Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असोज ०१ गते सोमबार

हरितालिका तिज तृतिया र गणेश चाैथी, विश्वकर्मा पुजा आज यस्ताे छ चलन मान्यता र आधार ।

तीज हिन्दु नारीले मनाउने महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा नेपाली नारीहरूले भगवान शिवको पूजा आराधनाका साथै नाचगान तथा मनोरञ्जनसमेत लिने गर्छन् । आजकल तीजमा अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । 

यस वर्षको तीज सङ्क्रन्तिका दिन वा आश्विन १ गते सोमबार, चतुर्थीयुक्त रहेको छ । हरितालिका तीज र गणेशजीको जन्म मङ्गल चतुर्थी एकैदिन परेको छ । यो अत्यन्त दुर्लभ घटना रहेकाे ज्याेतिस मेखराज जाेशी बताउछन। यस सम्बन्धमा शास्त्रमा : चतुर्थी सहिता यातु याततिपा फलप्रदा । अवेध्या परा प्रबधिनां पौत्र पौत्रा प्रभर्दति । अर्थात् चतुर्थीयुक्त तीजम जसले श्रद्धाभक्तिपूर्वक शिव–पार्वतीको पूजाआराधना गर्छ उसले कैहिल्यै विधवा हुन पर्दैन र छोरा, नाति, नातिनाले परिपूर्ण हुने छन् भनिएको पाइन्छ । 

यो चाडमा आफ्ना बाबुआमा, दाजुभाइले छोरीचेलीलाई घरमा बोलाउँछन् । मीठा–मीठा परिकार खुवाउँछन् । यसलाई दर खाने भनिन्छ । यस चाडमा दिदीबहिनीहरू आपसमा पनि नयाँ चिज वा सौभाग्यका वस्तु जस्तैः चुरा, पोते, टीका, धागा आदि आदान–प्रदान गर्छन् । यसै अवसरमा गीतका माध्यमबाट वा लयबाट मनका भावना एवं सुखदुःख पनि साटासाट गर्छन् । 

पहिला पहिला गाउँघरको दरखाने परम्परा र सहरीया वा आधुनिक समयको दरखाने परम्परामा धेरै फरक हुन थालेको देखिन्छ । पहिला घरघरमा तीजकै अघिल्लो दिन मात्र दरखाने चलन थियो भने अचेल १५–२० दिन पहिलादेखि नै समूह समूह मिलेर पार्टी प्यालेस वा होटलमा दरखाने चलन चलेको पाइन्छ । यसले गर्दा संस्कृतिलाई नै विकृति वा गह्रुँगो बनाउला कि भन्ने डर लाग्न थालेको छ ।  

यो चाड नेपालीहरूको मौलिक र सांस्कृतिक धरोहरका रूपमा नेपाली समाजमा मनाइने याे चाँड पौराणिक कथाहरूमा यस पर्वको विभिन्न आधार पाइन्छन् । कहीँ पार्वतीले भगवान् शिवलाई पति पाऊँ भनेर व्रतारम्भ गरेको भन्ने पाइन्छ । कतै शिवजीले नै पार्वतीलाई किशोरी अवस्थाका स्मरण गराउने उद्देश्यले यो तीजको कथा सुनाउनु भएको भन्ने पाइन्छ । शिवले पार्वतीलाई यसरी सम्झाउनु भएको थियो रे– ‘हे गौरी ! पर्वतराज हिमालयको घर अर्थात् तिम्रो माइतमा बस्दा गङ्गातटमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई शिव पति पाऊँ भनी घोर तपस्या गरेकी थियौ । उक्त अवधिमा तिमीले कुनै अन्नपानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ रे’ । त्यसैले अविवाहित किशोरीहरूले असल पति पाऊँ भनी शिवजीको पूजा आराधना गरेको भनिन्छ ।

कहीँ आद्य शक्ति भगवान् शिवकी अर्धाङ्गीनी हिमालयकी पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिला व्रत गरेको भन्ने पाइन्छ । यसैले नेपाली महिलाले पनि सोही कुराको अनुसरण गरेका हुन् भन्न भनिन्छ  । 

गणेश चौथीः

स्कन्द पुराणअनुसार भगवान गणेशजी शिव पार्वतीका पुत्र हुन् । यिनको जन्म तीजको भोलिपल्ट अर्थात भाद्रशुक्ल चौथी मङ्गलबारका दिन भएको भन्ने पाइन्छ । यो चौथी कहिले मङ्गलबार पर्छ कहिले पर्दैन । यसैले विश्वभरिका हिन्दु धर्मावलम्बीले गणेशचौथी पूजा, पाठ, आराधना आदि गरी मनाउने गरिन्छ । यसरी गणेशको पूजापाठ गर्दा– 

‘हे ! गौरी सुत हे ! प्रभो गणपते हे ! अष्टसिद्धिपते । 

हे ! गुरो गजवक्त्र हे ! गुणनिधे हे ! ऋद्धिबुद्धि पते’ ।।

भन्दै स्तुति गरिन्छ । 

यसै गरी हिन्दु परम्परामा हरेक दिन वा धार्मिक कार्य सम्पादन गर्न लाग्दा आँटेको कार्य सिद्ध होस् भनी विघ्नहर्ताका रूपमा पहिला गणेशको पूजा गर्ने चलन छ । उहाँको पूजा आराधना गर्दा तलको स्तुति भन्ने चलन छ । हुन त गणेशजीको स्तुति धेरै हुन सक्छन् । तर पनि प्रतिनिधिमूलक रूपमा यहाँ एउटा स्तुति श्लोक दिइएको छ ।

विग्नेश्वराय बरदाय सुरप्रियाय लम्बोधराय सकलाय जगद्धिताय । 

नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते ।। 

गणेश चौथी, गणेशको जन्मदिन, यस दिन पनि नेपाल र विदेशका प्रसिद्ध गणेश मन्दिरहरूमा भगवान गणेशको आराधना गर्न भक्तजनहरूको भीड लाग्ने गर्छ । केही भक्तजनहरूले यस दिनदेखि अनन्तः चतुर्दशीसम्म (दस दिन) गणेशोत्सव मनाउने परम्परा पनि पाइन्छ । 

आजै भगवान विश्वकर्माकाे पुजा समेत गरिन्छ ।

प्रतिक्रिया