नेपालमा विकाससम्बन्धी बहस प्रायः एउटा सडक, एउटा पुल वा एउटा आयोजना वरिपरि सीमित हुने गरेको छ। तर विकासको वास्तविक प्रश्न कुनै एउटो पूर्वाधारको निर्माणमा मात्र सीमित हुँदैन; त्यसको पहुँच, उपयोगिता, दिगोपन र त्यसले मानिसको जीवनमा पार्ने प्रभावमा निहित हुन्छ।
आज महाकाली रिभर बेसिनका समुदायको सन्दर्भमा पनि यस्तै बहस देखिन्छ। कतिपयले महाकाली कोरिडोर सडकलाई नै सम्पूर्ण समाधानका रूपमा प्रस्तुत गरिरहेका छन् भने अर्कोतर्फ स्थानीय समुदायको दैनिक जीवनले फरक प्रश्न उठाइरहेको छ—के उनीहरूलाई केवल महाकाली कोरिडोर सडक चाहिएको हो, वा वर्षभरि सहज रूपमा सञ्चालन हुने स्थानीय सडक सञ्जाल?
यस प्रश्नको उत्तर भावनाले होइन, भूगोल, अर्थशास्त्र र सामाजिक यथार्थले दिन्छ।
महाकाली नदी केवल सीमाना होइन; यो एउटा सम्पूर्ण नदी प्रणाली (River Basin) हो। यसका उपत्यका, सहायक खोलाहरू, पहाडी बस्ती, कृषि क्षेत्र, वन, चरन, बजार र सांस्कृतिक सम्पदाले मिलेर एउटा जीवित सामाजिक–आर्थिक प्रणाली निर्माण गरेका छन्। यस्तो प्रणालीको विकास केवल एउटा उत्तर–दक्षिण वा पूर्व–पश्चिम सडकले सम्भव हुँदैन। आवश्यक पर्ने कुरा भनेको सम्पूर्ण नदी बेसिनलाई जोड्ने बहुस्तरीय सडक सञ्जाल हो।
विगत केही वर्षमा महाकाली तटीय क्षेत्रमा सडक निर्माण उल्लेखनीय रूपमा अघि बढेको छ। धेरै स्थानमा गाडी चल्न थालेका छन्। यसले स्थानीय जनजीवनमा परिवर्तन पनि ल्याएको छ। तर यथार्थ के हो भने तीमध्ये धेरै सडक वर्षायाममा अवरुद्ध हुन्छन्। पहिरो, नदी कटान, कमजोर ड्रेनेज, अस्थायी संरचना र न्यून गुणस्तरका कारण केही घण्टाको वर्षाले समेत यातायात बन्द हुने अवस्था दोहोरिन्छ।
यसले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ—यदि सडक वर्षको केही महिना मात्र सञ्चालन हुन्छ भने त्यसलाई पूर्ण विकासको आधार मान्न सकिन्छ त?
स्थानीय नागरिकका लागि सडकको अर्थ केवल गाडी चल्नु होइन। बिरामीलाई अस्पताल पुर्याउन सकिने अवस्था, किसानले उत्पादन बजारसम्म लैजान सक्ने व्यवस्था, विद्यार्थी विद्यालय पुग्न सक्ने सुविधा, गर्भवती महिलाले सुरक्षित प्रसूति सेवा प्राप्त गर्न सक्ने पहुँच, विपद्का बेला राहत र उद्धार समयमै पुग्ने सुनिश्चितता—यी सबै सडकको वास्तविक उपयोगिता हुन्।
यस दृष्टिले हेर्दा महाकाली रिभर बेसिनका समुदायको पहिलो आवश्यकता "All-Season Connectivity" अर्थात् सबै मौसममा सञ्चालन हुन सक्ने सडक पहुँच हो।
विकासको अर्को पक्ष आर्थिक हो। सडकले उत्पादनलाई बजारसँग जोड्न नसकेसम्म त्यसको आर्थिक मूल्य सीमित रहन्छ। दार्चुला लगायत महाकाली बेसिनका धेरै गाउँमा फलफूल, जडीबुटी, कृषि उत्पादन, पशुपालन तथा पर्यटनको ठूलो सम्भावना छ। तर उत्पादन बजारसम्म नियमित पुग्न नसक्दा किसानले उचित मूल्य पाउँदैनन्। यातायात अवरुद्ध हुँदा सम्पूर्ण स्थानीय अर्थतन्त्र प्रभावित हुन्छ।
त्यसैले सडकको बहस "कहाँसम्म सडक पुग्यो?" भन्दा पनि "सडक वर्षभरि सञ्चालन हुन्छ कि हुँदैन?" भन्ने प्रश्नमा केन्द्रित हुनुपर्छ।
महाकाली कोरिडोरको रणनीतिक महत्व अस्वीकार गर्न सकिँदैन। यो राष्ट्रिय सुरक्षादेखि सीमावर्ती व्यापार, पर्यटन, सेवा प्रवाह र राज्यको उपस्थितिसम्मका दृष्टिले अत्यन्त महत्वपूर्ण परियोजना हो। तर कोरिडोर आफैं अन्तिम लक्ष्य होइन; यो त मेरुदण्ड मात्र हो। मेरुदण्ड बलियो भएर पनि शरीरका हातखुट्टासम्म नसाहरू नपुगे शरीर चल्दैन। त्यसैगरी कोरिडोरसँग जोडिने स्थानीय सडक, कृषि सडक, ग्रामीण सडक, झोलुङ्गे पुल, मोटरेबल पुल र बजार केन्द्रहरू विकास नभएसम्म कोरिडोरको पूर्ण लाभ समुदायसम्म पुग्दैन।
अहिले देखिएको अर्को कमजोरी सडक निर्माणलाई केवल राजनीतिक उपलब्धिको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति हो। उद्घाटन, शिलान्यास र किलोमिटरको तथ्याङ्कले मात्रै विकास मापन हुँदैन। सडकको गुणस्तर, मर्मत प्रणाली, ढल निकास, पहिरो नियन्त्रण, जैविक इन्जिनियरिङ, जलाधार संरक्षण र नियमित सञ्चालनको सुनिश्चितताले मात्र त्यसको सफलता निर्धारण गर्छ।
महाकाली नदी बेसिन अत्यन्त संवेदनशील भौगोलिक क्षेत्र हो। जलवायु परिवर्तनका कारण अतिवृष्टि, पहिरो, बाढी र नदी कटानको जोखिम बढिरहेको छ। त्यसैले यहाँको सडक निर्माण जलाधार व्यवस्थापन, भू–संरक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन र विपद् जोखिम न्यूनीकरणसँग एकीकृत हुनुपर्छ। अन्यथा हरेक वर्ष करोडौं रुपैयाँ सडक मर्मतमै खर्च हुने र स्थानीयले सास्ती खेपिरहने अवस्था दोहोरिनेछ।
अर्को महत्वपूर्ण पक्ष स्थानीय सरकारको भूमिका हो। संघीय सरकारले महाकाली कोरिडोर निर्माण गरिरहेको छ भने प्रदेश र स्थानीय तहले त्यससँग जोडिने सहायक सडकहरूलाई गुणस्तरीय, सुरक्षित र सबै मौसममा सञ्चालनयोग्य बनाउन प्राथमिकता दिनुपर्छ। यही समन्वयको अभावले कतिपय स्थानमा मुख्य सडक बने पनि गाउँहरू अझै प्रभावकारी रूपमा जोडिन सकेका छैनन्।
महाकाली रिभर बेसिनलाई यदि समग्र रूपमा समृद्ध बनाउन चाहने हो भने सडक विकासलाई नदी बेसिन व्यवस्थापन, पर्यटन, कृषि, विपद् व्यवस्थापन, बजार विकास, ऊर्जा र वातावरणीय संरक्षणसँग जोडेर हेर्नुपर्छ। यसलाई केवल यातायात परियोजनाको रूपमा बुझ्नु पर्याप्त हुँदैन।
आजको बहस महाकाली कोरिडोरको पक्ष वा विपक्षमा सीमित हुनु आवश्यक छैन। बरु बहस यस्तो हुनुपर्छ—महाकाली बेसिनका हरेक नागरिक वर्षको बाह्रै महिना सुरक्षित रूपमा आवतजावत गर्न सक्छन् कि सक्दैनन्? किसानले आफ्नो उत्पादन सहजै बजार पुर्याउन सक्छ कि सक्दैन? बिरामीले समयमै उपचार पाउँछ कि पाउँदैन? विपद्का बेला उद्धार टोली पुग्न सक्छ कि सक्दैन?
यदि यी प्रश्नहरूको उत्तर अझै "होइन" छ भने समुदायको माग अझै अधुरो छ।
महाकाली रिभर बेसिनका नागरिकलाई केवल एउटा कोरिडोर सडक होइन, समग्र जीवनसँग जोडिएको, सुरक्षित, दिगो, जलवायु–अनुकूल र सबै मौसममा सञ्चालन हुने सडक सञ्जाल चाहिएको छ। विकासको वास्तविक मापन पनि यही हो—सडकले मानिससम्म सेवा पुर्यायो कि केवल नक्सामा अर्को रेखा थपियो?
विकासको बहस अब किलोमिटरमा होइन, नागरिकको जीवनस्तरमा मापन हुनुपर्छ। महाकालीको किनारमा गाडी कुद्नु उपलब्धि अवश्य हो, तर त्यो गाडी वर्षको बाह्रै महिना सुरक्षित रूपमा चल्न सके मात्र त्यसले विकासको वास्तविक अर्थ पूरा गर्छ। यही कारण आज महाकाली रिभर बेसिनका समुदायको सबैभन्दा जायज माग महाकाली कोरिडोरको निरन्तरता मात्र होइन, सम्पूर्ण तटीय र ग्रामीण क्षेत्रलाई जोड्ने सबै मौसममा सञ्चालनयोग्य, सुरक्षित र दिगो सडक सञ्जाल निर्माण हो।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया