नेपालमा धेरैले ठेकेदार (निर्माण) कम्पनीलाई घर बनाउने ठेक्का दिँदा मौखिक सहमतिकै भरमा काम दिने गरेको पाइन्छ । लिखित सम्झौता गरेर घर निर्माणको ठेक्का दिने परिपाटी अझै सुरु भइसकेको छैन । तर, ठूला व्यवसायिक कम्पलेक्स, हाउजिङ, अपार्टमेन्ट, सरकारी भवन निर्माणमा भने सम्झौता हुने गर्छ ।
यदि हामीले समयमै आफ्नो सपनाको घर निर्माण सम्पन्न गर्ने हो भने ठेकेदार कम्पनीसँग निर्माण सम्झौता गर्नु अत्यावश्यक हुन्छ । किनकी मौखिक सहमतिका भरमा ठेकेदार कम्पनीलाई काम दिँदा सम्झौताका सर्तबारे प्रष्ट हुँदैन र त्यसले कानुनी बैधतासमेत पाउँदैन ।
लक्ष्य तोकेर निर्माण सम्झौता नगर्दा ठेकेदार कम्पनीले जहिल्यै निर्माण कार्यमा झुलाउने गरेको पाइन्छ । घर निर्माणको करार सम्झौता नगर्दा ठेकेदार कम्पनीले समयमा घर निर्माण सम्पन्न नगरिदिने, सहमति गरेको भन्दा धेरै रकम माग गर्ने र लागत बढाइदिने खतरा हुन्छ ।
ठेकेदार कम्पनी र घर बनाउने ग्राहकबीच तालमेल मिलाउनका लागि पनि निर्माण सम्झौता अनिवार्य हुनुपर्छ । निर्माण सम्झौतामा दुबै पक्षले गर्नुपर्ने कामको लक्ष्य निर्धारण गरेर स्पष्ट किटान गर्नुपर्छ । नत्र तपाईको चाँडै घर सर्ने सपना पुरा नहुन सक्छ ।
तपाईं हामीले देखे भोगेकै कुरा हो, कतिपय घरहरु निर्माण सुरु गरेको लामो समयसम्म सम्पन्न हुँदैनन् । ठेकेदार कम्पनीको लापरबाहीका कारण पनि कतिपय घरहरु निर्माणकै क्रममा अलपत्र परेका हुन्छन् ।
घर निर्माण सुरु गर्नुअघि विस्तृत योजना बनाउनु आवश्यक छ । आफ्नो योजना बनेपछि निर्माण सुरु गर्नुअघि कम्पनीसँग सम्झौता गर्नुपर्छ ।
निर्माणको ठेक्का दिँदा सबैभन्दा पहिला जिम्मेवार निर्माण कम्पनी छनौट गर्नुपर्छ । र, लक्ष्य तोकेरै निर्माणको करार सम्झौता गर्नुपर्छ । करार सम्झौतामा घर निर्माणको अधिकतम समय, लागत, निर्माणमा प्रयोग हुने सामाग्रीको गुणस्तर, मापदण्ड आदि स्पष्ट रुपमा उल्लेख गर्नुपर्छ । तोकिए अनुसार काम नभए जरिवाना, क्षतिपूर्ति वा भुक्तानीमा रोकिदिने सम्मका प्रावधान प्रष्ट उल्लेख गर्नुपर्छ ।
ठेकेदार, निर्माण कम्पनी, व्यवसायी वा घरधनी जे भएपनि घर वा भवन बनाउँदा तपाईसँग भवन निर्माणको सम्झौता हुनुपर्छ जहाँ स्पष्ट रुपमा दुबै पक्षका अधिकार र जिम्मेवारी लेखिएको हुनुपर्छ । निर्माण सम्झौतामा निर्माण कम्पनी दर्ता भएको प्रमाण, स्वीकृतिपत्र र संरचना निर्माण सम्बन्धि बुँदाहरु प्रष्ट रुपमा उल्लेख भएको हुनुपर्छ । ताकी निर्माण कार्यको क्रममा कुनै त्रुटि वा असन्तुष्टि भएमा कानुनी रुपमा त्यसको समाधान खोज्न सकियोस् ।
निर्माण सम्झौताका तत्वहरु
सामान्यतया भवन निर्माण सम्झौतामा विभिन्न खण्डहरु समावेश भएका हुन्छन् । निर्माण कम्पनीको नीति नियमअनुसार सम्झौताका बुँदाहरु केहि घटिबढी हुन सक्छ । तर, पनि कुनै निश्चित निर्माण सम्झौतामा केहि आधारभूत प्रावधानहरु समावेश भएकै हुनुपर्छ । आममानिसलाई निर्माण सम्झौतामा के–के पक्षहरु समावेश हुन्छन् वा के–के पक्ष अनिवार्य रुपमा समावेश हुनुपर्छ भन्ने ज्ञान नहुन सक्छ ।
तल केहि आधारभूत पक्षहरु र त्यसको संक्षिप्त विश्लेषण गरिएको छ जसले तपाइँलाई निर्माण सम्झौतामा हुनुपर्ने कुरा र सो बारे बुझ्न केहि सहज हुनसक्छ ।
सामान्यतया निर्माण सम्झौतामा यी बुदाँहरु समावेश हुनुपर्छ:
१. निर्माण कम्पनीको नाम र सम्पर्क विवरण: सम्झौतापत्रमा निर्माण कम्पनीको नाम, दर्ता नं., आधिकारीक टेलिफोन नं., इमेल ठेगाना, कम्पनीको ठेगाना विवरण स्पष्ट रुपमा उल्लेख भएको हुनुपर्छ ।
२. ग्राहक (घरधनी)को सम्पर्क विवरण: ग्राहकको सम्पर्क नं., इमेल ठेगाना, नागरिकताको प्रमाणपत्र नं., स्थायी ठेगाना आदि विवरण उल्लेख गरिनुपर्छ । यो सँगै निर्माण हुन लागेको भवनको कार्यक्षेत्र विवरण अर्थात ठेगाना पनि उल्लेख हुनुपर्छ ।
३. प्रोपर्टीको प्रकार: निर्माण हुनलागेको भवन आवासिय वा व्यवसायिक कुन हो भनेर खुलाउनुपर्छ ।
४. सम्झौतामा संलग्न कागजातको सूची: कामको लागि आवश्यक जग्गाको ब्लुप्रिन्ट, भवनको डिजाइन (नक्शा) आदि समावेश हुनुपर्छ ।
५. लागत: परियोजना निर्माण सम्पन्न हुँदा सम्म लाग्ने लागतको सूची बनाई कुल लागत उल्लेख गरिनुपर्छ । शुरुवातमा गरिने डाउन पेमेन्टको विवरण, किस्तामा भुक्तानी गर्दा चुकाउनुपर्ने मूल्य र त्यसको मिती आदि कुरा उल्लेख भएको हुनुपर्छ ।
६. ग्राहकले भुक्तानी गर्न असफल हुँदा: यदि घरधनी (ग्राहक)ले निर्माण कम्पनीलाई काम गरे बापतको पैसा तिर्न वा पैसाको जोहो गर्न असक्षम भएको खण्डमा के कस्तो प्रक्रियाद्वारा सम्झौता रद्द गर्न सकिने प्रावधान हुन्छ, सो कुरा खुलाउनुपर्छ ।
७. संरचना निर्माण कार्यको विवरण र सम्पन्न हुने मिति: यो बुँदाले के निर्माण भइरहेको छ र सो निर्माण सम्पन्न हुने अनुमानित मितीको पूर्णरुपमा वर्णन गर्छ । यसले गर्दा घरधनीलाई आफ्नो भवन यो समयमा सम्पन्न हुन्छ भनेर जानकारी हुनुको साथै अन्य पूर्वतयारी गर्न मद्दत पुग्छ ।
८. परियोजना स्थगित गर्ने अधिकार: यदि घरधनीले निर्माण कम्पनीलाई तिर्नुपर्ने रकम वा त्यसको किस्ता समयसीमा भित्रमा भुक्तान नगरेमा परियोजना रद्द गर्नको लागि यो बुँदा आवश्यक हुन्छ । दुबै पक्षले कसरी सम्झौता खारेज गर्न सक्छ भनेर व्याख्या गर्ने प्रावधानहरु पनि समावेश गर्नु उचित हुन्छ ।
९. भुक्तानी रोक्का गर्ने अधिकार: संरचना निर्माणको क्रममा भएका कामहरु गुणस्तरहिन भएमा, कामदारहरु दक्ष नभएमा घरधनीले निश्चित शर्तहरुको आधारमा भुक्तानी रोक्का गर्न पाउँछ ।
१०. सम्झौता नियम विपरित गई उल्लंघन भएमा त्यसको उपायहरु: सम्झौता उल्लंघन भएमा त्यसको विरुद्धमा मुद्दा हाल्ने अधिकार दुबै पक्षसँग हुन्छ । मुद्दा लड्नुपरेमा ठाउँ तोक्नुपर्छ । निर्माण कम्पनी अवस्थित ठेगानालाई मुद्दाको लागि ठाउँ तोक्नुपर्छ ।
११. अनुमतिपत्र, बीमाको लागि आवश्यक मापदण्डहरु: ठेकेदार कम्पनीले स्थानीय निकायले जारी गरेको नियमावली राम्रोसँग बुझेर निर्माण कम्पनी सञ्चालनको लागि आवश्यक कागजातहरु र तिनको प्राप्तीको लागि अपनाउनुपर्ने प्रक्रियाबारे थाहा पाउनुपर्छ । आफुसँग सबै आवश्यक कागजात भएन भएको निश्चित गर्नुपर्छ ।
१२. दैवीप्रकोप र अप्रत्याशित परिस्थिती: अप्रत्याशित परिस्थितीको अवस्थामा र बाढि, पहिरो, भुइचालो आदि जस्ता प्राकृतिक विपत्तीमा भएको क्षतिको परिपूर्ति कुन पक्षले गर्ने भन्ने कुरा सम्झौतामा उल्लेख गर्नुपर्छ ।
१३. निरीक्षण र पहुच: यस बुँदाले घरधनीलाई जुनसुकै बेला पनि निर्माण कार्यस्थलमा गई निर्माण कार्यको निरीक्षण गर्ने अधिकार हुन्छ र ठेकेदार कम्पनीलाई निर्माण कार्य अवधीभर निर्माण कार्यको सम्पूर्ण अधिकार प्राप्त हुन्छ भन्ने कुरा निश्चित गर्छ ।
१४. अर्डर परिवर्तन: कुनै पनि पक्षले विविध कारणवश सम्झौता रद्द गर्न चाहेमा लिखित कागजात पेश गरेर दुबै पक्षबाट स्वीकृत भएमा सम्झौतामा आवश्यक पर्ने औपचारिकताहरु पुरा गरी आपसी समझदारी गर्न सकिनेछ ।
१५. वारेन्टी: निर्माण कम्पनीले उनीहरुले गरेको निर्माण कार्य पूर्णरुपमा त्रुटिरहित हुने भन्ने कुराको विश्वास दिलाउनुपर्छ । सम्झौता अवधीभर कुनै पनि काममा त्रुटि भएमा सो समस्याको समाधानको जिम्मा निर्माण कम्पनीले लिनुपर्ने छ ।
१६. अन्य ठेकेदारको अधिकार नरहने: निर्माण कम्पनीले अन्य ठेकेदारलाई कामको जिम्मा दिएपनि घरधनीसँग उनीहरुको कुनै सरोकार नहुने । प्राथमिक ठेकेदार अर्थात निर्माण कम्पनीले अन्यउप– ठेकेदारसँग गरेको सम्झौताले घरधनीसँग गरेको सम्झौता उल्लंघन भएमा त्यसको जिम्मा निर्माण कम्पनीले लिनुपर्छ ।
१७. क्षतिको मात्रा र दायित्वको सीमा: काममा विभिन्न कारणले हुन सक्ने ढिलाई र अन्य अप्रत्याशित परिस्थितीमा हुने क्षतिमा दुबै पक्ष बिचआपसी समझदारीमा निर्णय लिन सकिन्छ ।
१८. निर्माण सम्पन्न भएपछि सरसफाई र व्यवस्थापन: भवन निर्माण सम्पन्न भएपछि निर्माण कम्पनीले त्यस कार्य क्षेत्रमा रहेको अनावश्यक सामाग्रीहरु, हानिकारक सामाग्रीहरुको उचित व्यवस्थापन गरी भवनको सरसफाई गरी हस्तान्तरण गर्नुपर्ने छ ।
१९. दुबै पक्षको हस्ताक्षर र मिति: सम्झौताका सबै बुदा र खण्डहरुमा दुबै पक्षको सहमती भएपछि दुबै पक्षले अन्तिममा सम्झौता गरिएको मिति सहित आ–आफ्नो हस्ताक्षर गर्नुपर्छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया