Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० मङि्सर १८ गते सोमबार

आजबाट कैलाली कंचनपुर स्थित नेपाल-भारत बिजाेर सिमा स्तम्भ मर्मत सम्भार सुरु

सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली कंचनपुरका नेपाल–भारत सीमा क्षेत्रका बिजोर नम्बरका सीमा स्तम्भहरूको मर्मत तथा रङ्गरोगन कार्य सुरु गरिएको छ । सशस्त्र प्रहरी बलले कञ्चनपुर र कैलालीमा सोमबारदेखि सीमा स्तम्भहरूको मर्मत तथा रङ्गरोगन कार्य सुरु गरेको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजार स्थित ७५३ (१७१) नम्बर सीमा स्तम्भदेखि रङ्गरोगन कार्य सुरु गरिएको छ । सरकारले सशस्त्र प्रहरी बललाई दिएको जिम्मेवारी अनुरूप सुदूरपश्चिममा पनि कञ्चनपुर र कैलालीबाट एकसाथ सीमा स्तम्भको मर्मत तथा रङ्गरोगन कार्य शुभारम्भ गरिएको सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश वैद्यनाथ बाहिनीका बाहिनीपति डिआइजी कुमार न्यौपानेले जानकारी दिनुभयो ।

सीमा स्तम्भहरूको निर्माण, मर्मत सम्भार र पुनर्स्थापना सम्बन्धी मापदण्ड २०८० अनुरूप नेपालका तर्फबाट बिजोर सीमा पिलर पुनर्निर्माण गरिने छन् । कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशमा सीमा सम्बन्धी समस्या लामोसमयदेखि यथावत् छ । केही ठाउँका सीमा स्तम्भ हालसम्म पनि गायब छन् । अहिले भने यथास्थितिमा रहेका बिवाद नभएका सीमा स्तम्भको मात्रै मर्मत तथा रङ्गरोगन गरिने डिआइजी न्यौपानेले बताउनु भयो ।

कञ्चनपुरमा कुल ६६ सीमा स्तम्भ पुनर्निर्माण, मर्मत सम्भार गरिने शैलेश्वरी गणका गणपति प्रेम रावलले बताउनु भएको छ । रङ्गरोगन गर्नुपर्ने ३०, सामान्य मर्मत १६, मध्यम स्तरको मर्मत १७ र पूर्ण मर्मत ३ स्तम्भ रहेका छन् । भारतीय पक्षले यसअघि नै जोर नम्बरका सीमा स्तम्भ मर्मत गरिसकेको थियो ।


#सिमा पिल्लर मर्मत सम्भार

प्रतिक्रिया