Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८१ बैशाख २७ गते बिहिबार

पाम तेल किन्नेलाई मलेसियाले वन मान्छे उपहार दिने ।

मलेसियाले आफ्नो पाम तेलको खरिद गर्ने मुख्य व्यापारिक साझेदारलाई उपहारको रूपमा ओराङगुटान दिने जनाएको छ ।  कमोडिटिज (वस्तुहरू)सम्बन्धी मन्त्री जोहारी अब्दुल घानीले चीनले ‘पाण्डा डिप्लोमेसी’ गरे जस्तै आफूहरूले पनि व्यापारिक साझेदारलाई उपहारको रूपमा ओराङगुटान दिने प्रस्ताव अघि सारेको जनाएका छन् । तर, संरक्षणसम्बन्धी समूह डब्ल्यूडब्ल्यूएफले भने ओराङगुटानलाई तिनीहरूको प्राकृतिक वासस्थानमा संरक्षण गर्नका लागि केन्द्रित हुनुपर्ने जनाएको छ । 
ठूलो खालको बाँदरका रूपमा लिइने ओराङगुटानको  मुख्य वासस्थान मलेसिया र इण्डोनेसियालाई मानिने गरेको छ । जोखिमको सूचीमा रहेको ओराङगुटानको नामको हिसाबले शाब्दिक अर्थ ‘वनको मान्छे’ हो । डब्ल्यूडब्ल्यूएफका अनुसार बोर्नियो प्रायद्वीपमा एक लाख पाँच हजार र सुमात्रा प्रायद्वीपमा केही हजार ओराङगुटान रहेका छन् । 
मलेसियन मन्त्री जोहरीले पाम तेलको आयातकर्ता खासगरी चीन, भारत र युरोपेली संघलाई ओराङगुटान उपहारको प्रस्ताव गरिएको जनाएका छन् । उनले एक्समा लेखेका छन्, “विश्व समुदायलाई यसले प्रमाणित गर्ने छ कि मलेसिया जैविक विविधता संरक्षणमा प्रतिबद्ध रहेको छ ।”
उनले मलेसियाले पाम तेलबारेमा रक्षात्मक दृष्टिकोण राख्न नसक्ने जनाउँदै यसको सट्टामा विश्वका देशहरूलाई मलेसिया पाम तेलको दीगो उत्पादक राष्ट्रका रूपमा देखाउनुपर्ने आवश्यकता भएको बताएका छन् । उनले मलेसिया वन र वातावरणीय दीगोपनको संरक्षणमा प्रतिबद्ध रहेको समेत जनाएका छन् ।


#बनमान्छे

प्रतिक्रिया