Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०५ गते सोमबार

बाजुरामा सुरक्षाकर्मि परिचालन, अनेरास्बियूले गरायाे बाजुरा बन्द ।

बाजुरमा मतदानको दिन त्रिवेणी नगरपालिका–७ मा भएको घटनापछि बाजुरा अशान्त बनेको छ । आफ्ना कार्यकर्ताको हत्या भएको विषयलाई लिएर अनेरास्ववियुले बाजुरा सदरमुकाम मार्तडी बजार बन्द गराएको छ ।  बजार बन्द गराउनुका साथै बजारमा टायर बालेर प्रदर्शन समेत गरेका छन । अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियूले आन्दोलन थालेको हो । 

सम्भावित थप घटना हुन नदिन
सदरमुकाममा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको हो ।  त्रिबेणी–७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदानको विषयलाई लिएर विवाद हुँदा २ जनाको ज्यान गएको थियो । कांग्रेस कार्यकर्ताले विवाद गरेपछि सुरक्षाकर्मीको गोली लागेर सञ्जिब अयडीको ज्यान गएको थियो । 

उनको मृत्युपछि उग्र बनेका कांग्रेस कार्यकर्ताले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीमाथि कुटपिट गरेका थिए । उनीहरूको कुटपिटबाट गम्भीर घाइते बनेका अयडीको उपचारका लागि अछामको बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । 

उनको मृत्युपछि अनेरास्ववियुले बाजुरासँगै अछाममा समेत आन्दोलन थालेको छ ।  बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सम्भावित घटना रोक्न आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको बताए । 
‘सदरमुकामतिर त्यस्तो छैन् । शान्त नै छ । घटनास्थलतिर अलि समस्या छ । आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ प्रजिअ अधिकारीले भने ।  

सञ्जिबको शवलाई सदरमुकाम ल्याउने तयारी भइरहेको उनको भनाई छ । बलयपाटा अस्पतालमा रहेको अर्को शवलाई पनि पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने प्रयास भइरहेको प्रजिअ अधिकारीले बताए ।  अछामबाट समेत बाक्लो संख्यामा सुरक्षाकर्मी बाजुरा गएका छन् । सम्भावित हुनेसक्ने दुर्घटनाबारे सुरक्षा निकाय चनाखो रहेको प्रजिअ अधिकारीले बताए । 

घटनाबारे प्रहरीले अनुसन्धान थालिसकेको उनको भनाई छ । चेतनको मृत्युपछि अनेरास्ववियुले अछामको साँफे–मार्तडी सडक बन्द गराएको थियो ।  दोषिमाथि कारबाही गर्न अनेरास्ववियुको माग उक्त घटनापछि अनेरास्ववियु केन्द्रीय कार्यालयले समेत भर्त्सना गर्दै दोषिमाथि कारवाही गर्न माग गरेको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिन् ।

कानुनी दायरमा नल्याए अनेरास्ववियु जस्तोसुकै मुल्य चुकाउन तयार रहेको उनको चेतावनी छ ।  अनेरास्ववियुले देशैभरका शैक्षिक संस्थामा उक्त घटनाको भण्डाफोर गर्न समेत अपिल गरेकी छिन् ।

प्रतिक्रिया