । 

आजियाटाले स्विडेनको टेलिया सोनेराबाट सन् २०१६ मा एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलरमा एनसेलको ८० प्रतिशत हिस्सेदारी रहेको रेनोल्ड होल्डिङको शत प्रतिशत शेयर खरिद गरेको थियो । सन् २०१६ देखि २०२० को अवधिमा एनसेलले कूल ४७ अर्ब चुक्ता गर्दै लाभकर विवाद टुङ्ग्याएको थियो । 

उक्त लाभकर चुक्ता गरे पनि जनवरी २०२१ मा ठूला कर दाता कार्यालयले आयकर ऐनको दफा ५७ अन्तर्गत सोही कारोबारका लागि कूल ५७ अर्ब ९० रुपैयाँ दायित्व यकिन गरेको थियो । उक्त कर आफूले तिर्नु नपर्ने दाबी गर्दै नेपाल सरकार विरुद्ध आजियाटा अन्तर्राष्ट्रिय अदालत गएको भए पनि त्यहाँबाट समेत पराजित भएको थियो । 

आजियाटा र स्पेक्ट्रलाइटबीच भएको शेयर खरिद सम्झौता अनुसार निश्चित मूल्य (फिक्स्ड कन्सिडरेसन) र सर्तमा आधारित मूल्य (कन्डिसनल कन्सिडरेसन) गरी दुई चरणमा कारोबार हुने उल्लेख छ । 

एनसेलमा नेपाली लगानीकर्ताको रूपमा शतिशलाल आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठको २० प्रतिशत लगानी रहेको छ । अहिले आजियाटाको नाममा रहेको ८० प्रतिशत विदेशी लगानी खरिद गर्ने बेलायती कम्पनी स्पेक्ट्रलाइट समेत शतिशलालकै रहेको चर्चा छ । 


#एनसेल

प्रतिक्रिया