Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर १५ गते बिहिबार

बाजुरामा चेतन ऐडि हत्या आराेपमा वडा अध्यक्ष पक्राउ, मतगणना सुरु हुने ।

नेकपा (एमाले) निकट अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको हत्या आरोपमा प्रहरीले एक जना वडाध्यक्षलाई पक्राउ गरेको छ।

त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्ध बहादुर ऐडी प्रक्राउ परेका हुन्। सोही ठाउँका चेतनलाई वडाध्यक्ष ऐडी लगायत २२ जनाको समूहले कुटपिट गरी हत्या गरेको भन्दै आफन्तले किटानी जाहेरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी सूर्य थापाका अनुसार किटानी जाहेरी परेपछि वडाध्यक्ष ऐडीलगायतलाई प्रक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

गत ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा चुनावको दिन ऐडीलगायतको समूहले चेतनलाई घरबाट निकालेर हत्या गरेको आरोप छ।

वडाध्यक्ष ऐडी एक महिना अघि पनि स्थानीय टेकेन्द्र सुनारलाई कुटपिट र जातीय छुवाछुत गरेको आरोपमा पक्राउ परेका थिए।

सुनार नाटेश्वरी मन्दिरमा पूजा गर्न गएका समयमा उनीमाथि कुटपिट गरिएको थियो।

वडाध्यक्ष ऐडीलगायत घटनामा संलग्न तीन जना जिल्ला अदालतबाट १÷१ लाख धरौटिमा छुटेका थिए। ऐडी नेपाली कांग्रेसका तर्फबाट ३० बैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए।

साढे ३ बजेबाट मतगणना सुरु हुने भएको छ। नेकपा (एमाले) का प्रतिनिधि सर्वदलीय बैठकमा सहभागी भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको समय तय गरेको हो।

निर्वाचन आयोगले हिजो नै गणनाको निर्देशन दिएको थियो। तर, एमालेले आफ्ना कार्यकर्ता चेतन ऐडीका हत्यारा पक्राउ नपर्दासम्म गणनामा सहभागी नहुने र पुनः मतदानको आफ्नो माग कायमै रहेको जनाएको थियो।

सर्वदलीय बैठकमा गणनाका लागि सहमति जुटेपछि तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया