Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
दार्चुला
२०७९ मङि्सर १४ गते बुधबार

दार्चुलाकाे लेकममा टावर थप्दै टेलिकम, नेटवर्कमा सुधार हुने ।

दार्चुलाको लेकम गाउँपालिका क्षेत्रभित्र तीन वटा नयाँ टावर निर्माणका लागि प्रारम्भीक सर्बे गरिएको छ । लेकम गाउँपालिकाको वडा नम्बर १ बित्थड, वडा नम्बर ३ को लाली र वडा नम्बर ५ को चन्नौला क्षेत्रमा नेपाल टेलिकमको नयाँ टावर निर्माणका लागि सर्बे गरिएको नेपाल टेलिकम केन्द्रीय कार्यालयका बरिष्ट प्राविधिक अधिकृत एबं इन्जिनियर रामदत्त पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०७७ सालमा पूर्वमन्त्री गणेशसिंह ठगुन्ना र लेकम गाउँपालिकाका तत्कालिन अध्यक्ष परमानन्द जोशी नेतृत्वको डेलिगेसन टोलीले गरेको मागका आधारमा नेपाल टेलिकमको नियमित कार्यक्रममा राखेर टावर निर्माण गरिन लागेका हुन् । विगत डेढ बर्षदेखि प्रकृयामा रहेको टावर थप गर्ने काम चालु आर्थिक वर्षमा अगाडी बढाउन लागिएको उहाँको भनाई छ ।

लेकम गाउँपालिकामा कैनोडा र उचाकोटमा टावर भएपनि प्रभावकारी सेवा प्रवाह नभएको सेवाग्राहीहरुको चर्को गुनासो छ । लेकमको वडा नम्बर ६ उचाकोटमा निर्माण भएको टावरबाट अझैपनि फोर जि सेवा सुचारु गरिएको छैन् । अबको केही महिनाभित्रै फोर जि सेवा सुचारु गरिने उहाँले बताउनुभयो । कैनोडा टावरको स्तरोन्नतीका लागि समेत पटकपटक माग भएपनि प्राविधिक कठिनाइ लगायत कारणले प्रभावकारी सेवा प्रवाह हुन नसकेको उहाँको भनाई छ । विगत केही वर्षयता स्थानीय सरकारले समेत कैनोडा टावरको क्षमता अभिबृद्धिका लागि अनुरोध गर्दै आएको बताउदै उहाँले सबै क्षेत्रको सञ्चार समस्या समाधान गर्ने गरी काम अगाडी बढेको जानकारी दिनुभयो । अबको एक बर्ष भित्रमा लेकमका सबै भूगोलमा टेलिकमको सेवा पुग्ने गरी विभिन्न स्थानमा टावर निर्माणको काम गर्ने गरी प्रारम्भीक सर्भेको काम गरिएको उहाँको भनाई छ ।

दार्चुला जिल्लामा झण्डै ३० वटा टावरबाट नेपाल टेलिकमले सेवा प्रवाह गर्दै आएको छ । सञ्चारको पहुँच पुग्न बाँकी धेरै ठाउँमा सर्भे गरेर टावर थप गर्ने तयारी भइरहेको छ । कतिपय टावरहरुमा फोर जि सेवा सञ्चालनमा आइसकेको र फोर जि सेवा सञ्चालन गर्न बाँकी सबै टावरमा फोर जि जडानको तयारी भइरहेको नेपाल टेलिकमले जनाएको छ । अतिक्रमित भूमि नजिकको व्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङरुमा समेत टेलिकमले यसै बर्षदेखि फोर जि सेवा सुचारु गरेको छ । सूचना प्रविधिको युगमा भगौलिक कठिनाई, विद्युतको अभाव लगायत कारणले समेत सेवाग्राहीहरु सञ्चार सम्पर्क विच्छेद हुनुपर्ने बाध्यता कायमै रहेकोले सबै ठाउँको समस्या समाधान गर्ने गरी टेलिकमले काम गरिरहेको इन्जिनियर पन्तले बताउनुभयो ।

प्रतिक्रिया