Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ असोज ३० गते आइतबार

कञ्चनपुर एमालेभित्र पहिरो, धमाधम छाड्न थाले प्रभावशाली नेताले पार्टी ।
फायल फाेटाे

नेकपा एमाले कञ्चनपुरका पुराना नेताहरूले पार्टी छाड्न क्रम बढ्दै गएको छ । लामो समय सांगठनिक राजनीति गरेका तर कुनै पनि लाभ नलिएका नेताहरूले पार्टी छाडिरहेका छन् ।

उम्मेदवारी दर्ता हुनुअघि नै जिल्लाका प्रभावशाली मानिने नेताहरूले पार्टीभित्र विद्रोह गर्दै बागी उम्मेदवारी मनाेनयन गराएका छन् । कञ्चनपुरका संस्थापक एमाले भनेर चिनिने भक्तबहादुर अधिकारी, खेम सुवेदी, टेकबहादुर हमाल लगायतका पुराना नेताहरुले पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनीहरूसँगसँगै राजिनामा दिएका पुराना एमाले नेता जयराज पाण्डेय लगायतका नेताहरु बागी उम्मेदवार बनेका नेताहरूकाे चुनावी प्रचारप्रसारमा जुटिरहँदा आइतबार फेरि पुराना र प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेको सार्वजनिक गरेका छन् ।
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास घर भएका सेवानिवृत्त शिक्षक रामचन्द्र नेपाल लगायतका चारजनाले संयुक्त वक्तव्य जारी गर्दै राजिनामा गरेकाे जानकारी गराएका छन् । साहित्य क्षेत्रमा समेत अब्बल मानिने नेपाल कञ्चनपुर जिल्लामा मात्रै नभएर राष्ट्रिय स्तरमै नाम चलेका कथाकार पनि हुन् । उनका थुप्रै साहित्यिक पुस्तक प्रकाशित छन् ।

उनको पार्टी परित्यागबाट एमालेले कञ्चनपुरमा ठूलो क्षति ब्यहाेर्नुपर्ने हुनसक्ने आकलन गर्न थालिएको छ । एमालेमा केन्द्रीय सल्लाहकार परिषद सदस्य रहेका नेपालसँगै सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पदमप्रसाद शर्मा, जिल्ला कमिटी पूर्व सल्लाहकारद्वय श्यामलाल सुवेदी र शंकरबहादुर केसीले संयुक्त राजिनामा दिएका हुन् ।

पाण्डेय, हमाल, अधिकारी, सुवेदी र नेपाल आफ्नो क्षेत्रमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । तर पार्टीले अन्याय गरेको भन्दै उनीहरूले परित्याग गरेको बताएका छन् ।

प्रतिक्रिया