Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० बैशाख २८ गते बिहिबार

दाेधारा चाँदनी सुख्खा बन्दरगाह बन्ने पक्का ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १, २ र ३ मा सुक्खा बन्दरगाह निर्माण गर्ने बाटो खुला भएको छ । दोधारा चाँदनी नगरपालिका १ मा पर्ने गौरीशङ्कर मध्यवर्ती सामुदायिक वनको ११७ हेक्टर वन क्षेत्र मध्ये ६३ हेक्टर जग्गामा आयोजनाको तयारीको काम थाल्न प्रधानमन्त्री एवम् वन तथा वातावरण मन्त्री स्तरबाट वैशाख १७ गते निर्णय भएको र वातावरणीय प्रभाव मूल्याङ्कन समेतको आधारमा सुक्खा बन्दरगाह निर्माणको बाटो खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टर मोडल यातायात विकास समिति चोभारले जनाएको छ । यसले एकीकृत जाँच चौकी भारतसँग तथा भारत मार्फत हुने अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको निमित्त कोषे ढुङ्गा हुने पनि समितिले दाबी गरेको छ ।

स्वीकृत भएको क्षेत्रमा सुक्खा बन्दरगाह/ एकीकृत जाँच चौकी निर्माणको पहिलो चरणको काम हुने पनि समितिले जनाएको छ । सुक्खा बन्दरगाह आयोजना नेपाल सरकारबाट राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा स्वीकृत आयोजना हो ।

सुक्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर १,२ र ३ मा पर्ने मायापुरी सामुदायिक वन उपभोक्ता समिति र गौरीशङ्कर सामुदायिक वन उपभोक्ता समितिले चर्चेको करिब २८० बिगाहा जग्गा पहिचान गरिएको थियो । यसका लागि स्थानीय निकाय, सामुदायिक वन उपभोक्ता समिति लगायत सबै निकाय एवम् क्षेत्रबाट सहमति उपलब्ध भएको पनि समितिले जनाएको छ।

सो वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा प्रस्तावित क्षेत्रको वातावरणीय प्रभावहरूलाई कम गर्ने ड्रेनेज आउट लेट व्यवस्थापन, उत्सर्जित सामग्रीलाई सुरक्षित ढङ्गले विसर्जन, भौतिक संरचनाको पुनर्स्थापना, वृक्षारोपण, सडक सुरक्षा सङ्केत जस्ता उपाय अपनाइने समितिले जनाएको छ । यो क्षेत्रमा वन्यजन्तुका संवेदनशील वासस्थान र बसाई सराइका बाटो समेत नपर्ने हुनाले जैविक विविधतामा पर्ने नकारात्मक प्रभाव समेत वातावरणीय व्यवस्थापन योजनाले न्यूनीकरण तथा रोकथाम गर्न सक्ने वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत प्रतिवेदन अनुसार उक्त सामुदायिक वन क्षेत्रमा पर्नेछ १ हजार ९८९ वटा रुख काट्नुपर्ने र यसको क्षतिपूर्ति बापत  १ लाख ५० हजार ५२५ वटा रुख शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति तथा नगरपालिकासँग समन्वय गरी रोपिनेछ ।

प्रतिक्रिया