Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ मङि्सर २६ गते सोमबार

एमाले भिमदत्त नगरले नगरका मेयरलाई बुझायाे ज्ञापन पत्र, यस्ता छन २० वटा मागहरु ।

नेकपा (एमाले) भीमदत्त नगर कमिटीले विभिन्न २० वटा माग राखेर सोमबार नगर प्रमुख पदम बोगटीलाई ज्ञापनपत्र बुझाएको छ।

महाकाली नदीमा भइरहेको अवैध उत्खनन् रोक्ने देखि मझगाउँ बिमानस्थलको निर्माण कार्य सुचारु गर्नुपर्ने लगायत माग राख्दै नगरप्रमुख बोगटीलाई ज्ञापनपत्र बुझाइएको हो।

संविधान प्रदत्त अधिकार उपभोग गर्न पाउनु भीमदत्त नगरबासीको अधिकार भएको स्मरण गराउदै नगर कमिटीले त्यस अनुरुप काम नभएको भन्दै आपत्ती जनाएको छ। 

नगरबासीका माग र आवश्यकताको समाधान समानताको आधारमा गर्नुभन्दा पनि राजनीतिक आस्था, आग्रह र पूर्वाग्रह साँधेर काम भइरहेको आरोप एमालेले लगाएको छ।

नगर कमिटी अध्यक्ष हिमाल बहादुर चन्दको नेतृत्वमा गएको टोलीले नगरपालिकाले नजिकका कार्यकर्ता तथा आसेपासेहरुलाई पोस्ने काम गरिरहेको जनगुनासो सर्वत्र भएकाले त्यसलाई समयमै सच्याउन पनि आग्रह गरेको छ।

जनप्रतिनिधि र कर्मचारी संयन्त्रले भीमदत्त नगरपालिकामा गरेका व्यवहार, कार्यशैली र आचरण समेतलाई मध्यनजर गर्दै सुधारको पहलकदमीका लागि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको नगर प्रचार संयोजक नरेन्द्र कार्कीले बताए।

ज्ञापनपत्रमा उल्लेखित विषयहरुमा यथासिघ्र सम्बोधन गरी कार्यान्वयन गर्न आग्रह गरिएको छ। कार्यान्वयन नगरिए कानूनी उपचारसँगै आन्दोलनका माध्यमबाट दवावका कार्यक्रमहरु सार्वजनिक गरिने पनि नगर कमिटीले जनाएको छ।

यस्ता छन् एमालेका माग
१) भीमदत्त नगरपालिकाको आन्तरिक आयको मुख्य स्रोतको रुपमा रहेका महाकाली नदी लगायतका विभिन्न खोलाहरुको वातावरणीय प्रभाव मुल्यांकन (आईई) नगरी अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्य भईरहेकोले उक्त महाकाली नदी लगायत विभिन्न खोलाहरुको ठेक्का बन्दोबस्ती सम्बन्धि आवश्यक कानूनी प्रक्रिया पुरा गरी मात्र उत्खनन् गर्ने व्यवस्था मिलाउन माग गर्दछौँ।

२) भीमदत्त नगरपालिकाको आन्तरिक आयको रुपमा रहेका घरजग्गा रजिष्ट्रेशन शुल्क वाफत नगरपालिकालाई प्राप्त हुने रकम ६ महिना हुदाँ सम्म पनि नगरपालिकाले समय मै भु–उपयोग नीति स्वीकृत नगरेको कारण आन्तरिक आयमा नोक्सान भएकोले सो भु–उपयोग नीतिलाई तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दछौँ। 

३) महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको असुल गर्नु पर्ने बेरुजु रकम असुलीका साथै महाकाली नदीमा निर्माणाधिन महाकाली पुल निर्माण कम्पनीबाट असुल उपर गर्नुपर्ने रोयल्टी रकम तत्काल असुल उपर गर्न माग गर्दछौँ। 

४) अघिल्लो आर्थिक वर्षमा निर्माण कार्य सुरु गरिएका योजना परियोजना एवं अधुरा रहेका विकास निर्माणका योजनाहरु अलपत्र अवस्थामा रहेको देखिएकोले उक्त योजनाहरुलाई यथासिघ्र पूर्णता दिन माग गर्दछौँ।  

५) स्थानीय निर्वाचन लगायत अन्य कारणले समय अभाव भई उपभोक्ता समिति र निर्माण व्यवसायीहरुले पूर्णता दिन नसकेका योजनाहरुलाई यथासिघ्र पुर्णता दिन आवश्यक बजेटको व्यवस्था गर्न माग गर्दछौँ।

६) भीमदत्त नगरपालिका अन्र्तगत सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत मदन चोक–ऐरीघाट सडक खण्डको करिब सत्तरी प्रतिशत कार्य सम्पन्न हुँदा पनि मझगाउँ विमानस्थल भन्दा अगाडी र राधाकृष्ण मन्दिर भन्दा अगाडीको खण्डमा नाली निर्माण नगरी अन्य निर्माण कार्यहरु अगाडी बढी रहेकोले सो क्षेत्रमा नाली निर्माणको कार्य अगाडी बढाउन माग गर्दछौँ। साथै डिभिजन वन कार्यालय अगाडी रहेको सडक खण्डमा निर्माण कार्य सुचारु माग गर्दछौँ।

७) आर्थिक वर्ष २०७९÷०८० का लागि भीमदत्त नगरपालिकाले पारित गरेको बजेट पूर्ण रुपमा वितरणमुखी भएको र आन्तरिक आय अस्वभाविक रुपमा बढी अनुमान गरेको, लक्ष्य सम्म पुग्नका लागि नगरपालिकाले आवश्यक कार्य नगरेको हुदाँ बजेट कार्यान्वयनमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण गर्दछौँ। 

८) भीमदत्त नगरपालिकाको मुख्य बजार क्षेत्रबाट दैनिक रुपमा उत्पादन हुने फोहरमैलाको उचित व्यवस्थापन गर्न माग गर्दछौँ।

९) भीमदत्त नगरपालिकाको नगर शिक्षा समिति गठन प्रक्रिया अगाडी बढाउन माग गर्दछौँ।

१०) नगरपालिकाले सामुदायिक विद्यालयलाइ मात्रै निर्देशन र सुपरीवेक्षण तथा नियमन गर्ने परिपाटी रहेकोमा संस्थागत विद्यालयहरुलाई पनि निर्देशन र सुपरीवेक्षण तथा नियमन गर्न माग गर्दछौँ। विद्यालयहरुमा सबै विषयवस्तुमा एकरुपता कायम गर्न माग गर्दछौँ।

११) नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा संघीय, प्रदेश र स्थानीय तहको अनुदान तथा कार्यक्रम समान किसिमले र आवश्यकताका आधारमा वितरण गर्न माग गर्दछौँ।

१२) भीमदत्त नगरपालिका क्षेत्र भित्र नगरपालिका मातहत रहेका महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सेवा सुविधामा विशेष ध्यान दिन माग गर्दछौँ। 

१३) भीमदत्त नगरपालिका भित्र रहेका भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धि कार्यलाई तीव्र रुपमा सम्पन्न गरी जग्गाधनी प्रमाणपूर्जा वितरणको कार्यलाई अगाडी बढाउन माग गर्दछौँ। 

१४) भीमदत्त नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका ठेला व्यवसायीहरुको निर्माण भइरहेको ठेला बजार निर्माण कार्य समय मै सम्पन्न गरी ठेला व्यवसायीहरुको समस्या सामाधान गर्न माग गर्दछौँ।

१५) छाडा चौपाया व्यवस्थापनका विषयमा दिर्घकालीन योजना बनाई छाडा चौपायाको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दछौँ। 

१६) पुर्ववर्ती स्थानीय सरकारको समयमा ठेक्का सम्झौता भई कार्यान्वयन हुन नसकेका विकास निर्माणका योजनाहरुको ठेक्का सम्झौता रद्द गर्न नगर कार्यपालिकाको बैठकको निर्णयानुसार कार्यालयलाई निर्देशन दिदा समेत ठेक्का सम्झौता रद्द नगरि अनावश्यक रुपमा हाल आएर पुर्वाग्रही ढंगले नगरबासीहरुलाई गुमराहमा राख्ने कार्य रोक्न माग गर्दछौँ। 

१७) नगरको समग्र मुहार फेरिने गरि सञ्चालनमा क्षेत्रीय शहरी विकास योजनाको पहिलो सर्तको रुपमा समेत रहेको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको प्रक्रिया अगाडी बढाउन माग गर्दछौँ। 

१८ं) यस क्षेत्रकै विकासको ढोकाका रुपमा देशभरमै नमुना विकास योजना अन्र्तगत निर्माण कार्य सञ्चालन भएको मझगाउँ विमानस्थलमा नगरपालिकाको ठुलो योगदान रहेको हुँदा उक्त निर्माण कार्य सञ्चालनमा ल्याउन माग गर्दछौँ। 

१९) अनावश्यक रुपमा विभिन्न प्रकारका सल्लाहकार एवम् कर्मचारीहरुको नियुक्तिले आर्थिक व्ययभार थपिएको हुँदा कानुन सम्मत तरिकाले अगाडि बढ्न माग गर्दछौँ। 

२०) नगरपालिकाको संस्थागत विकासलाई चुस्त, दुरुस्त एवम् पारदर्शी बनाउनको लागि कर्मचारीहरुको योग्यता, क्षमता र अनुभवका आधारमा कार्य विभाजन गरि काम गराउन माग गर्दछौँ। 


#एमाले भिमदत्तनगर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>