Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० फागुन ३० गते बुधबार

कर्णाली चिसापानी पुल खुल्न तीन दिन लाग्ने

कैलालीको चिशापानीमा रहेको कर्णाली पुल खुल्न अझै ३ दिन लाग्ने भएको छ । कर्णाली पुलमा गाडी सञ्चालन गर्न मिल्ने कि नमिल्ने भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको छ । सोमबार साँझ पुलमा आगो लाग्दा सामान्य क्षति भएको कैलालीको चिसापानीस्थित कर्णाली पुल अझै सञ्चालनमा आएको छैन ।

अहिले सुदूरपश्चिम प्रवेश गर्ने र बाहिरिने गाडीहरु हुलाकी राजमार्ग हुँदै चलिरहेका छन् । पुल महाशाखाका डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले प्रारम्भिक अध्ययनका क्रममा आगालागीबाट पुलका दायाबाँयातर्फका ७÷७ वटा लठ्ठा जलेको पाइएको बताए । जलेका केबलसहित पुलको सतहको मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले अझै केही दिन सवारीसाधन चलाउन नमिल्ने अधिकारी बताउँछन् ।

‘हामीले पुलको अवस्थाबारे विस्तृत विश्लेषण गर्न बाँकी छ । अहिले गाडी गुडाएर हेरिरहेका छौं । सकेसम्म भोलिसम्म रिपोर्ट तयार हुन्छ होला’, अधिकारीले भने, ‘पुलका दुवैतर्फका १४ वटा केबल जलेको भएपनि अहिलेसम्म थप क्षति भएको देखिएको छैन ।

तर मर्मतको काम गर्नुपर्ने भएकाले समय लाग्न सक्छ ।’ उनले पुलको सतह मर्मत गर्नुपर्ने भएकाले कम्तीमा पनि तीन दिनसम्म सवारीसाधन चलाउन नमिल्ने बताए । अहिले पुलको सतहको मर्मतसम्भार गर्ने तर लठ्ठा भने तत्काल मर्मत नहुने अधिकारीले जानकारी दिए ।


#कर्णाली पुल

प्रतिक्रिया