Samriddhipost
२०८३ भदौ १६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
प्रकाश चन्द्र मिश्र प्रकाश चन्द्र मिश्र
२०८३ भदौ १६ गते मङ्गलबार

भोटेकोशीमा आएको बाढीको खबर सुन्दा मेरो मन आज सम्म  पनि सामान्य रहन सकेन। नदीमा आएको बाढीले किनारका घर, बाटो, पुल र बस्ती बगाउँछ; तर केही बाढी यस्ता हुन्छन्, जसले पानी ओसरिसकेपछि पनि मानिसको मनभित्र वर्षौंसम्म आफ्नो उर्लिएको आवाज छोडेर जान्छन्।
भोटेकोशीको बाढी देख्दा मेरो मानसपटलमा फेरि त्यही वि.सं. २०७० असार २ गते (१६ जुन २०१३) सालको दार्चुला महाकाली नदीमा आएको बाढीको  सम्झना आउँछ—त्यो कहालीलाग्दो रात, त्यो अन्धकार, नदीको गर्जन, असहायपनको अनुभूति र मृत्यु कति नजिक हुन सक्छ भन्ने पहिलोपटक महसुस गरेको क्षण। महाकाली नियन्त्रणबाहिर बनेर सुदूरपश्चिम दार्चुलाको मन र माटोलाई क्षतविक्षत बनाइरहेको त्यो रात सामान्य थिएन। नदीको गर्जन, उर्लिएको धमिलो पानीको छाल र छिनछिनमा आउने विनाशको खबरले मुटु थरर काँपेको थियो। रातभरिको छटपटी, आफन्त र छिमेकीको सुरक्षाको चिन्ता, अनि आँखाअगाडि भइरहेको कटानको दृश्यले चेतनामा यस्तो डर रोपिदियो, जसको धक्का वर्षौंसम्म शान्त हुन सकेन।
समय बित्यो। नदीमा आएको पानी ओसर्यो। बाढीका भौतिक क्षति विस्तारै पुरिँदै गए। मानिसहरू आफ्ना घर, खेत, बाटो र जीवन पुनःनिर्माणमा लागे। तर मेरो मनभित्र भने त्यो रात त्यति सजिलै सकिएको छैन। विपद् सकिएको घोषणा गर्न सकिन्छ, तर विपद्ले मानिसको मानसपटलमा छोडेको त्रासको अन्त्य घोषणा गर्न सकिँदैन। त्यो रात केवल एउटा प्राकृतिक विपद् थिएन। त्यो मेरो मनोविज्ञानमाथि परेको गहिरो आघात थियो।
युवावस्था जीवनको सबैभन्दा सुन्दर समय हो। सपना हुन्छन्, उमंग हुन्छ, भविष्यप्रतिको उत्साह हुन्छ। साथीभाइसँगको हाँसो, यात्राको रोमाञ्च, नयाँ सम्भावनाको खोजी, जीवनलाई आफ्नै तरिकाले बाँच्ने चाहना—यी सबै युवावस्थाका सुन्दर रंगहरू हुन्। तर कहिलेकाहीँ जीवनमा एउटा घटना आउँछ, जसले ती सबै रंगमाथि अचानक कालो छाया हालिदिन्छ। २०७० को महाकालीको त्यो बाढी मेरो जीवनमा त्यस्तै एउटा मोड बन्यो।
बाहिरबाट हेर्दा म सामान्य थिएँ। मानिसहरूसँग बोल्थेँ, काम गर्थेँ, हाँस्थेँ पनि। तर भित्रभित्रै एउटा डरले ठाउँ बनाइसकेको थियो। नदीको आवाज, पानीको वेग, वर्षाको रात, अँध्यारो आकाश—यी सामान्य प्राकृतिक दृश्यहरू रहेनन्; ती मेरा लागि पुरानो त्रासका संकेत बन्न थाले। कहिलेकाहीँ कुनै आवाजले अचानक त्यो रात सम्झाइदिन्थ्यो। कुनै वर्षाको झरीले मन अस्थिर बनाइदिन्थ्यो। कुनै नदीको किनारमा पुग्दा शरीर त्यहीँ भए पनि मन फेरि त्यही पुरानो रातमा फर्किन्थ्यो। विपद्को मनोवैज्ञानिक असर यस्तै हुँदोरहेछ—घटना बितिसक्छ, तर शरीर र मस्तिष्कले त्यसलाई बितेको भनेर स्वीकार गर्न लामो समय लगाउँछ।
प्रकृतिसँग मानिसको सम्बन्ध अत्यन्त पुरानो छ। नदी जीवन हो, पानी जीवन हो, वर्षा जीवन हो। तर जब त्यही नदी अचानक मृत्यु र विनाशको रूप धारण गर्छ, मानिसको प्राकृतिक सुरक्षाबोध नै हल्लिन्छ। त्यसपछि पानी केवल पानी रहँदैन। वर्षा केवल वर्षा रहँदैन। नदी केवल नदी रहँदैन। ती सबै सम्भावित खतराका प्रतीक बन्न सक्छन्। मैले पनि त्यही अनुभव गरेँ।
बाढीको वास्तविक क्षति कति भयो भन्ने तथ्यांक होला। कति घर बगे, कति खेत पुरिए, कति मानिस प्रभावित भए—यी सबैको हिसाब राख्न सकिन्छ। तर एउटा मानिसको मनमा कति डर बस्यो, कति निद्रा हरायो, कति सपना अधुरा भए र कति वर्षसम्म उसले आफूलाई पूर्ण सुरक्षित महसुस गर्न सकेन—यसको कुनै सरकारी तथ्यांक हुँदैन। यही कारणले विपद्को वास्तविक क्षति भौतिक क्षतिभन्दा धेरै ठूलो हुन्छ।
त्यो त्रास, त्यो निरन्तर बेचैनी र मानसिक बोझले मेरो जीवनमा अर्को मूल्य चुकायो। हामी मानसिक पीडालाई प्रायः अदृश्य पीडा भन्छौँ। तर अदृश्य हुनु भनेको त्यसको प्रभाव कमजोर हुनु होइन। मनमा जम्मा भएको डरले निद्रा बिगार्न सक्छ, चिन्ताले शरीरलाई थकाउन सक्छ, निरन्तर तनावले जीवनशैली बदल्न सक्छ।
समयसँगै यो बोझ शारीरिक रूपमा पनि देखियो। लामो मानसिक तनाव र विचलनको परिणामस्वरूप मैले ट्रान्सभर्स माइलाइटिस (Transverse Myelitis) जस्तो स्नायुसम्बन्धी समस्याको सामना गर्नुपर्यो, जसले मेरुदण्डको नसलाई असर गर्दा न्युरोजेनिक ब्लैडर (Neurogenic Bladder) को दीर्घकालीन समस्या पनि बल्झियो। जुन उमेरमा नयाँ सपना बुन्नुपर्ने थियो, त्यही उमेरमा मैले आफ्नो शरीर र स्वास्थ्य सुधारको कठिन युद्ध लड्नुपर्यो। मन र शरीरबीचको सम्बन्ध कति गहिरो हुँदोरहेछ भन्ने कुरा मैले आफ्नै जीवनबाट बुझ्नुपर्यो।
मेरो जीवनको हर्ष, उल्लास, रोमाञ्च र युवावस्थाका सुन्दर समयको एउटा ठूलो हिस्सा मैले त्यही मनोवैज्ञानिक बोझ र त्यससँग जोडिएका स्वास्थ्य समस्याका कारण गुमाउन पुगेँ। आज फर्केर हेर्दा लाग्छ—बाढीले मान्छेले घर वा सम्पत्ति मात्र बगाएको थिएन; त्यसले मेरो जस्तै जीवनको एउटा सम्भावित अध्याय पनि आफूसँगै बगाएर लगेको रहेछ। त्यो अध्याय फेरि फर्किएन।
जीवनको त्यो अन्धकारमय मोडमा, जहाँबाट फर्कन असम्भव जस्तै लाग्थ्यो, त्यहाँ मलाई परिवार, मित्र र अनगिन्ती शुभचिन्तकहरूको असीम माया, प्रार्थना र आशीर्वादले आड दियो। हरेक पाइलामा दिइएको हौसला नै मेरो जीवनको ठूलो बल बन्यो, र स्वास्थ्यका गम्भीर चुनौती र शारीरिक सीमाहरूका बाबजुद हार नमान्ने भित्री सङ्कल्पले पुनर्जीवनको बाटो खोल्यो। उपचारको लामो प्रक्रिया, शारीरिक पुनर्स्थापना र मानसिक सन्तुलनको निरन्तर प्रयासले बिस्तारै मलाई उभ्याएको छ। आज म पूर्ण रूपमा पहिले जस्तो नभए पनि, जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न सिकेको छु। विपद्ले खोसेको समय फिर्ता आउँदैन, तर त्यसबाट निस्किएको बल र कृतज्ञताले नयाँ बाटो खोल्छ।
वर्षौंसम्म मैले आफूभित्रको यो अनुभवलाई केवल व्यक्तिगत कमजोरीका रूपमा हेरेँ होला। तर आज बुझ्दैछु—विपद्पछि डराउनु कमजोरी होइन। असुरक्षित महसुस गर्नु कमजोरी होइन। बारम्बार घटना सम्झिनु कमजोरी होइन। मानिसको मस्तिष्कले आफूलाई बचाउन खोजिरहेको हुन्छ। अचानक आएको ठूलो विपद्ले मानिसको सुरक्षाको आधारभूत अनुभूति नै हल्लाइदिन सक्छ, र त्यसपछि मस्तिष्कले सम्भावित खतरा खोजिरहन्छ। सामान्य परिस्थितिमा पनि सतर्कता अस्वाभाविक रूपमा बढ्न सक्छ।
त्यसैले विपद्पछि मनोसामाजिक सहयोग पनि राहतको एउटा अत्यावश्यक हिस्सा हो। हामीले बाढी आयो भने खाद्यान्न दिन्छौँ, त्रिपाल दिन्छौँ, कपडा दिन्छौँ, औषधि दिन्छौँ, घर बनाइदिन्छौँ, सडक बनाउँछौँ। तर एउटा प्रश्न कम सोध्छौँ—"तिमीभित्र के भइरहेको छ?" सायद यही प्रश्न विपद् व्यवस्थापनको सबैभन्दा मानवीय प्रश्न हो।
आज भोटेकोशीमा आएको बाढीले धेरै मानिसलाई पीडित बनाएको होला। कसैले घर गुमाएको होला, कसैले जीविकोपार्जनको आधार गुमाएको होला, कसैले आफ्ना प्रियजन गुमाएको होला। तर यसले म जस्ता विगतको विपद् भोगेका मानिसको मानसपटलमा पनि पुराना दृश्यहरू जगाइदिएको हुन सक्छ। कुनै बाढीको दृश्य हेर्दा कसैलाई आफ्नो पुरानो घर सम्झना आउन सक्छ। कुनै नदीको गर्जन सुन्दा कसैलाई मृत्युको भय सम्झना आउन सक्छ। कुनै वर्षाको रातले कसैलाई निद्राबाट ब्युँझाउन सक्छ।
हामीले बाहिरबाट देख्ने मानिस र उसभित्र बोकेको कथा एउटै हुँदैन। बाढीबाट बचेको मानिस सधैँ पूर्ण रूपमा बचेको हुँदैन। कहिलेकाहीँ उसको शरीर बच्छ, तर मनको एउटा हिस्सा त्यही घटनास्थलमै अड्किएर बस्छ।
नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, हिमपहिरो, आगलागी र अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहेको देश हो। तर हाम्रो विपद् व्यवस्थापन अझै धेरै हदसम्म भौतिक राहत र पुनर्निर्माणमा केन्द्रित छ। हामीलाई पुल चाहिन्छ, सडक चाहिन्छ, घर चाहिन्छ, खानेपानी चाहिन्छ—निश्चय नै चाहिन्छ। तर त्यससँगै हामीलाई मानसिक पुनर्निर्माण पनि चाहिन्छ।
विपद्पछिको राहतमा मनोसामाजिक परामर्श, सुरक्षित संवाद, बालबालिकाको मनोवैज्ञानिक सहयोग, परिवार पुनर्मिलन, समुदायमा विश्वास पुनर्स्थापना र दीर्घकालीन मानसिक स्वास्थ्य सेवाको पहुँचलाई पनि प्राथमिकता दिनुपर्छ। किनकि घर पुनर्निर्माण गर्न सकिन्छ, पुल पुनःनिर्माण गर्न सकिन्छ, सडक फेरि बनाउन सकिन्छ। तर मानिसको मनमा बसेको भय, शोक र असुरक्षालाई बेवास्ता गरियो भने पुनर्निर्माण अधुरो रहन्छ।
आज म आफ्नो त्यो अनुभवलाई केवल व्यक्तिगत दुःखका रूपमा हेर्न चाहन्नँ। यो नेपालका हजारौँ विपद् प्रभावित मानिसको साझा कथा हो। कसैले भूकम्प भोगेको छ, कसैले पहिरो, कसैले बाढी, कसैले डुबान, कसैले आगलागी, कसैले हिमपहिरो। घटना फरक छन्, तर मनमा पर्ने चोट उस्तै हुन सक्छ।
त्यसैले विपद्लाई केवल "कति क्षति भयो?" भनेर नाप्नु पर्याप्त छैन। हामीले सोध्नुपर्छ—"कति मानिसको मन घाइते भयो?" "कति मानिसले वर्षौँसम्म डर बोकेर बाँचे?" "कति बालबालिकाको बाल्यकाल विपद्ले खोस्यो?" "कति युवाको सपना र सम्भावना मनोवैज्ञानिक पीडाका कारण कमजोर भयो?" यी प्रश्नहरूको उत्तर खोजेपछि मात्र हामी विपद् व्यवस्थापनलाई मानवीय बनाउन सक्छौँ।
२०७० को त्यो कहालीलाग्दो रात मेरो स्मृतिबाट अझै मेटिएको छैन, र सायद कहिल्यै मेटिने पनि छैन। तर जीवनको एउटा सत्य के रहेछ भने—हामीले विगत मेट्न नसके पनि त्यसलाई नयाँ अर्थ दिन सक्छौँ। मेरो जीवनबाट हराएका ती हर्षका वर्षहरू फर्केर आउने छैनन्। गुमेको युवा समय फेरि प्राप्त हुने छैन। तर त्यो पीडाबाट सिकेको कुरा अरूको जीवनमा उपयोगी बनाउन सकिन्छ।
सायद मेरो कथा कसैलाई आफ्नो मनको पीडा स्वीकार गर्न प्रेरित गर्नेछ। सायद कुनै विपद् प्रभावित व्यक्तिले आफू एक्लो छैन भन्ने महसुस गर्नेछ। सायद कुनै नीति निर्माताले राहतको प्याकेजमा मनोसामाजिक सहयोग पनि राख्नुपर्छ भन्ने सम्झनेछ। सायद कुनै परिवारले विपद्पछि "ऊ त ठीकै छ" भनेर चुप लाग्नुको सट्टा "तिमीलाई कस्तो भइरहेको छ?" भनेर सोध्नेछ।
त्यसैले आज भोटेकोशीलाई हेर्दा म केवल अर्को बाढी देख्दिनँ। म आफ्नै अतीतको नदी देख्छु। त्यो नदी अझै मेरो मानसपटलमा बगिरहेको छ। तर अब त्यसको गर्जनमा केवल भय छैन—त्यहाँ एउटा चेतावनी पनि छ। विपद् आउँदा घर र बस्ती मात्र बचाउनु हुँदैन, मानिसको मन पनि बचाउनुपर्छ।
किनकि नदीमा आएको बाढी केही दिनमा ओसरिन्छ। तर मानिसको मनमा आएको बाढी कहिलेकाहीँ वर्षौँसम्म ओसारिँदैन। र मैले त्यो बाढी भोगेको छु।
त्यसैले मलाई थाहा छ—विपद् सकिएपछि पनि विपद् बाँकी रहन्छ। त्यो बाँकी रहन्छ—कसैको स्मृतिमा, कसैको निद्रामा, कसैको स्वास्थ्यमा, कसैको मौनतामा र कसैको अधुरो युवावस्थामा। सायद यही हो विपद्को सबैभन्दा अदृश्य, तर सबैभन्दा गहिरो क्षति।
तर जस्तोसुकै अँध्यारो र आँधीबेहरी आए पनि, यदि आत्मबल र शुभचिन्तकहरूको साथ छ भने मानिस पुनर्जीवित भएर नयाँ बिहानीतर्फ पाइला चाल्न सक्छ। हामी सबै विपद्को छायाँबाट बाहिर निस्कन सक्छौं—यदि हामी एकअर्कालाई साथ दिन्छौं भने, र यदि विपद् व्यवस्थापनले मानिसको मन बचाउने कामलाई पनि घर र पुल बचाउने कामजत्तिकै गम्भीरताले लिन्छ भने।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>